२३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुक टाइमलाइनमा राखेको नारा छ– सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने । तर, ‘सत्यसँग नलड्ने’ उनै ओली शुक्रबार नारायणहिटी अगाडि भएको आमसभामा भने ‘फेक न्युज’को शिकार बने ।

प्रचण्ड–माधव नेपाल समूहले आयोजना गरेको आम हड्तालको निन्दा गर्ने क्रममा प्रधानमन्त्री ओलीले ‘फेक न्युज’ को सहारा लिए । प्रधानमन्त्री ओलीले आम हड्तालको विरोध गर्दै भने, ‘सडकभरि तरकारी पोख्ने, ट्याक्सी जलाउने, के यही हो व्यवस्था ?’

तर, प्रधानमन्त्री ओलीले भनेको सडकमा तरकारी पोखिएको घटना बिहीबारको हडतालमा भएको होइन । बन्दका आयोजकहरुलाई बदनाम गर्न भाइरल बनाइएको तरकारी पोखिएका तस्वीरहरु बिहीबारका होइनन् ।

प्रधानमन्त्रीले टिप्पणी गरेका कुनै पनि दृश्यहरु प्रचण्ड–माधप समूहसँग सम्बन्धित छैनन् । साइबर सेनाहरुले बिहीबार प्रचण्ड–माधव समूहलाई बदनाम गर्नका लागि सार्वजनिक गरेका फेक तस्वीरमध्ये एउटा थियो- नापी विभागदेखि नयाँ बानेश्वर छिर्ने सडकमा छरपस्ट तरकारी छरिएको दृश्य । तर, उक्त सडक आसपासका स्थानीयले बिहीबार दिनभर सडकमा कुनै पनि तरकारी नफ्याँकिएको बताइसकेका छन् ।

त्यस्तै घिरौँला सडकमा फ्याँकिएको अर्को तस्वीर सर्लाही लालबन्दीका किसानले बिक्री नभएको तरकारी सडकमा फ्याँकेर आन्दोलन गरेको तस्वीर हो, त्यो पनि दुई वर्ष पुरानो ।

तरकारी फ्याँकिएको तेस्रो फोटो भने भारतको हो । तर, आमसभामा प्रधानमन्त्री ओली भ्रममा परेको प्रष्ट देखियो । किनभने, बूढीआमैको तरकारी फ्याँकेको भन्ने प्रधानमन्त्री ओलीको आरोप आफ्नै साइबर सेनाले फैलाएको भ्रममा आधारित थियो । तर, प्रधानमन्त्री ओलीले भनेजस्तै बिहीबारको आम हडतालका बेला एउटा ट्याक्सी जलाइएको घटनाचाहिँ सत्य नै हो ।

प्रधानमन्त्री भन्दा पहिले आमसभालाई सम्वोधन गरेका उपप्रधानमन्त्री ईश्वर पोखरेले गरी खाने नागरिकको ट्याक्सी जलाएकोप्रति घोर भत्र्सना गर्दै पीडितलाई सरकारले क्षतिपूर्ति दिने बताए । प्रधानमन्त्री ओलीले पनि सरकारले क्षतिपूर्ति दिने आश्वास दोहोर्‍याए ।

बिहीबार जलेको ट्याक्सीको क्षतिपूर्ति दिने आश्वासन ओली र पोखरेलले दिएता पनि दुई वर्षअघि बालकुमारीमा जलेको ट्याक्सीका चालकले अहिलेसम्म कुनै क्षतिपूर्ति पाएका छैनन् ।

यो पनि पढ्नुस्

ट्याक्सी जलेको पुरानो भिडियोले चालक परिवारमा तनाव

Powered by the Echo RSS Plugin by CodeRevolution.