किन उनीसँग मलाई डर लाग्छ ? किन उनीसँग मलाई ‌हरकुरा सोध्न मन लाग्छ। लाग्छ, मेरो जीवनको हर ‌हिसाबको सबैभन्दा उत्तम निर्णय ऊ गर्न सक्छे।

तर उसले बारम्बार भनेकी छे, “मलाई थाहा छैन ।‌ तपाईंले नै विचार गर्नुस न ‌! आफ्नो कुरा ‌सबैभन्दा बढी ‌आफैंलाई थाहा हुन्छ। कुरो ‌सबैको सुन्ने हो। निर्णय आफूले गर्ने ‌हो।”

“त्यो फुच्ची केटी के विधि जान्ने ‌होला ?
यस्तो यस्तो बोल्न, भन्न जानेकी ।
तिमी कति परिपक्व, तिम्रो उमेरका यस्ता मैले ‌विरलै‌ देखेको छु।”

उसलाई फुर्काएजस्तो ‌लाग्ने फेरि । उफ् !

भन्छे – म प्रशंसाले मात्तिने मान्छे, फुरुङ्ग हुने ‌मान्छे होइन क्यारे ।
म फेरि थपिदिन्छु – मलाई पनि यस्तै मान्छे मनपर्छ।
उसले ठाडै भनिदिन्छे – तर मलाई हजुर मन पर्दैन।

यो केटीहरू मन जित्न साह्रै गाह्रो रहेछ। अति नै भएपछि मेरो मिल्ने साथी सौगातसँग आफ्नो‌ दुःखेसो पोखें ।

उसले हाँस्दै जवाफ फर्कायो। “मन नजित्दासम्म कोसिश गरिरहने हो । एकचोटी जितेपछि जितियो – छोड्दैनन्।”

यही ढाडसले म पछि लागि रहेछु, तर किन यसै भनिहाल्न सक्दिन। उसको उपस्थितिको बलियो प्रमाण केही छैन । मात्र मेरो डरबाहेक ।

जीवनमा यसबाहेक पनि मैले सम्बन्ध गाँसेको थिएँ। तर प्रेम भयो या भएन यकिनसाथ भन्न सक्दिन। कलेज, विश्वविद्यालय हरेक ठाउँमा मेरा केटी साथीहरु धेरै थिए।

तीमध्ये एक न एक जना मेरा केही घनिष्ठतम हुन्थे। उमेर र जवानीको जोस हो की, मेलै जीवनलाई गम्भीर तवरले नसोचेर होकी ? म यसैयसै हावाहावा थिए। जब कलेजका दिनहरु सकिन्थे उनीहरुसँगको सम्बन्ध पनि सकिन्थ्यो।

समयले हो या उमेर या आवश्यकता ? म यही भनी ठ्म्याउन सक्दिनँ। अचेल मलाई एकैजना साथी चाहिएको छ । जोसँग म बच्चा हुन सकूँ, मजस्तै भएर बग्न सकूँ । हाँस्न मन लाग्दा उन्मत्त भएर हाँसु।

रुन मन लाग्दा उसको काँधको बिसौनी लिन सकूँ तर किन रोएको भनी नसोधोस् । मलाई केहीबेर आशुसँगै बग्न दिओस् । मेरो कल्पनाले, मेरो मस्तिष्कले उसकै आकृति देखिरहेछ। तर उसलाई म भनिहाल्न पनि सक्दिन। मैले प्रेम गर्ने भएर उसँग डराएको हुँ वा गुमाउँछु की भन्ने भयले थाहा छैन। हुन त ऊ कहिल्यै मेरो भएकी छैन, गुमाउने डर नहुनु पर्ने।

हुन त हरेक सम्बन्धहरु आवश्यकताले निर्माण हुन्छन्। सायद विवाह पनि दुई आवश्यकता मिलेर हुने त होला।

उससँगको मेरो सामिप्यता अत्यन्तै फरक किसिमले निर्माण भएको हो। उसलाई देख्नैबित्तिकै मेरा आँखाहरू केही चन्चल भएथे। जुन दिन नयाँ अफिसरको रुपमा मेरै अफिसमा मेरै सहपाठी हुन आएकी थिई।

त्यस दिन उसले खैरो पाइन्ट र फिक्का गुलाबी रंगको सट लगाएकी थिई। कालो केही अग्लो चप्पल लगाएकी थिई । कपाल पुरै फिजारिएको थियो। बेलाबेला उसले कपालको सप्को पछाडितिर फर्काउँथी।

हो, मलाई दिन गते बार सबै याद छ। ज्योतिष विज्ञानमा विश्वास गर्ने म लाग्छ – उसले मलाई घायल बनाउन नै साइत जुराएर यस अफिसमा प्रवेश गरेकी हो । साउनको बीस गते बुधबारका दिन पार्वती वा राधा खै के बनेर प्रवेश गरी कुन्नि ।

मेरो मनलाई म कसै गरेपनि रोक्न सकिनँ। अझ ऊ र म एउटै विभागमा काम गर्नुपर्ने भयो। मेरो त होस नै उडेजस्तो भयो जब प्रमुख कार्यकारी अधिकृतले तपाईको असिष्टेन्टको रुपमा उहाँलाई नियुक्त गरिएको छ भन्ने खबर दिए । पहिले बुढाले मलाई सोधेका थिए, मै बबुरो जान्ने पल्टेर सर त्यो तपाईंकै जिम्मा भयो भनेर भागेको थिएँ । अलिकति भएपनि काम घट्छ कि आश थ्यो ।

तर यहाँ परिस्थितिले अर्कै मोड लिएको छ । अरु साथीहरुसँग मज्जाले हास्ने, बोल्ने, जिस्कने गर्छु । तर उसका सामु मेरो वाक्य नै फुट्दैन। म अफिसमा फाइनान्स म्यानेजरमा थिए। कामको कुरा पनि कनिकुथी बोल्न थालेको छु, अलिअलि। ऊ आफैं भन्छे। मलाई काम सिकाउनुस् है, सम्झाउनुस् है गर्नुपर्ने काम । कति सहजै बोल्छे। आफ्नो कुरा राख्छे ऊ ।

०००

ऊ आएको करिब एक महिना भयो। बिस्तारै काम सहज हुँदै गयो। तर मेरो तनमन, मेरो मस्तिष्क, मेरो ह्दयमा अमुर्त केही चल्दै थियो।

त्यो कल्पना पनि कस्तो। अहो! कहिलेकाहीँ काम गर्दागर्दै उसको काखमा निदाइदिऊ जस्तो लाग्छ। उसले कपाल मुसार्दिएको कल्पना गर्छु। फेरि केही भैपरी आउने पीरले अत्तालिन्छु। रातभर निदाउन सक्दिन।

अरुबेला गाली नगरेपनि एककिसिमले मलाई बासँग डर लाग्थ्यो। खै किन हो, म त्यसै डराउँथे। अहिले सम्झिँदा लाग्छ, सायद त्यो डर बा प्रतिको सम्मान होला

कोठाकै वरपर वरपर गरिरहन्छु। थकानले निन्द्रा लाग्छ कि भन्ने आशले। फेरि भान्छामा गएर घटघट पानी पिउँछु । अनि आएर बिस्तारामा पल्टिन्छु। केही कम भएजस्तो हुन्छ। तर निन्द्रा पट्क्कै लाग्दैन। श्वासको गति केही बढ्दो छ।

के भैरहेछ मलाई यस्तो डर त मलाई सानोमा बासँग मात्र लाग्ने गर्दथ्यो। केही काम बिगारीहालेको खन्डमा गाली नखादासम्म म यसैगरी डराउँथे।

मेरा बा स्कुलको प्रधानाध्यापक हुनुहुन्थ्यो, जुन स्कुलमा म पनि पढ्थे। म जन्मिएदेखि बाको जागिर सरकारी भएको रैछ । उहाँ श्री बालकल्याण माविमा निर्विरोध प्रधानाध्यापक पनि हुनुभएको रैछ। मैले बाकै स्कुलमा पढेँ । ठूला दुई दाजुहरु उच्च शिक्षाको लागी काठमान्डौ गइसक्नु भएको थियो। दिदी कक्षा ९ मा भएकोले पढाई बिग्रिन्छ भनेर पढिरहेकै स्कुलमा थिइन् ।

निकै बर्षको फरकमा म जन्मिएको थिएँ । कान्छो छोरो मेरो दुधपुसुवा हो भनेर आमा औधी स्नेह देखाउनु हुन्थ्यो। तर बाले केही गरेको सम्झना छैन। सानोको त खासै सम्झना छैन।

सायद काँधमै हालेर लग्नु हुन्थ्यो होला। स्कुल पुग्न करिब पौने घन्टा हिड्नु पर्थ्यो । केही उकालो र सानो जंगल थियो। स्याङ्जा वालिङको ती लोभलाग्दो पहाडलाई अगाल्दै हिँड्नु जो थियो।‌

अलिक ठूलो भएपछि त सबेरै उठेर कि वालिङ बजारमा दुध पुर्याउने की खरबारी गएर एक भारी घास काट्ने। अनि हस्याङफस्याङ आधी घन्टामा स्कुल पुग्ने।

बाले कहिल्यै मलाई अघि लगाउनु भएन। बा अघिअघि कुद्नु हुन्थ्यो। पछिपछि म दौडन्थे। कता आइपुग्यो भनेर होला बेला बेला पछाडि फर्कनुहुन्थ्यो। ठ्याक्कै पछाडि हुँदा भन्नुहुन्थ्यो। “हेर जिन्दगीमा लामो लामो पाइला चाल्नुपर्छ। तलाईं अघि लगाएर, डोहोर्याएर हिँड्न सधै म नहुन सक्छु। त्यसैले तँ आफैंले हिड्नुपर्छ। आफ्नो गन्तव्य पत्ता लगाएर पाइला अघिअघि सार्नुपर्छ। आज तेरो गन्तव्य स्कुलसम्म मात्रै हो। भोलि देश विदेश हुन्छ । पछाडि कहिल्यै फर्कने होइन। अगाडिको दुरदुरसम्म हेर्नुपर्छ। “

मेरो बाल मस्तिष्कले केही बुझ्दैनथ्यो। तर मेरो लागि भन्नुभएको हो, मलाई माया गरेर हो भनेर म फुरुङ्ग पर्थे। बाले कहिलेकाँही यस्तो यस्तो भनेको मलाई खुब मन पर्थ्यो।
सरको छोरो भएकोले उहाँकै ईज्जतको लागि भएपनि मैले खुब लगनका साथ पढ्थें । नौ दशमा पुगेपछि कहिलेकाही मेलै जानिनँ भनेर सामाजिक, गणित र विज्ञानका प्रश्नहरु लिएर जान्थे।

बाले निकै सजिलो गरेर बुझाउनु हुन्थ्यो।अनि बुझे भन्दा बाको “स्याबास” सुनेर निकै फुरुङ्ग हुन्थें ।‌

अरुबेला गाली नगरेपनि एककिसिमले मलाई बासँग डर लाग्थ्यो। खै किन हो, म त्यसै डराउँथे। अहिले सम्झिँदा लाग्छ, सायद त्यो डर बा प्रतिको सम्मान होला । बा अलिकति चिन्तन मनन गर्न रुचाउनु हुन्थ्यो। शनिबार पनि घन्टौंसम्म किताब कपी बोकेर माथि बार्दलीमा बसेर निकैबेर घोत्लिनुहुन्थ्यो।

सामाजिक, राजनितिक विषयवस्तु भएका किताबहरू हुन्थे क्यारे। त्यसरी पढ्नु भनेको बाको लागि ध्यान गर्नु सरह थियो। कोही जादैनथ्यो, कसैले बोलाउँदैनथ्यो। आमालाई सामान्य लेखपढ गर्न पनि आउँदैनथ्यो ।

आफू पढ्ने बेला “ओई यता आइज भनेर बाले बोलाउनुहुन्थ्यो रे। आमालाई कापी कलम टकार्नुहुन्थ्यो रे। आमाले नाईनास्ती गरेपछी सम्झाउनु हुने रैछ ।

“बाटोमा हिड्दा क्यार्दा पनि सजिलो हुन्छ। कसैले झुक्याउन सक्दैन। छलकपटबाट बच्नुपर्छ। नाम लेख्न सक्नुपर्छ आफैँ भनेर बाले नै घरमा अक्षर सिकाउनु भएको रैछ । सधै म नहुन सक्छु नी भन्दा आमाको मन गह्रौ हुँदो रहेछ।

“म अनपढ गवार, पढेलेखेकी अर्को विहे गर्नुहुन्छ की भन्ने भय पनि मनमा आउँथ्यो रे।” ऊ बेला त पुरुषलाई जति विवाह गर्न पनि छुट थियो। कानुनी झमेला पनि नभएकोले सहज थियो।

तर आमालाई कति दुख्दो हो। त्यो समयमा छोरीले कहाँ पढ्न पाउँथे र । अशिक्षा र अध्याँरोमै जीवन खेर नफाल है भनेर बाले जबरजस्ती अक्षर चिनाउनु भएको रैछ।

सुरुमा त आमालाई पढ्नै मन थिएन । अक्षर चिनेर आफ्नो नाम आफै लेख्न थालेसी भने रमाउनु भएछ। बिस्तारै आमाले घरमै गरेको स्वअध्ययनबाट शिक्षाको उज्यालो प्रकाशतिर आफुलाई डोर्याउनु भएछ।

यसरी बाले हामी सबैलाई आत्मनिर्भर बन्नुपर्छ भनेर सिकाउनु भयो। ममा बलियो आत्मविश्वास छर्नुभयो। जसलाई श्रद्दा र सम्मान गरिन्छ, उहीसँग त डर लाग्छ। जसको छत्रछायाँबाट आज म म बने। अझै केही बन्ने कोसिसमा छु।

०००

आज विवाह गर्ने उमेरको लाठे भैसकेँ । तैपनि बाको ‌अगाडि धेरै बोल्न सक्दिन। फोनमा लामो संवाद गर्न सक्दिन। म बुबाप्रतिको प्रेम व्यक्त गर्नै सक्दिन।

बासँग जस्तै धेरै बोल्न नसक्ने र उस्तै डर लाग्ने … के म उनलाई प्रेम गर्छु र ?

Powered by the Echo RSS Plugin by CodeRevolution.