२८ जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अब आफ्नो लडाईं सडकदेखि सदनसम्म हुने बताएका छन् ।

सोमबार जसपा नेपालको एकताको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दैै उनले अब विभेद र असमानता अत्यको लागि सडक र सदनमा संघर्ष गर्ने उदघोष गरे ।

‘देशमा विभेद र असमानता अन्त्य गर्नु नै यो महाधिवेशन एक महत्वपूर्ण अवसर हो । सडक संघर्ष र सदनको संघर्षलाई अब संगसंगै अघि बढाउँछौं’, उनले भने ।

यादवले अगाडि भने, ‘शासनमा, सरकारमा जसपा होस् वा नहोस् । हामी सडकमा होस् वा सदनमा हौं, सरकारमा हौं वा प्रतिपक्षमा । तराई मधेश हिमाल पहाडका सबै शोषित पीडित जनताको बीचमा, उनको अधिकारको लडाइमा हामी सदैव छौं ।’

उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जसपा नेपालको परीक्षा भइरहेको बताएका छन् । उनले उपेन्द्र यादवले चुनौतीको सामना मजबुत आत्मबलबाट गरिरहेको भन्दै प्रशंसा गरे ।

नेपालले विगतमा पनि केन्द्र र प्रदेश सरकारमा तथा समाजवादी मोर्चामा जसपासंगै रहेको स्मरण गर्दै अगामी दिनमा समाजवादी शक्तिहरु मिलेर अघि बढ्न आह्वान गरे ।

उद्घाटन सत्रमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले, राप्रपाका वरिष्ठ उपाध्यक्ष वुद्धिमान तामाङ, नेपाल कम्युनिष्ट पार्टी माओवादी महासचिव देव गुरुङ, एमाले पोलिटब्यूरो सदस्य लिलानाथ श्रेष्ठ, लोसपाका उपाध्यक्ष जितेन्द्र सोनल लगायत, विभिन्न देशका पार्टीका प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए ।

महाधिवेशनमा मंगलबार बिहान ७ बजेदेखि जसपाको बन्दसत्र सुरु हुने छ । जसमा राजनीतिक दस्तावेज, प्रतिवेदनमाथि छलफल हुने छ । ३० गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने जसपाले जनाएको छ ।

Осъществено от Приставка за ехо RSS от CodeRevolution.