२ कात्तिक, काठमाडौं । बचतकर्ताले सहकारीमा राखेको रकम गोर्खा मिडिया प्रा.लि.मार्फत अपचलन गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले पक्राउ गरेर पठाइदिन भन्दै गरेको पत्राचारका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बनस्थलीस्थित पार्टी कार्यालयबाट पूर्वगृहमन्त्री समेत रहेका उनलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत, कास्कीले शुक्रबार अपराह्न लामिछानेलाई सहकारी ठगी र संगठित अपराधको कसुरमा अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको थियो । प्रहरीले पक्राउ अनुमति लिएसँगै रास्वपा केन्द्रीय कार्यालयमा पार्टीका नेता, कार्यकर्ताहरुको भिड लागेको थियो ।
लामिछानेलाई नियन्त्रणमा लिँदा उत्पन्न हुनसक्ने परिस्थितिलाई मध्यनजर गरेर सुरक्षाकर्मीको बाक्लो परिचालन गरिएको थियो भने रास्वपाका कार्यकर्ताहरुले पार्टीको गेट बन्द गरिदिएका थिए ।
यद्यपि साँझ साढे ६ बजे सीआईबीबाट खटिएको सादा पोशाकको टोली कार्यालयमा प्रवेश गर्यो । आफूलाई लिन प्रहरी आएको थाहा पाएपछि कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्न उनले समय मागे । लामिछानेको सहयोगविना भिडबीच लामिछानेलाई लैजान कठिनाइ हुने देखेका प्रहरी अधिकृतले मौन समर्थन जनाए ।
रविले आफूमाथि राजनीतिक पूर्वाग्रह राखिएको जिकिर गर्दै खुलेर लड्न कार्यकर्तालाई आग्रह गरे । करिब साढे २ मिनेटको सम्बोधन सकिनेवित्तिकै लामिछाने पछाडि सादा पोशाकमा उभिइरहेका सीआईबीका एसपी होविन्द्र बोगटीले उनको हात समाते ।
लामिछाने पाँच वर्षअघि ३० साउन २०७६ मा पनि पक्राउ गरेका थिए । त्यसबेला लामिछानेमाथि पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको आरोप थियो ।
सहकारीको रकमको टीभीमा दुरुपयोग
सहकारीको रकम अपचलनमा संलग्न रहेको प्रश्न उठेसँगै रविले आफूले कुनै गल्ती नगरेको दाबी गर्दै आएका छन् । आफू सहकारीको सदस्य नभएको र फारम भरेर ऋण पनि नलिएको उनको दाबी छ । संसदीय समितिमा दिएको बयानमा त उनले ‘मेरो पेटमा सहकारीको एक रुपैयाँ पनि परेको छैन’ भन्ने दाबी गरे ।
छानबिन समितिका सदस्यहरुका अनुसार, रवि लामिछानेले दाबी गरेजस्तो उनको व्यक्तिगत खातामा सहकारीहरुको पैसा गएको छैन । आफैंले फराम भएर सहकारीबाट ऋण लिएर नतिरेको पनि होइन ।
तर, सहकारीको रकम उनको पेटमा नपरेको दाबी ‘झुटो’ मात्र होइन, हिनामिनामा उनको संलग्नता रहेको संसदीय छानबिन विशेष समितिले देखाएको छ ।
समितिका अनुसार जीबी राईको समूहले सञ्चालन गरेको सूर्यदर्शन, सुप्रिम लगायतका सहकारीको ८ अर्ब अपचालन भएको छ । गोर्खा मिडिया नेटवर्कका साथै जीबी राईले सञ्चालन गरेको कम्पनीहरुमा यो रकम प्रवाह गर्दा कुनै पनि कागजी प्रक्रिया पुरा गरिएको छैन । न जीबी राईले फराम भरेर पैसा लिएका हुन्, न अरुले ।
समितिका अनुसार सहकारीको रकम गोर्खा मिडियामा प्रत्यक्ष रुपमा ६५ करोड रुपैयाँ आएको छ । अरु रकम भने जीबीले सञ्चालन गरेको कम्पनीहरुमार्फत आएको देखिन्छ । कतिसम्म भने गोर्खा मिडिया नेवर्कको स्थापना नै सहकारीको रकम दुरुपयोगबाट भएको पाइएको छ ।
गोर्खा मिडिया नेटवर्क (ग्यालेक्सी टेलिभिजन) खोल्ने समयमा ५ करोड पुँजी तोकिएको थियो । रवि लामिछानेले १५ प्रतिशत शेयर लिए । यसवापत उनले ७५ लाख रुपैयाँ हाल्नुपर्ने थियो । यो रकम जीबी राईले व्यवस्थापन गरेको रविको दाबी छ ।
तर सहकारी छानबिन समितिको अध्ययनका क्रममा (रविको नामको ७५ लाखसहित) ५ करोड रुपैयाँ सहकारीको बचत अपचलन गरेर ल्याएको पाइएको छ । रवि सुर्यदर्शन सहकारीका बचतकर्ता थिएनन् । त्यसैले सृजनाचोक, पोखरा ठेगाना राखेर रविको नाममा ७५ लाख ऋण प्रवाह भएको देखाइयो ।
गोर्खा मिडिया नेटवर्कको पूँजी बढाएर १२ करोड पुर्याइयो । १५ प्रतिशत शेयर वापत रविले १ करोड ८० लाख रुपैयाँ हाल्नुपर्ने भयो । यो रकम बुटबलको सुप्रिम सहकारीबाट ल्याइएको पाइएको संसदीय समितिले बताएको छ । रवि, सुप्रिम सहकारीको पनि सदस्य थिएनन् । त्यसैले उनको नाममा ऋण जारी भएन । रवि लामिछाने, बुटवल ११ को ठेगानामा फर्जी ऋणी खडा गरेर रकम निकालियो ।
रकम भने रवि समेत तीन जनाले संयुक्त रुपमा सञ्चालन गरेको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भयो । सहकारीकी कर्मचारी रोशनी गुरुङले संसदीय समितिमा दिएको बयान पनि यही छ ।
जीबी राई र उनको समूहले सञ्चालन गरेका सहकारीमा काम गर्नेहरुको बयानले बचतकर्ताको रकम अपचलन गरेर गोर्खा मिडिया नेटवर्कमा ल्याएको र यसमा सञ्चालकहरुको मिलोमेतो रहेको प्रष्ट हुन्छ ।
उनीहरुमध्ये एक कुमार रम्तेलले संसदीय छानबिन समितिमा दिएको बयानमा सहकारी चलाउने र ऋण दिने कागजातमा हस्ताक्षर नभएपनि यो परिस्थिति आउनुमा रविको भूमिका रहेको उल्लेख गरेका छन् ।
सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको र त्यसमा रविको संलग्नता देखिएकाले नै कारबाहीको सिफारिस गरिएको संसदीय विशेष समितिका सभापति सूर्य थापा बताउँछन् ।
‘त्यतिबेला सहकारीको पैसाबाहेक अरु केहीको पैसा खर्च भएको छैन, त्यसैले सहकारीको पैसा खर्च गरेर अपचलन गरेकाले कारबाहीको भागेदार हुनुपर्छ भनेका हौं’, उनले अनलाइनखबरसँग भने, ‘सहकारीको पैसा कम्पनीमा लगेर खर्च गर्नु पनि आफैंमा गैरकानूनी थियो ।’
‘सहकारीको रकमबारे जानकार थिए रवि’
लामो समय अमेरिका बसेर फर्किएपछि रवि लामिछाने नेपाल फर्किएर टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ चलाइरहेका थिए । जानकारहरुका अनुसार, उनले चलाएको कार्यक्रम लोकप्रिय बनिरहँदा व्यवस्थापनसँग पनि मनमुटाव सुरु भएको थियो ।
त्यसक्रममा उनले न्यूज २४ टिभी छाड्ने योजनासहित विभिन्न व्यक्तिसँग संवाद थालेको लामिछानेका पूर्वसहकर्मीहरु बताउँछन् ।
त्यहिक्रममा उनले काठमाडौं प्रहरी परिसरमा प्रमुख रहँदा चिनजान भएका तत्कालीन एसएसपी छविलाल जोशी (डीआईजीबाट अवकाश प्राप्त) लाई पनि भेटेका थिए । रविले आफ्नो योजना सुनाएपछि जोशीले काठमाडौं प्रहरीमै रहँदा चिनजान भएका गितेन्द्रबाबु (जिबी) राईसँग भेट गराएका थिए । पूर्वडीआईजी जोशीले आफू निकटस्थहरुसँग बताएअनुसार, त्यसबेला रविले जीबीलाई ‘विश्वस्तरको टीभी खोल्न सकिने’ भन्दै ‘पावर पोइन्ट प्रेजेन्टेसन’ देखाएका थिए ।
जानकारहरुका अनुसार, नेटर्किंङ व्यवसाय र सहकारीसँग जोडिएका जिबी पनि त्यसबेला आफूविरुद्ध हुने आलोचनालाई दबाउन मिडिया सञ्चालन गर्न चाहन्थे । पहिले केही मिडियामा लगानी गरेपनि उनको उद्देश्य पूरा भएको थिएन ।
‘त्यसबेला रवि जत्तिको फेसले त्यो प्रस्ताव ल्याउँदा उहाँले आफ्नो फाइदा पनि देख्नुभयो’, यसबारे जानकार एक अधिकारी भन्छन्, ‘त्यसक्रममा गोर्खा मिडिया नेटवर्क खोल्ने प्रक्रिया अघि बढेको थियो ।’
त्यसबेला रविले जिबीलाई ‘असाध्यै धेरै पैसा भएको व्यक्ति’ भन्दै चिनाउने गरेको उनका पूर्वसहकर्मीहरु बताउँछन् । ‘त्यतिबेला पनि जिबी राईको विषयलाई लिएर विवाद भइरहन्थ्यो, टीभी खोल्ने बेलामै नेटवर्किंग ठगीबारे समाचारहरु आएका थिए’, स्रोतले भन्यो, ‘त्यतिबेला उहाँ विभिन्न सहकारीमा सञ्चालक रहेको विषय पनि उहाँलाई जानकारी थियो ।’
रविले भने संसदीय समितिमा दिएको बयानमा टेलिभिजन स्थापना गर्दा जीबी राईको सहकारी छ भन्ने जानकारी नभएको बताएका छन् । तर उनका पूर्वसहकर्मी डा. मुकुल ढकालले पनि केहिअघि अनलाइनखबरसँग कुरा गर्दै जिबी सहकारीसँग जोडिएको थाहा नभएको मात्र होइन, रवि स्वयम्ले पनि सहकारी खोल्ने प्रस्ताव गरेको बताएका थिए ।
‘त्यतिबेला सहकारी खोलेर कृषि क्रान्ति गर्ने गरी काम गर्नुपर्छ भन्नुहुन्थ्यो’, ढकालले अनलाइनखबरसँग भनेका थिए, ‘अहिले उपसभापति रहनुभएको डिपी अर्यालको रेमिट्यान्स व्यवसाय थियो, संसारभरिबाट शेयर किन्न मिल्ने बनाउने भन्ने कुरा थियो ।’
रातोपुलमा बसेर भएको छलफल अनुसार, त्यसबेला अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थामा जोडिएको ढकाल बताउँछन् । यो सहकारीमा अर्याल उपाध्यक्ष थिए भने रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि कुनै समय सदस्य थिए ।
त्यतिबेला आफूलाई पनि सहकारीबारे अध्ययन गर्न भनेको ढकालले बताएका छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीका एक अनुसन्धान अधिकृत पनि छानबिनका क्रममा बुझिएका कतिपय व्यक्तिले रविलाई जिबी सहकारी सञ्चालक हुन् र त्यहीँको पैसा आएको भन्ने थाहा भएको खुलाएको बताउँछन् ।
सहकारीको रकममा लामिछाने निकटस्थको रजाइँ
जिबी राई निकटस्थहरुका अनुसार, लामिछानेकै योजना अनुसार उनले ग्यालेक्सी टीभी स्थापनाका लागि तयारी थालेका थिए ।
कम्पनी रजिष्टारको कार्यालयमा १४ भदौ २०७७ मा दर्ता हुँदा प्राविधिक कारणले गोर्खा मिडिया नेटवर्कमा जिबी राई र छविलाल जोशी मात्र सञ्चालक थिए । केही समयपछि लामिछाने १५ प्रतिशत शेयरसहित प्रबन्ध निर्देशक बनेका थिए ।
त्यसबेला जिबीले आफू निकटस्थहरुलाई टेलिभिजनमा ३ अर्ब लगानी गरेको बताएका थिए । राईको लगानी भएपनि टिभीका लागि आवश्यक सामग्रीहरुको खरिद, कर्मचारी व्यवस्थापन, तलब लगायतका सबै विषयमा रवि नै सर्वेसर्वा थिए ।
सांसद् सूर्य थापा नेतृत्वको विशेष संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएको विवरणअनुसार, उनले आफू निकटस्थहरुलाई अत्याधिक तलब दिएर भित्र्याएको देखिन्छ ।
हाल रास्वपामा सह–महामन्त्री रहेका विपिनकुमार आचार्यलाई उनले आर्थिक वर्ष २०७८/७९ मा मासिक २ लाख ८६ हजार ५७३ रुपैयाँ तलब दिएका थिए । उनको नोबडी प्रोडक्सनलाई समेत पटकपटक छुट्टै रकम दिइएको विवरण छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
रास्वपामा हाल केन्द्रीय सदस्य रमेश प्रसाईंलाई त्यही आर्थिक वर्ष १ लाख ११ हजार रुपैयाँ, दीपक बोहरालाई ८९ हजार ४४५ र सहप्रवक्ता समेत रहेकी प्रतिभा रावललाई ५७ हजार ३१८ रुपैयाँ मासिक तलब दिइएको विवरण प्रतिवेदनको अनुसूचीमा छ ।
जिबी राई स्वयम्ले आफू निकटस्थहरुसँग टीभीका सामग्री खरिद पारदर्शी नभएको र खर्च अत्यधिक भएको बताउने गरेका छन् । त्यसरी रविले ‘जथाभावी’ खर्च गरेको रकममध्ये ६५ करोड रुपैयाँ जिबी राई समूहले सञ्चालन गरेको पाँच वटा सहकारीबाट ल्याएको सांसद् थापा नेतृत्वको समितिको निष्कर्ष छ ।
गोर्खा मिडिया नेटवर्कमा रकम गएकोमध्ये थप एउटा सहकारीमा कुमार रम्तेल सचिव छन् । सूर्यदर्शनबाहेक बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्ण लक्ष्मी सहकारी संस्था, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारी (कुमार रम्तेल सचिव रहेको) बाट २२ करोड ४६ लाख ३० हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको प्रतिवेदनमा उल्लेख छ ।
थप ४३ करोड ७ लाख ७४ हजार ५३८ रुपैयाँ भने विभिन्न व्यक्तिका नाममा ऋण देखाएर गोर्खा मिडिया नेटवर्कमा रकम जम्मा गरिएको भनिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका एक अनुसन्धान अधिकृतका अनुसार, अहिले लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारीमा मात्र अनुसन्धान सुरु भएको छ । तर, गोर्खा मिडिया नेटवर्कमा रकम भएको अन्य सहकारीको मुद्दामा पनि उनी तानिने स्थिति छ ।
विशेष छानबिन समितिको प्रतिवेदनमा सहकारीका सञ्चालकहरुले आफ्नो शक्तिको गलत उपयोग गरेर अत्यधिक रुपमा लिएको ऋण कम्पनीलाई प्रवाह गरेर सहकारीको रकम अपलचन गरेको निष्कर्ष छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका एक अनुसन्धान अधिकृतका अनुसार, लामिछानेले पनि सहकारीका सञ्चालकले गलत तरिकाले रकम ल्याएको थाहा हुँदाहुँदै पनि मौनता देखाएको देखिन्छ ।
‘रवि, जीबी र छवि मिलेर संगठित सञ्जाल खडा गरेर एक जनाले सहकारीको पैसा ल्याउने र अर्काले मनलाग्दी खर्च गर्ने गरेको अनुसन्धानबाट देखिएको छ’, कास्की प्रहरीका एक अधिकृतले भने, ‘एक रुपैयाँ पनि नतिरी कुनै कम्पनीले शेयर दिने कुरै हुँदैन, यस्तोमा जिबीले योजनाअनुसार सहकारीबाट लिएको पैसा उनीहरुको शेयर वापत जम्मा गरिदिएको देखिन्छ ।’
संगठित अपराध ऐनमा ‘कसैले कुनै आपराधिक समूहलाई संगठित अपराध गर्न वा त्यसमा सहयोग पुर्याउन कुनै काम जानीजानी गरी वा नगरी सो समूहको काम कारबाहीमा सहभागी भए’ कसुरदार मानिने उल्लेख छ । ‘हाम्रो अनुसन्धानले उहाँलाई त्यो सबै थाहा थिएन भन्ने पनि देखाउँदैन’, कास्की प्रहरीका ती अधिकृत भन्छन्, ‘उहाँले भनेजस्तो थाहै नभएपनि उहाँ संगठित अपराधमा संलग्न भएको पुष्टि हुने थुप्रै आधारहरु छन् ।’
מופעל על ידי הד תוסף RSS על ידי קוד התפתחות.
תגובות אחרונות