२० कात्तिक, काठमाडौं । तिहारको भाइटीकाको दिन दिउँसो २ बजे शंखमूल बस्ने सरोज श्रेष्ठ (नाम परिवर्तन) ले महाराजगञ्जबाट इन्ड्राइभमा नयाँबानेश्वर आउँदा ४ सय रुपैयाँ तिर्नु पर्‍यो । अन्य दिन उनले सो दूरी तय गर्न १३० रुपैयाँ मात्रै तिर्ने गरेका थिए ।

‘सस्तो हुन्छ भनेर इनड्राइभ गरेको त्यो दिन त तीन गुणाभन्दा बढी मूल्य तिर्नु पर्‍यो, चाडपर्वको अवसर पारेर जनतालाई यसरी ठग्न पाइन्छ ?’ उनी प्रश्न गर्छन ।

भाइटिकाको दिन बौद्धबाट लोलाङसम्म गएको ३५० रुपैयाँ तिर्न परेपछि श्याम लामा (नाम परिर्वतन) राइडरसँग रिसाएका थिए ।

‘१.२ किलोमिटरको ३५० रुपैयाँ कसरी हुन्छ, हिजो अस्ती एक सय रुपैयाँ आइरहेका थियौं’, लामाले भने । त्यसपछि राइडरले यति नै उठेको भन्दै रिसाएपछि केही बेर विवाद पनि भयो । त्यसपछि उनले तिर्न बाध्य भए ।

यस्तै, गोठाटारबाट चाबहिल प्लाजासम्म जान इन्ड्राइभ गर्न खोज्दा १ हजार २ सय ५ रुपैयाँ एपले देखाएपछि सुवोध खतिवडा (नाम परिवर्तन) छक्क परेका थिए ।

‘लुट्न पाउने बेला सोचेर लुटेको जस्तो देखिन्छ । यसरी जनता मार्ने काम राइडिङ कम्पनीले गर्दा सरकारलाई वास्ता छैन,’ खतिवडा भन्छन् ।

सार्वजनिक सवारी कम चलेको दिन, पानी परेको दिन राइडिङ सेयर कम्पनीले अन्य समयभन्दा बढी रकम असुलेर ग्राहकको बाध्यतामा खेल्ने गरेको गुनासो रहँदै आएको थियो । तर, तिहारमा राइड सेयरिङ कम्पनीहरूले असामान्य रूपमा भाडा बढाए ।

राइड सेयरिङले भाडा चर्को लिएपछि ग्राहकहरूले यातायात व्यवस्था विभाग, बागमती प्रदेशको यातायात मन्त्रालयसम्म गुनासो गरे । उनीहरूले विभिन्न सामाजिक सञ्जालमा बढी भाडा लिएको भनेर पोष्ट पनि गरेका छन् । तर, नियमन गर्नुपर्ने निकाय बागमती प्रदेशको यातायात मन्त्रालय भने यसबारे कानुन नै नबनेको भन्दै पन्छिएको छ ।

नेपालमा सबैभन्दा बढी प्रचलनमा रहेको राइड सेयरिङ एपहरू इन्ड्राइभ र पठाओ दुवैले तिहारका बेला बढी भाडा लिएको गुनासो ग्राहकहरूको छ । तर, पठाओको तुलनामा इन्ड्राइभले अत्यधिक महँगो भाडा लिएको गुनासो ग्राहकहरूको छ ।

आफ्नो एपमा प्राविधिक समस्या आएकाले अत्यधिक महँगो भाडा देखाएको इन्ड्राइभले स्वीकार गरेको छ ।

‘केही इनड्राइभ प्रयोगकर्ताले हाम्रो एपमा भाडा निर्धारण गर्दा समस्या बेहोरेको घटनामा हामी इमानदारी साथ क्षमायाचना गर्दछौं । अब यो समस्या पूर्णरूपमा समाधान भइसकेको छ,’ इन्ड्राइभले सामाजिक सञ्जालमा एक सन्देश पोष्ट गर्दै भनेको छ ।

इन्ड्राइभको एसिया प्यासिफिक क्षेत्रकी जनसम्पर्क तथा सञ्चार प्रमुख पवितनन्दा आनन्दले अनलाइनखबरसँग कुरा गर्दै आइतबार दुई घण्टा जति प्रणालीमा समस्या आएर बढी भाडा देखाएको दाबी गरिन् । तर, आइतबार राइडरहरूले दिनभरि नै बढी भाडा असुलेका थिए । कुन दुई घण्टा चाहिँ समस्या आएको हो भन्ने अनलाइनखबरको प्रश्नमा उनले समयबारे पछि जानकारी दिने बताए पनि त्यो उपलब्ध गराइनन् ।

‘जब हामीले त्यसबारेमा थाहा पायौं, तत्कालै समस्या समाधान गर्‍यौं । र, यसबाट परेको असुविधाप्रति हामीले क्षमायाचना समेत गरिसकेका छौं,’ उनले भनिन् ।

प्राविधिक समस्याका कारण यात्रुले बढी भाडा तिर्नुपरेको स्वीकार गरे पनि बढी भाडा भने फिर्ता नगर्ने इन्ड्राइभले बताएको छ । यात्रुले कति भाडा तिर्दैछु भन्ने थाहा पाएर, त्यसमा सहमत भएर पैसा तिरकाले त्यो फिर्ता नहुने आनन्दको भनाइ छ ।

‘हाम्रो प्रणालीमा ड्राइभर र यात्रुले भाडादरमा सहमति गरेर सवारीसाधन लिने गरिन्छ । त्यसो हुँदा यात्रुले जुन भाडा तिरे, त्यो उनीहरू सहमत भएर तिरेको भाडा हो । त्यसो हुँदा त्यो भाडा फिर्ता दिन सक्दैनौं,’ उनले भनिन् ।

चाडबाडको बेला मानिसलाई बाध्य बनाएर भाडा असुल्ने अनि फिर्ता नगर्ने भन्ने पनि हुन्छ त ? भन्ने प्रश्नमा उनले आफूहरूले यात्रुहरूलाई बढी भाडा तिर्न बाध्य नपारेको जिकिर गरिन् ।

‘कुन ठाउँमा जान कति भाडा तिर्दैछौं भन्ने पूर्व जानकारी यात्रुलाई हुन्छ, उनीहरू त्यो भाडा तिर्न तयार भएर चढेका हुन् । हामीले एपमा न्यूनतम् भाडा प्रस्ताव गर्छौं, त्यसपछि कति बढी भाडा लिने वा तिर्ने हो, त्यो यात्रु र ड्राइभरको सहमतिमा तय हुने हो,’ उनले भनिन् ।

आफ्नो एपमा अधिकतम भाडाको सीमा चाहिँ नतोकिने उनले बताइन् । ‘यो यात्रु र ड्राइभरको सहमतिमा तय हुने हो,’ उनले भनिन् ।

पठाओले भने भाइटिकाको दिन अधिकतम ३० प्रतिशतसम्म भाडा बढाएको स्वीकार गरेको छ । भाइटिकाको दिन राइडरहरू कम मूल्यमा अनलाइनमा नहिँड्ने समस्याको कारण भाडा बढाउनु परेको पठाओ नेपालकी मार्केटिङ निर्देशक सुरक्षा हमालले बताइन् । ‘एक त त्यो दिन राइडर कम हुन्छन्, फेरि कम भाडामा अनलाइन जान मान्दैनन्,’ उनले भनिन् ।

भाइटिकाको दिन मोटरसाइकलमा अधिकतम ३० प्रतिशत र ट्याक्सीमा २० प्रतिशत भाडा बढाएको उनको भनाइ छ ।

‘राइडरहरू अनलाइन जान नमान्ने कारणले बाध्यताबस भाडा बढाउनुपरेको हो,’ हमालले अनलाइनखबरसँग भनिन् । उनले टिकाको दिन बाहेक अन्य दिन महँगो नभएको भन्दै पठाओले ठगी नगर्ने दाबी गरिन् ।

कार्यविधि नहुँदा भाडा तोक्न सकिएन : बागमती यातायात मन्त्रालय

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले राइडिङ सेयरसम्बन्धी कानुनको अभावमा कारबाही गर्न नसकेको जनाएको छ ।

‘हामीसँग अहिले कार्यविधि छैन, कार्यविधि नहुँदा नियमन गर्न सकेका छैनौं, चाडपर्वमा अन्धाधुन्ध भाडा बढाएको भन्दै गुनासो धेरै आएको छ,’ मन्त्रालयका सचिव बलराम निरौलाले भने ।

मन्त्रालयले कार्यविधि निर्माण गरिरहेको जानकारी उनले दिए । ‘कार्यविधि स्वीकृत भएपछि तोकेको भाडा दर भन्दा बढी कुनै राइङ सेयरिङले लियो भने त्यसलाई तत्काल कारबाही हुनेछ,’ उनले भने ।

राइड सेयरिङ कम्पनीहरु कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएर चलिरहेकाले नियमन गर्न नसकेको उनको भनाइ छ ।

द्वारा संचालित है इको आरएसएस प्लगइन द्वारा कोडकरण.