महिना वा गते याद हुनै पर्दैन मौसमले नै दशैं छेउछाउ आइपुग्यो भन्ने महसुस गराइदिन्छ। यहाँ विदेशमा पनि दशैंको छेकोमा मौसम नेपाल भन्दा फरक भए पनि ‘भाइब्स’ भने उतैको आउने रै’छ।

आफू सानो हुँदाका सम्झनाहरू यो बेला रिल झैं घुमिरहेका छन्। ‘मिलेनियल’ उमेर समूहले संसारमा धेरै राजनीतिकदेखि प्राविधिक उथलपुथल भोग्नु–देख्नु परेको छ। यस अर्थमा यो समूहसँग कम उमेरमा धेरै अनुभव छ भन्दा पनि भयो। यी उथलपुथलसँग जिउन आफैंलाई छिटो–छिटो परिमार्जन गर्दै लैजानुपर्ने प्रमुख चुनौती पनि यो पुस्तालाई छ।

जेन-जीहरूका आफ्नै सहजता, असहजताहरू छन्। द इकोनोमिस्टले जेन-जी बारे अप्रिलको अंकमा कभर स्टोरी छापेको थियो। त्यहाँ पोस्ट वार, सन् २००७-०९ को आर्थिक संकटदेखि अहिलेको स्मार्टफोनसम्मका कुरा थिए। प्रत्येक पुस्ताका आ-आफ्नै कथाहरू हुन्छन्। म यहाँ मिलेनियल पुस्ताको एक पात्रले दशैं अनुभव सुनाउँदैछु। त्यो पनि गाउँबाट शहर र त्यहाँबाट विदेश पुगेको अनुभवको आधारमा।

सदरमुकाम नजिकै भए पनि हाम्रो गाउँ पर्वतको पीपलटारीमा विद्युत् पुग्न लामै समय लाग्यो। कुश्मामा बिजुली बलेको २० वर्षपछि जस्तो मात्र मदीपारि बत्ती बल्यो। त्यसैले बत्ती जानु अघिसम्म तिहारमा झिलमिली लाइट होइन निबुवाको पातमा तेल राखेर दीपावलीमा उज्यालो पारिन्थ्यो। अहिले सम्झिँदै अचम्म लाग्छ, नयाँ पुस्तालाई त यो कथा नै हुन्छ।

ए साँच्ची म दशैंको कुरा गर्दै थिएँ एक्कासी तिहारमा पुगेछु। पोखरा-बागलुङ राजमार्ग बनेको २०४६ आसपास हो। यो सडक संजाल नहुँदा पनि मानिसको दैनिक जीवन रोकिएको थिएन। मान्छेहरू हिंडेरै पोखरा पुग्थे। यसको आफ्नै कथा छ। मानिस स्याङ्जा, पर्वत, म्याग्दी हुँदै मुस्ताङ र तिब्बतसम्मै पुग्ने बाटोको छुट्टै कथा बन्छ। अझ मालढुंगा- बेनी-मुस्ताङ सडक बनेको त धेरै वर्ष बितेकै छैन।

मालढुंगाबाट हिंडेर बेनी, बाँदरजुङको उकालो चढ्दै मुस्ताङ त म आफैं पनि एक पटक पुगें। यसो सम्झनु न समय कस्तो थियो! यो अवसर पाउने अन्तिम समूह भनेकै मिलेनियल हो।

यो बाटोको सन्दर्भ दशैंका लागि महत्वपूर्ण छ। दशैंमा हामी नेपालीको प्रमुख परिकार त मासु नै हो। हो यही बाटो भएर दशैं आउँथ्यो हाम्रो गाउँ मात्र होइन पोखरासम्मै। दशैंका लागि मुस्ताङबाट झारिने भेडा च्याङ्ग्रा यही बाटो आउँथे। दशैंमा भेडा त कसले खानु, गाउँका खसी बोका पनि नबिक्ने समय थियो त्यो। दशैं अर्थात् च्याङ्ग्रो जस्तै थियो। जब बाटोमा हुलका हुल च्याङ्ग्रा देखिन्थे हामी केटकेटी ती गनेर बस्थ्यौं अनि सबैभन्दा ठूलो आफ्नो भएको दाबी गर्थ्यौं।

दशैंको बिम्ब पीङ भएतापनि मेरा लागि त्यो दोस्रो थियो। पहिलो त च्याङ्ग्रो नै थियो। किनभने यो जनावर दशैंमा बाहेक अरु समयमा तल झारिंदैनथ्यो। च्याङ्ग्रा व्यापारीहरू कतिपय मुस्ताङे नै हुन्थे भने कति तलका नै। मुस्ताङे च्याङग्रा व्यापारी ‘तारा भोटे’ का कथाहरू प्रचलित थिए।

जिजुआमा, हजुरआमाहरूले तारा भोटेका कथा सुनाउँदा म डरले सिरकभित्र लुटुपुटु बेरिन्थें। यो व्यापारका आफ्नै दु:ख थिए। तारा भोटेले च्याङ्ग्रा उधारोमा दिन्थे र त्यसको पैसा जसरी पनि उठाउँथे भनिन्थ्यो। जसले उधारो चुक्ता गर्दैन तारा भोटेबाट बच्दैन भन्ने डर बनाइएको थियो।

लामो बाटो हिंडाएर ल्याउँदाका जोखिमले यसको मूल्यमा फरक पार्थ्यो। ठूलो बथान एक साथ ल्याउँदा जनावर मर्ने, हराउने, चोरी हुने अर्को समस्या थियो। हाम्रो परिवारले पनि च्याङ्ग्रा व्यापारमा कहिलेकाहीं रुचि राख्थ्यो। साहिंला हजुरबा यसका लागि मुस्ताङ गएको मेरो सम्झनामा छ।

पीङको लट्ठो चोरी गर्ने, लट्ठो काटिने जस्ता अराजक काम पनि भैरहन्थे। पीङ टोलको एउटा प्रतिष्ठाको विषय बनेर दशैंमा मच्चिइरहन्थ्यो।

कुश्माको बडागाउँ चौरमा ऊ बेला सशस्त्र प्रहरीको क्याम्प थिएन। त्यहाँ दशैंको बेला च्याङ्ग्राको व्यापार समेत हुन्थ्यो यस्तै खरेहा, बान्द्रेबिंडी चौर अर्को स्थान थियो। कास्की नयाँपुलतिर भने घोरेपानी हुँदै दशैंका लागि च्याङ्ग्रा झारिन्थ्यो।

दशैंमा च्याङ्ग्रा किन्नेहरू कुश्मा नयाँपुल हुँदै पोखरासम्मै पुग्थे। च्याङ्ग्रो किन्दा ‘रमा’ (केटी च्याङग्रो) परेको भन्दै थकथक गर्नेहरू पनि यदाकदा भेटिने गर्थे। मैले पहिलो पटक च्याङग्राको मूल्य याद गरेको १८ सय थियो। सायद यो हाम्रै घर ल्याइएको थियो। बुबा, काकाहरूले कुरा गर्दा त्यसको दामबारे सुनेको थिएँ। आज त्यो मूल्य फर्केर हेर्दा अपत्यारिलो लाग्छ। अहिले रोज्जा च्याङ्ग्राको मूल्य झण्डै आधा लाख भेट्न लागि सक्यो।

पर्वत, बाग्लुङ, म्याग्दी, पोखरातिर पीङभन्दा पहिले च्याङ्ग्राको हुल नदेखिएसम्म दशैं महसुस हुँदैन। अर्थात् च्याङ्ग्राले पनि गण्डकी धौलागिरि क्षेत्रमा सांस्कृतिक मान्यता पाएको छ। यसैले भनिएको होला संस्कृति चलायमान हुन्छ। समयसँगै नयाँ संस्कृति पनि बन्दै जान्छ। च्याङ्ग्राको हुलले मात्र दशैं पूरा कहाँ हुन्छ र त्यसका लागि त पीङ पनि चाहिन्छ।

टोलटोलमा पीङ हाल्नु दशैंको प्रमुख विशेषता हो। लिङ्गे पीङको लामो लट्ठो। एकै घरको बाबियोले यो बनाउन सम्भव हुने कुरै भएन। यसैले पाका मान्छेहरू केटाकेटीलाई घर–घरमा पुगेर बाबियो उठाउने जिम्मा दिन्थे। दाम्लो, नाम्लो, बरियोका लागि कहाँ अहिले जस्तो सजिलै प्लास्टिकको डोरी पाइन्थ्यो र गाउँमा।

यसैले वर्षभरि चाहिने यस्ता घरेलु कामका लागि बाबियो बाटेर राख्ने पुरानै चलन हो गाउँघरको। हो, यसै थन्क्याएर राखिएको बाबियोको मुठो घर–घर पुगेर संकलन गरेपछि लिङ्गे पीङको लट्ठो तयार हुन्थ्यो। हजुरबाहरू लट्ठो बाटिदिन्थे। दाइ काकाहरू बाँस काटेर पीङका लागि तयार पारिदिन्थे। चौतारीको बर–पीपलको हाँगोमा पीङ हाल्ने चलन पनि छ। रूखको हाँगो उचाइमा छ र मोटो छ भने त्यहाँ पनि पीङ बनाउन सकियो तर लिङ्गे पीङको जस्तो मज्जा यसमा कहाँ आउँथ्यो र !

ओ हो! अर्को कुरा त सुनाउन झण्डै बिर्सेको। गाउँ–गाउँमा कहाँको पीङ ठूलो भन्ने होहल्ला पनि नहुने होइन। पीङको लट्ठो चोरी गर्ने, लट्ठो काटिने जस्ता अराजक काम पनि भैरहन्थे। पीङ टोलको एउटा प्रतिष्ठाको विषय बनेर दशैंमा मच्चिइरहन्थ्यो।

दशैंको दिन धर्ती छोड्नुपर्छ भन्ने मान्यताले उचाइदेखि रिङ्गटा लाग्नेहरू पनि दशैंको दिन लट्ठोमा टीका जमरा चढाएर पीङमा एक सर्को मच्चिएर आकाश छुन खोज्थे। त्यो समय कस्तो रमाइलो!

जब गाउँबाट शहर झरियो अनि यो सबै प्रक्रिया कहाँ देखिनु। काम, पढाइमा जब दशैं बिदा हुन्थ्यो अनि घर जानै हतार। बसको टिकट पाउनै मुस्किल। टिकट पाए सिट पाउन मुस्किल। हाम्रो सार्वजनिक यातायात सम्झिँदा पनि उकुसमुकुस लाग्छ कहिलेकाहीं। दशैंमा धेरै पटक काठमाडौंबाट कुश्मा मुढामा बसेर यात्रा गरेको अनुभव छ। दशैंमा जसै घर जानु छ। ती च्याङ्ग्राको हुल हेर्नुछ, लिङ्गे पीङमा मच्चिनु जो छ।

मानिसले आफ्नो संस्कार–संस्कृति जहाँ गए पनि आफैंसँग बोकेर लैजाने रहेछ। म अहिले अष्ट्रेलियाको एडिलेडमा छु। संसारका विकसित मानिने देशमा बसिरहँदा पनि हाम्रो आफ्नै खाना, संस्कृति जिउँदो छ। भाषालाई दोस्रो पुस्तामा हस्तान्तरण गर्न भने पहिलो पुस्ताले अलि बढी मिहिनेत गर्नै पर्छ। यदि तपाईं आफ्नो संस्कृतिबारे जान्नुहुन्न भने सधैं एउटा प्रश्नले घेरिरहन्छ, ‘हु एम आई?

यसैले घटस्थापनामा जमरा राखियो। जौ, तिल, मकै र माटो सुपर मार्केटमा किनेर। जमराको बीउ किन्दै गर्दा बाटो छेउ बसेर च्याङ्ग्राको हुल हेर्दै रोज्जा च्याङ्ग्रो मेरो भन्दै गरेको समय याद आउने रै’छ। पीङ खेल्न त यहाँ कुनै समस्या छैन। हरेक टोलमा पार्क छन्, ती पार्कमा पीङ पनि छन्। तर बाबियो उठाउँदै सामूहिकतामा बनाएको पीङको झल्को नमेटिने रै’छ। अर्थात् यी सबै हाम्रा सामाजिक, सांस्कृतिक पूँजी रै’छन्। यी सम्झनाहरू पनि तिनै पूँजीको छेउछाउबाट आएका हुन्, जसलाई बचाइराख्नुछ।

Powered by la Eko RSS Plugin pa CodeRevolution.