१५ कात्तिक, काठमाडौं । त्रिवि शिक्षण अस्पतालको चिसो कोठा । शव परीक्षण कक्ष । एमडी दोस्रो वर्षकी एक विद्यार्थीको पहिलो पोस्टमार्टम केस ।

शव परीक्षण कक्षमा १० वर्षे कलिलो शरीर नग्न अवस्थामा छ । अभिभावकको बयान थियो – ज्वरोको कारणले बेहोस भएर लड्दा मृत्यु भयो ।

तर चिकित्सकीय आँखाले देख्यो–कलिलो जीवनमाथि भएको क्रूर अत्याचार ।

शरीरभरि थिए चोटका निशानहरू (कुनै ताजा, कुनै पुराना । एकै दिनको दुर्घटना होइन, लामो समयदेखि चलिआएको यातनाको प्रमाण ।)

नाक थुनिएको शवको घाँटीमा थियो कुनै वस्तुले थिचेको डाम । हरेक चिह्नले बोलिरहेका थिए पीडाको कथा । टाउकोमा जमेको रगत बनेको थियो मृत्युको कारण । त्यो सानो शरीरले कति पीडा सहनुपर्‍यो होला अन्तिम क्षणमा ?

डा. सिर्जना कुँवरको आँखाअगाडि खुलिरहेको थियो मानवीय क्रूरताको एउटा भयावह दृश्य ।

हातहरू काम्न थाले । आँखाबाट आँशु बग्न थाल्यो ।

कति तड्पिएर मर्नुपर्‍यो होला यो बच्चाले ? त्यसबेला यही प्रश्न दर्फराइरह्यो उनको मन ।

हिम्मत टुट्यो । पोस्टमार्टम जारी राख्न सकिनन् । अर्को चिकित्सकलाई जिम्मा लगाइयो । पोस्टमार्टमको बलियो प्रमाणले नै परिवारकै सदस्यबाट हत्या भएको खुल्यो ।

एक दशक बितिसक्यो, तर त्यो दृश्य ताजै छ उनको मानसपटलमा । आज पनि जब कुनै बाल मृत्युको केस अन्यायका प्रमाणहरू बोकेर आउँछ, अनुसन्धानमा दत्तचित्त भएर लाग्ने दायित्वबोध बढिहाल्छ ।

मृत्युपछिको न्याय खोजीमा एक महिला चिकित्सक

प्रत्येक मृत शरीरले आफ्नै कथा बोकेको हुन्छ । त्यो कथा पढ्ने र न्यायको लागि प्रमाण जुटाउने काम गर्छिन्, पाटन अस्पतालमा कार्यरत फोरेन्सिक विभागीय प्रमुख डा. कुँवर ।

सजिलो रहेन यहाँसम्मको यात्रा । तर आज कुँवर अप्ठ्यारो र संघर्षपूर्ण बाटो छिचोलेर फोरेन्सिक मेडिसिनको क्षेत्रमा एक सफल चिकित्सक बनेकी छन् । ‘मृत्युको कारण पत्ता लगाउनु मात्र होइन, न्यायको लागि वैज्ञानिक प्रमाण जुटाउनु नै मेरो कर्तव्य हो,’ उनी भन्छिन् ।

फोरेन्सिक मेडिसिन र कानुनको संगमस्थल बनेर काम गर्दै आएकी छिन् उनी ।

चिकित्सकीय विभिन्न विधामध्ये उनले पोस्टमार्टम (फोरेन्सिक प्याथोलोजी) रोजिन् । यो विधाअन्तर्गत मृत्यु भइसकेका व्यक्तिको शरीर परीक्षण गरेर मृत्युको कारण पत्ता लगाइन्छ ।

त्यतिमात्रै होइन लैंगिक हिंसामा परेकाहरूलाई सेवा दिन स्थापित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) फोरेन्सिक विधाकै क्षेत्रमा पर्छ ।

यो विधा रोज्न कुँवरले परम्परागत मान्यतासिर्जित चर्को सामाजिक दबाबको सामना गर्नुपर्‍यो । घरपरिवारमा मृत शरीर छोएर आउँदा भूतप्रेत लाग्ने डरले घर गरेको थियो, अस्पतालबाट घर फर्कनासाथ सुनपानी छर्किने र नुहाउनैपर्ने नियम थियो ।

धेरैको प्रश्न हुन्थ्यो, ‘महिला भएर किन यस्तो विषय पढेको ?

परीक्षा दिँदा समेत यस्ता टिप्पणी सुन्नुपथ्र्यो । तर उनी हरेक प्रश्नलाई सामना गर्दै आफ्नो लक्ष्यमा अडिग रहिन् ।

पाटन अस्पतालमा वार्षिक चार सयको हाराहारीमा पोस्टमार्टम गर्नुपर्छ । तर उनलाई सबैभन्दा पीडादायी लाग्छ – सानो उमेरका बालबालिकाको आत्महत्या ।

आफ्नो कामप्रति गर्व गर्ने डा. कुँवरलाई प्रश्न र चुनौतीहरूले थप बलियो बनाए । त्यसैले आज उनी मेडिकल र कानुनी क्षेत्रबीचको एक महत्वपूर्ण कडी बनेकी छन् । उनको काम नै कुनै अस्वभाविक मृत्युको कारण पत्ता लगाएर न्याय दिलाउन सहयोग गर्नु हो । र त, उनी आज नयाँ पुस्ताका लािग प्रेरणाको स्रोत बनेकी छन् ।

मृत्युको रहस्य खोज्ने विद्यार्थी

सिर्जनालाई बाल्यकालको एउटा दृश्य अहिले पनि स्मृतिमा ताजै छ । त्यतिबेला लौरोले लाशलाई चलाउँदै उनी सोच्थिन्, ‘यो मानिस कसरी मर्‍यो होला?’ त्यही जिज्ञासु स्वभावले उनलाई आज फोरेन्सिक विशेषज्ञ बन्ने बाटोमा डोहोर्‍यायो र साहसले त्यो बाटो निर्भीकताका साथ हिंडिरहन बल दियो ।

स्कुल पढ्दा नै सिर्जना आफ्ना साथीहरूको ‘लिडर’ थिइन् । कतै मृत शरीर भेटिएको खबर आउनासाथ ज्ञानेश्वरबाट खोलाका किनारामा साइकल भाडामा लिएर टोलीसहित पुग्थिन् । ‘साथीहरू लाश देखेर तर्सन्थे’, उनी सम्झिन्छिन्, ‘तर मलाई त्यो मृत्युको रहस्य बुझ्न मन लाग्थ्यो ।’

ज्ञानेश्वरमा बस्ने सिर्जनाले आर्मी स्कुलबाट पढाइ सुरु गरिन् । सन् २००४ मा चीनमा एमबीबीएस पढ्ने अवसर पाइन् । सन् २००८ मा नेपाल फर्केपछि पाटन अस्पतालको आकस्मिक विभागमा करारमा काम गर्न थालिन् ।

पत्रपत्रिकामा वरिष्ठ फोरेन्सिक विशेषज्ञ डा. हरिहर वस्तीको नाम सुनेर सिर्जनाको सपना हुर्किएको थियो । ‘वस्ती सर जस्तै हुनुपर्छ भन्ने सोच बाल्यकालमा मनको कुनै कुनामा रहेको थियो,’ उनी भन्छिन्, ‘उहाँकै व्यक्तित्व देखेर, सुनेर यस विधामा थप लगाव बढ्यो ।’

जसै पाटन अस्पतालबाट छात्रवृत्तिमा आईओएममा एमडीका लागि नाम निस्कियो, उनले फोरेन्सिक विधा रोज्ने निर्णय गरिन् ।

निर्णय गर्न जति सजिलो थियो, अध्ययन अघि बढाउन त्यत्तिकै मुस्किल भयो । विवाह भइसकेकी उनलाई परिवारले रातभरि ड्युटी गर्नुपर्ने विषय नरोज्न सल्लाह नदिएका पनि होइनन् ।

सिर्जनाले मध्यमार्गी बाटो रोजिन्– परिवारलाई बिस्तारै बुझाउने, तत्कालका लागि आफ्नो निर्णय गोप्य राख्ने ।

२०७४ सालदेखि पाटन अस्पतालको फोरेन्सिक विभागमा जोडिएपछि उनले ओसीएमसी र पोस्टमार्टम सेवालाई विस्तार गरिन् ।

हालसम्म कलिला शिशुदेखि वृद्धवृद्धाको गरी सिर्जनाले ६ हजारभन्दा बढी शव परीक्षण गरिसकेकी छन् । हरेक उमेरका मानिसको मृत्युलाई उनले नजिकबाट नियालेकी छन् ।

सामाजिक दबाबले थिचिएको बाल जीवन

‘सरी बाबाआमा, हजुरहरूलाई सुख दिन सकिनँ…’ स्कुलको ड्रेसमा भेटिएको सानो कागजमा लेखिएको यो सन्देश ११ वर्षीया बालिकाको अन्तिम शब्द थियो । एउटा विषयमा फेल भएकै कारण उनले आफ्नो जीवन समाप्त गरिन् ।

ती बालिकाको कथाले समाजको कटु यथार्थ बोल्छ । बुबा खाडी मुलुकमा, उनी मामाघरमा बस्दै आएकी थिइन् । एउटा विषयमा फेल भएपछि आफूलाई घरको बोझ ठान्न थालिन् । यो सोच उनको मन भित्रबाट होइन, समाजले थोपरिदिएको थियो ।

‘यो उमेरमा आत्महत्या?’ प्रश्न गर्दै पाटन अस्पतालकी फोरेन्सिक विशेषज्ञ सिर्जना भन्छिन्, ‘यस्ता घटनाले मलाई नराम्ररी बिथोल्छ, भत्काउँछ ।’

सिर्जना अगाडि सुनाउँछिन्, ‘पहिले मदिराको कारण सडक दुर्घटनाका केसहरू धेरै आउँथे, तर अहिले आत्महत्याका घटना बढ्दैछन् ।’

पाटन अस्पतालमा केही वर्ष अगाडि गरेको एक अध्ययनको निष्कर्ष पनि फरक छैन । त्यसको सार छ– आत्महत्याको दर बढ्दो छ ।

पाटन अस्पतालमा वार्षिक चार सयको हाराहारीमा पोस्टमार्टम गर्नुपर्छ । तर उनलाई सबैभन्दा पीडादायी लाग्छ – सानो उमेरका बालबालिकाको आत्महत्या ।

‘कलिला शवहरू चिर्नुपर्दा कस्तो लाग्छ ?’ सिर्जनलाई अनलाइनखबरको प्रश्नले बिथोल्यो शायद । लामो मौनता तोड्दै उनी बोलिन्, ‘कलिलो उमेरको शव देख्नुपर्दा दुःख लाग्छ ।’

समाजको होडबाजी र प्रतिस्पर्धाले बाल मानसिकतामा गम्भीर असर पारिरहेको छ । ‘स–साना बालबालिकामा मानसिक समस्या देखिन थालेको छ,’ उनी भन्छिन्, ‘यो सामाजिक दबाबको परिणाम हो ।’

समाजले बालबालिकामाथि थोपरेको अपेक्षाको बोझले उनीहरूको कलिलो मानसिक संरचनाले थेग्न सकेको छैन । ‘हामीले बालबालिकालाई बुझ्न जरूरी छ,’ उनी भन्छिन्, ‘परिवार र समाजले दिने सानातिना दबाब पनि बालमस्तिष्कमा ठूलो चोट बन्न सक्छ ।’

स्वर दबाउँदै उनले थपिन्, ‘हामी बालबालिकालाई जीवन जिउन सिकाउनुको सट्टा मृत्युतर्फ धकेल्दैछौं ।’

मृत्युको रहस्य पछ्याउँदै

‘तपाईं स्टाफ कि डाक्टर?’ यस्ता प्रश्न सिर्जनाले सयौं पटक सुनिसकिन् । ६ हजारभन्दा बढी पोस्टमार्टम गरिसकेकी एक महिला चिकित्सकको दैनिकी यस्ता प्रश्नहरूसँग अलग छैन ।

‘पुरुष चिकित्सकलाई सहज विश्वास गर्छन्’, उनी भन्छिन्, ‘तर महिला चिकित्सकले आफ्नो योग्यता प्रमाणित गर्न हरेक दिन लड्नुपर्छ ।’

पुरुषप्रधान समाजमा महिला चिकित्सक हुनु, त्यसमा पनि पोस्टमार्टम गर्ने विशेषज्ञ हुनु दोहोरो चुनौती हो ।

एउटा घटना सम्झिँदै उनी भन्छिन्, ‘पीडित पक्षले डाक्टरले नै पोस्टमार्टम गरेको रिपोर्ट चाहियो भन्दै थिए । त्यस दिन मृतकका आफन्तलाई बुझाउन घण्टौं लाग्यो । महिला भएकैले लाश चिर्न नसक्ने पूर्वधारणा तोड्न निकै मेहनत गर्नुपर्‍यो ।’

तर यो लैंगिक विभेदको पीडादायी यथार्थमा एउटा सकारात्मक पक्ष पनि छ । ‘मृतकका आफन्त आक्रोशित हुँदा, महिला चिकित्सक भएकोले वातावरण केही शान्त हुन्छ,’ उनी भन्छिन्, ‘पुरुष चिकित्सक भएको भए हातपात हुनसक्ने अवस्थामा पनि महिला भएकैले तनाव कम गर्छ ।’

आत्महत्याको रिपोर्ट दिंदा ‘पैसा खाएर’ लेखेको आरोप लाग्छ । कोही मृतकका आफन्त भन्ने गर्छन्, ‘यो हत्या हो, मुटु कमजोर थिएन ।’ यस्तो बेला उनले धैर्यपूर्वक सम्झाउने गर्छिन् ।

‘यत्रो अध्ययन, मेहनत र समय दिएर न्यायको लागि लडिरहेकी हुन्छु,’ उनी भन्छिन्, ‘तर हरेक पटक आफू डाक्टर हुँ भनेर प्रमाणित गर्नुपर्दा चित्त दुख्छ ।’

तर उनी थाकेकी छैनन् । हरेक मृत शरीरको न्यायको लागि लडिरहेकी छिन् । समाजको पूर्वाग्रह र लैंगिक विभेदका पर्खालहरू भत्काउँदै अघि बढिरहेकी छिन् ।

मृत्युको गन्ध

‘तिमीलाई मिठो बास्ना आउने जागिर खाने भए अन्य थुप्रै काम थिए’, विदेशी प्रशिक्षक चिकित्सकको यो वाक्यले सिर्जनाको जीवनको दिशा नै बदलिदियो ।

तीन–चार वटा मास्क लगाएर, त्यसमाथि सुगन्धित पदार्थ छर्केर कुहिएको लाश चिरिरहेकी थिइन् । ‘किन यति धेरै मास्क ? के तिमीले रोजेको पेशालाई नै अपमान गर्दैछौ ? मृतकले विष खाएको भए, त्यो गन्ध कसरी थाहा पाउँछौ ?’ प्रशिक्षकको प्रश्नले उनलाई झस्काइदियो ।

‘पेटभित्रको गन्ध सुँघेर बताउनु,’ प्रशिक्षकको निर्देशन थियो ।

‘त्यस दिन मैले बुझें’ उनी भन्छिन्, ‘मृत्युको गन्ध पनि न्यायको एउटा प्रमाण हुनसक्छ ।’ मृतकले रक्सी खाएको तथ्य त्यही गन्धले बतायो ।

‘मास्कमा सुगन्ध छक्र्यो भने त सत्य लुक्ने रहेछ,’ उनी भन्छिन् ।

‘सुरुमा त राति सुत्दा पनि पोस्टमार्टम गरिएका अनुहारहरू आँखा अगाडि नाच्थे’, सुरुवाती अनुभव सम्झिँदै उनी भन्छिन्, ‘ढोका बज्यो कि लाग्थ्यो कतै त्यो लाश त आएन ?

फोरेन्सिक विशेषज्ञ बन्ने यात्रा लामो छ । एमडी गर्दा पहिले छ महिना पोस्टमार्टम गरिरहेको अवलोकन, त्यसपछि अर्को छ महिना वरिष्ठ चिकित्सकको सहायकको रूपमा काम गर्नुपर्छ । ‘कुनै कुरा पढेर जानियो, कुनै परेर,’ उनी भन्छिन् ।

आज उनी बुझ्छिन् – फोरेन्सिक मेडिसिन केवल शव परीक्षण मात्र होइन । यो त मृत्युको भाषा बुझ्ने विज्ञान हो । प्रत्येक गन्ध, चोट, निशान सबै मृत्युका साक्षी हुन् ।

‘मृत्युको गन्ध अप्रिय हुन्छ’ सिर्जना भन्छिन्, ‘तर त्यो गन्धले न्यायको बाटो देखाउँछ ।’ त्यसैले आज उनी मास्क होइन, आफ्नो ज्ञान र अनुभवको आधारमा मृत्युको भाषा पढ्छिन् ।

त्यस दिन विदेशी प्रशिक्षकले दिएको पाठ उनको जीवनको महत्वपूर्ण मोड बन्यो । आज उनले राम्ररी बुझेकी छिन्, ‘फोरेन्सिक विशेषज्ञको काम मृत्युको रहस्य खोज्नु मात्र होइन, मृत्युको हरेक संकेत पढ्न सक्नु पनि हो ।’

उनी अनुभवजन्य ज्ञान बाँढ्दै भन्छिन्, ‘हरेक मृत्युले आफ्नो कथा भन्छ र त्यो कथा बुझ्न गन्धदेखि डराउनु हुँदैन ।’ यो विश्वास नै सिर्जनाको पेशाको मूल मन्त्र बनेको छ ।

जीवनशैली बिथोल्ने काम

कुनै पनि पेशामा अनुभव र समयले मान्छेलाई निखार्छ । फरेन्सिक विशेषज्ञ एउटा यस्तो पेशा हो जहाँ शवसँग दैनिक साक्षात्कार हुन्छ । कहानी सुन्न जस्तो सजिलो रहेन पोस्टमार्टम गर्दाका सुरूवाती क्षण, ती त कहालीलाग्दा थिए ।

‘सुरुमा त राति सुत्दा पनि पोस्टमार्टम गरिएका अनुहारहरू आँखा अगाडि नाच्थे’, सुरुवाती अनुभव सम्झिँदै उनी भन्छिन्, ‘ढोका बज्यो कि लाग्थ्यो कतै त्यो लाश त आएन ?

तर आज उनको लागि यो सब सामान्य बनेको छ ।

अरुले नाक थुनेर हिंड्ने पोष्टमार्टम कक्षको वातावरणमा काम गर्न सिर्जनालाई त्यति असहज लाग्दैन । ‘मैले कामलाई काममै सीमित राख्न सिकें’ उनी भन्छिन्, ‘अब त फोहोर र दुर्गन्धको महसुस पनि हुँदैन ।’

सिर्जनाले बिर्सन नसक्ने अर्को घटना छ– हवाइ दुर्घटनाबाट निकालिएको एउटा शव, जलेको मांसपेशीको त्यो ह्वास गन्ध । ‘केही दिनसम्म सेकुवा पसल अगाडि बाट हिंड्न पनि सकिनँ । पोलेको मासुको गन्धले उल्टी आउँथ्यो । त्यो सेकुवा पसल र जलेको मांसपेशीको गन्ध उस्तै आएको थियो,’ उनले सम्झिइन् ।

यी घटनाहरूसँग साक्षात्कार हुँदा सिर्जनाले आफ्नो काममा राम्रै अनुभव सम्हालिसकेकी थिइन् । सुरुवाती दिनका अनुभव त्यति सहज रहेनन् ।

एमडी दोस्रो वर्षको अध्ययन गर्दा सिर्जना एउटा शव चिर्दै थिइन् । सहयोगी दाइ अन्य लासको व्यवस्थापनमा निस्किएका थिए । तर उनलाई अचानक त्यो मृत शरीरले हेरिरहे जस्तो लाग्यो । उनी ठूलो स्वरमा चिच्याउँदै बाहिर निस्किइन् । सहयोगी आएपछि मात्र फेरि भित्र पस्न सकिन् ।

‘तर अहिले त्यस्तो केही हुँदैन’ उनी गर्वका साथ भन्छिन्, ‘यो हाम्रो ड्युटी हो । न तनाव हुन्छ, न त नराम्रा सपनाहरू आउँछन् ।’

कुनै पनि पेशा सुरुमा कठिन हुन्छ । तर समय र समर्पणले सबै सम्भव बनाउँछ । आज उनी आफ्नो काममा दक्ष छिन् । मृतकहरूको न्यायका लागि लड्ने एक साहसी योद्धा बनेकी छिन् ।

जहाँ अरू मृतकदेखि भाग्छन्, सिर्जना भने शव चिर्दै मृत्युको कारण खोज्न अभ्यस्त छिन् । किनकि कसैले त गर्नैपर्छ यो काम । त्यसैले त यस कामलाई आफ्नो कर्तव्य बनाएकी छिन् ।

फरेन्सिक कक्षको दैनिकी

फरेन्सिक विभागको ढोका सदैव खुला हुन्छ । प्रहरीको गाडी प्रत्येक नयाँ केस लिएर आइपुग्छ–एक अकाल मृत्युको रहस्य बोकेर ।

सिर्जनाको पोष्टमार्टम कक्षमा दुईजना अनुभवी सहयोगी छन्, वर्षौंको तालिम र अनुभवले खारिएका । उनीहरूले टाउको चिर्ने, शव सिलाउने र प्याकिङको जिम्मेवारी सम्हाल्छन् ।

मृत्युपछिको अन्वेषण सजिलो छैन । तर पोस्टमार्टमबाट नै सुरु हुन्छ न्यायको यात्रा । फरेन्सिक विशेषज्ञले मौन रहेका मृतकका आवाज बाहिर ल्याइरहेका हुन्छन् ।

सिर्जनाका अनुसार सामान्य केसमा एक घण्टाभन्दा बढी लाग्छ । तर हरेक केस फरक हुन्छ । हत्याको शंका भएको शवमा बाहिरी चोटपटकको सूक्ष्म परीक्षण गर्नुपर्ने हुँदा दुई घण्टाभन्दा बढी समय लाग्छ ।

विशेष केसहरूमा झन् लामो समय लाग्छ । ‘हवाइ दुर्घटनाका केसहरू सबैभन्दा जटिल हुन्छन्’ उनी भन्छिन्, ‘कहिलेकाहीँ त डीएनए परीक्षण पनि गर्नुपर्ने हुन्छ ।’

उनले जलाइएका, क्षतविक्षत, सडेगलेका, चिहानबाट निकालिएका शवसमेत परीक्षण गर्दै आएकी छिन् ।

पहिलो चरणमा शवको बाह्य परीक्षण गरिन्छ । चोटपटक, दाग वा अन्य विशेष चिह्नहरूको सूक्ष्म अध्ययन यसै चरणमा हुन्छ । त्यसपछि शरीरका आन्तरिक अंहरूको परीक्षण गरिन्छ, जसमा फोक्सो, मुटु, मिर्गौला, छाती, पेट, मेरुदण्ड लगायतको विशेष जाँच हुन्छ ।

कुन अंगमा खराबी थियो, के कारणले मृत्यु भयो ? प्रश्नहरू पछ्याउँदै अध्ययन गर्दा हरेक अंगले प्रमाण दिन्छ । यस क्रममा विभिन्न कोषिकाको नमुना पनि संकलन गरिन्छ ।

अन्तिम चरणमा मस्तिष्कको परीक्षणका लागि खोपडी खोलिन्छ । ‘मस्तिष्कको परीक्षणले विशेषगरी टाउकोमा चोट लागेर भएका मृत्युका कारण पत्ता लगाउन मद्दत गर्छ,’ उनी भन्छिन् ।

दिनभर चल्छ यो क्रम । एक पछि अर्को केस ।

‘शव परीक्षण एउटा वैज्ञानिक अनुसन्धान हो, जसले मृतकलाई न्याय दिलाउन मद्दत गर्छ’ उनी भन्छिन्, ‘परीक्षणले अपराधको प्रकृति र अपराधीको पहिचानसमेत खुलाउँछ ।’

मृत्युपछिको खोज

‘मृत्यु एउटा अन्त्य होइन, यो एउटा सुरुवात हो – न्यायको खोजीको,’ फरेन्सिक विशेषज्ञ कुँवर भन्छिन् । उनको कार्यकक्षका थुप्रै फाइलहरू छन्, ती प्रत्येक फाइलले बोकेका छन् एउटा जीवनको अन्तिम कथा ।

‘पोष्टमार्टम भनेको केवल शव परीक्षण मात्र होइन, यो न्यायको पहिलो खुड्किलो हो,’ उनी आफ्नो एक दशकको अनुभव सुनाउँछिन् ।

विकसित मुलुकहरूमा पोष्टमार्टमको दायरा फराकिलो छ । त्यहाँ परिवारले आफ्नो स्वेच्छाले पनि गर्न सक्छन् । कुनै रोगले मृत्यु भएको छ भने, त्यो रोग वंशाणुगत हो कि होइन, सन्तानमा सर्ने सम्भावना कति छ लगायतका जानकारी लिन सकिन्छ ।

सिर्जना सुनाउँछिन्, ‘तर नेपालमा अझै पनि पोष्टमार्टम भनेको कानुनी औजार मात्र हो ।’ यहाँ मुख्यतः अप्राकृतिक मृत्युको अनुसन्धानका लागि मात्र गरिन्छ, त्यो पनि प्रमाण जुटाउन, मृत्युको कारण पत्ता लगाउन र न्यायिक प्रक्रियालाई सघाउन ।

‘हामी मृत्युको मूल कारण खोज्छौं,’ उनी व्याख्या गर्छिन्, ‘कुन घटनाले मृत्युतर्फ डोर्‍यायो ? त्यो पहिलो बिन्दु के थियो ? प्रत्येक चोट, प्रत्येक निशानले प्रमाणलाई बलियो बनाउँदै लैजान्छ ।’

समय बित्दै जाँदा शरीरका प्रमाणहरू मेटिँदै जान्छन् । कहिलेकाहीं धेरै दिन पुरानो शवको मृत्युको कारण पत्ता लगाउन निकै कठिन हुन्छ । ‘जति छिटो शव परीक्षण गर्न सकियो, त्यति नै राम्रो,’ उनी भन्छिन् ।

मृत्युपछिको अन्वेषण सजिलो छैन । तर पोस्टमार्टमबाट नै सुरु हुन्छ न्यायको यात्रा । फरेन्सिक विशेषज्ञले मौन रहेका मृतकका आवाज बाहिर ल्याइरहेका हुन्छन् ।

शव परीक्षण कक्षमा प्रत्येक दिन नयाँ केस आउँछन् । प्रत्येक केससँग एउटा परिवारको न्यायको आशा जोडिएको हुन्छ । डा. कुँवरको मेहनतले नै त्यो आशा जीवित रहन्छ ।

हेर्नुहोस् भिडियो


फोटो, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

Darbina ar Echo RSS spraudnis pēc CodeRevolution.