२१ असोज, काठमाडौं । नेपालका ठूला र अग्रणी होटेलमै उपभोक्ता हितविपरीत गतिविधि हुने गरेको पाइएको छ । पछिल्लो समय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ठूला र पाँचतारे होटेलमा अनुगमन बढाएको छ । सो क्रममा म्याद गुज्रिएका सामानको प्रयोगदेखि अत्यधिक मूल्यमा सामान बिक्री गर्ने गतिविधि देखिएको विभागका महानिर्देशक राजन पौडेल बताउँछन् ।

‘ठूला होटेल साना व्यवसायीका लागि उदाहरण बन्नुपर्छ,’ उनी भन्छन्, ‘तर ठूला होटेलले नै विभिन्न बहानामा लापरवाही गरिरहेको देखिन्छ ।’ विभागले दुई साताको अवधिमा ठूला र स्तरीय भनिएका होटेल रेष्टुरेन्टमा अनुगमन बढाएको छ । यसबीचमा पाँचतारे स्तरका होटेल याक एण्ड यति, होटेल एभरेष्टलाई जरिबाना नै तिराइएको छ । सो क्रममा दुवै होटेलमा म्याद गुज्रिएको खाद्यवस्तु किचनमा प्रयोग भइरहेको पाइएको महानिर्देशक पौडेलले जानकारी दिए ।

‘स्टोरमा भेटिएको भए एउटा कुरा हुन्थ्यो, किचनमै म्याद गुज्रिएका सामान भेटिए,’ उनले भने । अर्को पानीमा अत्यधिक बढी मूल्य लिएको उनले जानकारी दिए । ‘३० रुपैयाँमा किनेको पानीको बोतललाई पाँच तारे होटेलले ४ सय रुपैयाँसम्म लिएको पाइयो,’ उनले भने, ‘तारे स्तरको बहानामा यतिसम्म अचाक्ली मूल्य लिन पाइन्न ।’

पानी स्वदेशमै उत्पादन हुने वस्तु हो । नेपाल पर्यटकीय मुलुक भए पनि पर्यटकका बीच अधिक महँगो गन्तब्य बनिरहेको छ । यसमा व्यवसायीले राख्ने अधिक नाफा एक कारण देखिएको पौडेल बताउँछन् ।

व्यवसायीले भने कर्मचारीको पारिश्रमिक, वातानुकूलित साजसज्जासहितको रेष्टुराँ कक्ष, सुरक्षा, बिजुली, लिज भाडासहितले उत्पन्न हुने प्रशासनिक खर्च र वित्तीय खर्च जस्तो ओभरहेड थपिएका कारण धेरै मूल्य लिनु परेको दावी गर्दै आएका छन् । केही दिनअगाडि होटेल संघ नेपालले जारी गरेको विज्ञप्तिमा पानी अधिक महँगो हुनुमा सोही कारण रहेको दावी गरिएको छ ।

याक एण्ड यति, एभरेष्ट र बसेरालाई तीन/तीन लाख जरिवाना

विभागले याक एण्ड यति, होटेल एभरेष्ट र बुटिक होटेल बसेरालाई नगद जरिबाना तिराएको छ । विभागका अनुसार याक एण्ड यति र एभरेष्टमा म्याद गुज्रिएका सामान फेला परेका थिए । बसेरा होटेलमा भने पानीमा अत्यधिक मूल्य लिएको पाइएको थियो ।

‘बसेरामा मूल्यको मात्र इस्यू हो,’ महानिर्देशक पौडेलले भने, एभरेष्ट र याक एण्ड यतिमा त म्याद गुज्रिएका माल वस्तु बेचेको भेटियो ।’ यी होटेललाई विभागले प्रतिहोटेल ३/३ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

अन्य कुन–कुन ठूला होटेल रेष्टुरेन्ट परे कारबाहीमा ?

१८ असोजका दिन विभागले गरेको अनुगमनबाट ललितपुरस्थित थासाङ थकाली किचनलाई २ लाख रुपैयाँ जरिबाना तिराएको छ । १७ असोजका दिन एयरपोर्ट सेकुवाघर एण्ड रेष्टुराँलाई समेत विभागले २ लाख जरिबाना तिराएको छ ।

सोही दिन रिगल एयरपोर्ट होटेल प्रालिलाई २ लाख जरिबाना तिराएको विभागले जानकारी दिएको छ ।

१६ असोजका दिन विभागले रानी सती इन्टरनेसनल प्रालिलाई ३ लाख रुपैयाँ जरिबाना तिरायो । विभागका अनुसार यो चिनी बिक्री गर्ने कम्पनी हो । जसले आफ्नो उहीं ब्राण्डको बोरामा दुई थरी एमआरपी राखेर बिक्री गरिरहेको भेटिएको हो ।

कुनै बोरामा ५ हजार ७ सय ५० रुपैयाँ र कुनै बोरामा ६ हजार रुपैयाँ एमआरपी राखेको पाइएपछि विभागले जरिबाना तिराएको थियो । सोही दिन काठमाडौंको होटेल सोनिग र एयरपोर्ट टी कफी एण्ड कन्फेक्सनरी सप प्रालिलाई विभागले ७५/७५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

चल्तिकै मिठाइ उत्पादन गर्ने ब्राण्डका स्टोरमा लापरबाही

विभागको अनुगमनमा शहरमा चल्तीकै मिठाइ उत्पादन गर्ने ब्राण्डमै लापरवाहीपूर्वक उत्पादन भइरहेको पाइएको छ । १५ असोजका दिन विभागको अनुगमनबाट आकास फुड्सलाई २ लाख रुपैयाँ जरिबाना तिराइएको छ ।

यो आँगन ब्राण्डका मिठाइ उत्पादन गर्ने कम्पनी हो । आँगनका मिठाइको सप्लाई हुने स्थानमा निकै व्यवस्थित देखिए पनि उत्पादन गर्ने स्थल अस्वस्थकर पाइएको विभागले जनाएको छ । यहाँ प्रयोग गर्ने तेलमा उत्पादन मितिसहितको लेवल खुइलिएको र तेल समेत पटक पटक प्रयोग भई सुद्धीकरणमा ध्यान नदिएको पाइएको महानिर्देशक पौडेलले बताए ।

सोही दिन गरिएको अनुगमनबाट हानकुक साराङ रेष्टुरेन्टमा ब्राण्ड उल्लेख नभएको मैदा प्रयोग गरिएको, उत्पादन मिति उल्लेख भएका लेवल प्रयोग नभएको सहितका कैफियत देखिएपछि विभागले ३ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

Powered by the Echo RSS Plugin by CodeRevolution.