काठमाडौं, २० असोज । श्रीलंकामा चलिरहेको अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को कार्यक्रम अघि बढाउन नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिशानायके तयार भएका छन् । आफूलाई मार्क्सवादी बताउने राष्ट्रपति दिशानायकेले आईएमएफ कार्यक्रमको उद्देश्यसँग मूलभूत रुपमा सहमत रहेको तथा जनतालाई राहत दिने आफ्नो ध्येय रहेको बताएको उनको कार्यालयले जनाएको छ ।

राष्ट्रपति दिशानायकेले आईएफएफसँगको सहकार्यमा उसको कार्यक्रमको उद्देश्य हासिल गर्न आफू तत्पर रहेको र जनतामाथि परेको बोझलाई कम गर्न वैकल्पिक उपाय अवलम्बन गर्ने बताएको पनि राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आईएमएफका एसिया प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासन नेतृत्वको टोलीसँग राष्ट्रपति दिशानायकेले दुई दिनसम्म सघन छलफल गरेका थिए ।

श्रीलंका भ्रमणपछि श्रीनिवासनले जारी गरेको वक्तव्यमा पनि आईएमएफसँगको सहकार्यमा शुरु गरिएको सुधारलाई अघि बढाउन श्रीलंकाली अधिकारीहरुको प्रतिबद्धताले आफू उत्साहित भएको उल्लेख गरेका छन् । राष्ट्रपति दिशानायकेसँगको छलफलका क्रममा सन् २०२२ मा सबैभन्दा खराब आर्थिक संकटमा परेदेखि श्रीलंकालाई आर्थिक पुनरुत्थानको बाटोमा लैजान गरेको कडा मेहनतले हासिल गरेका उपलब्धिलाई संरक्षण गर्न सहमति भएको पनि श्रीनिवासनले उल्लेख गरेका छन् ।

आईएमएफसँगको छलफलपछि श्रीलंकाको अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सार्वभौम बोन्डहोल्डरसँग लामो समयदेखि थाती रहेको ऋण पुनःसंरचनाको सम्झौता निष्कर्षमा पुगेको जनाएको छ । श्रीलंकाका आधिकारिक ऋणदाता समिति (ओसीसी) र आईएमएफसँग श्रीलंकाली सरकारको वार्ता सफल भएको जानकारी अर्थ मन्त्रालयले दिएको हो ।

राष्ट्रपति दासानायकेले आईएमएफका शर्त स्वीकार गर्ने बताएपछि अर्थ मन्त्रालयको त्यो विज्ञप्ति सार्वजनिक भएको हो । अघिल्ला राष्ट्रपति रनिल विक्रमासिंघेको कार्यकालमा आईएमएफले ऋण पुनःसंरचनाका लागि भन्दै २ अर्ब ९० करोड अमेरिकी डलरको सुविधा दिएको थियो । श्रीलंकाले तीन किस्तामा गरी त्यसमध्ये ३६ करोड डलर विस्तारित कोष सुविधा लिइसकेको छ ।

साढे १७ अर्ब बाह्य ऋण पुनःसंरचनाका लागि मेहनत गरेका रनिल विक्रमासिंघेले चुनाव हारेपछि यसको भविष्यबारे अन्योल थियो । सन् १९४८ मा श्रीलंका स्वतन्त्र भएपछि सन् २०२२ मा पहिलोपटक यो मुलुक विदेशी दायित्व भुक्तानी गर्न नसक्ने गरी टाट पल्टेको थियो । आईएमएफको नेतृत्वमा यसको उद्दारको काम भइरहेको छ।

Aangedreven door de Echo RSS-plug-in door CodeRevolution.