२० असोज, काठमाडौं । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं आएर विभिन्न देश उड्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीरूको उडान ५० प्रतिशतसम्म कटौती गरेको छ ।

एकै पटक आधाभन्दा बढी परिमाणमा उडान कटौती भएपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले ‘आपत्ति’ जनाएका छन् । यसको असर नेपाली तथा विदेशी यात्रुमाथि त पर्ने नै भयो, तर यसको अर्को गम्भीर असर विदेशमा परेको छ ।

उड्डयन प्राधिकरणले नेपाल आइरहेका विदेशी वायुसेवा कम्पनीका उडान कटौती गरेको गम्भीर असर नेपालबाट विदेश जाने नेपाली वायुसेवा कम्पनीमाथि पनि परेको छ ।

प्राधिकरणका अनुसार कटौती गरिएको उडान तालिका आगामी कात्तिक २३ देखि लागु हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्यारालल ट्याक्सी वे, जहाज एप्रोन, पार्किङ लगायत निर्माण भइरहेका कारण उडान कटौती गरिएको हो ।

प्राधिकरणले कतारबाट आउने कतार एयरवेजले गरिरहेको दैनिक चार उडान कटौती गरेर दुईमा झारिदिएको छ । त्यस्तै युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईबाट आउने फ्लाई दुबईको दैनिक पाँच उडान काटेर दुई बनाइएको छ ।

त्यसैगरी यूएईको सारजहाँबाट आइरहेको एयर अरेबियाको दैनिक तीन उडान तालिका कटौती गरी प्राधिकरणले एक उडानमा सीमित गरिदिएको छ ।

त्यस्तै भारतको सरकारी वायुसेवा कम्पनीले हाल काठमाडौंबाट नयाँदिल्लीका लागि सातामा २१ उडान अर्थात् दैनिक तीन र कोलकाताका लागि सातामा चार उडान गरिरहेको छ ।

अब यो तालिकालाई प्राधिकरणले दिल्लीका लागि दैनिक तीन उडानमात्र बनाइदिएको छ भने कोलकाताका लागि तालिका यथावत राखेको छ ।

भारतबाटै आउने अर्को निजी वायुसेवा कम्पनी इन्डिगो एयरलाइन्सले हाल गरिरहेको दैनिक चार उडानमा आधा कटौती गरी दुई बनाइदिएको छ । नयाँ तालिका अनुसार इन्डिगोले दिल्लीका लागि एक र मुम्बईका लागि एकमात्र उडान गर्ने छ ।

मलेसियाबाट आउने मालिन्दो एयरको दैनिक तीन उडान कटौती भएर एकमा झरेको छ ।

नेपालबाट विभिन्न देश गइरहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र अर्को निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सका उडान अन्य देशले काटिदिएका छन् ।

‘हाम्रो प्राधिकरणले विदेशी वायुसेवा कम्पनीको उडान कटौती गरिदिएपछि उतातिर पनि हाम्रो वायुसेवाको उडान कटौती भएका छन्,’ एक पर्यटन व्यवसायीले अनलाइनखबरसँग भने, ‘हामीले निहुँ खोजेपछि उनीहरूले पनि निहुँ खोजे । यस्तो दुईतर्फी निहुँको मारमा स्वदेशी तथा विदेशी यात्रु पर्ने भएका छन् । त्यसमाथि वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले थप दुःख पाउने अवस्था सिर्जना हुँदैछ ।’

उनका अनुसार प्राधिकरणले यूएईका फ्लाई दुबई र एयर अरेबियाको उडान कटौती गरेपछि यूएईले नेपाल वायुसेवा निगमलाई दुबई उडान गर्न तालिका नै दिएको छैन ।

त्यसबाहेक काठमाडौंबाट यूएईका लागि सातामा १४ उडान गरिरहेको हिमालय एयरलाइन्सको उडान संख्यामा भारी कटौती भएको छ । हिमालयले पाइरहेको साताका १४ उडान यूएईले एक्कासि चारमा झारिदिएको छ ।

‘यसले गम्भीर अवस्था सिर्जना हुने देखिन्छ,’ ती व्यवसायीले भने, ‘यसबारे उड्डयन प्राधिकरण र सम्बद्ध वायुसेवा कम्पनीबीच सकेसम्म चाँडो वार्ता गरेर समस्या समाधान गर्नुपर्ने भइसकेको छ ।’

तथ्यांक अनुसार हाल यूएईमा मात्र करिब ६ लाख नेपाली कार्यरत छन् । कतार, मलेसियामा पनि लाखौं नेपाली काम गरिरहेका छन् । ‘प्राधिकरणको निर्णयले एक्कासि लाखौं नेपाली मजदुरले दुःख पाउने देखिइसक्यो,’ ती व्यवसायीले भने ।

ती व्यवसायीका अनुसार चीन, हङकङ र थाइल्यान्डबाट आउने वायुसेवा कम्पनीका उडान भने थपिएका छन् । तर, प्राधिकरणले यसमा कुनै सत्यता नभएको जनाएको छ ।

उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलमा थप पूर्वाधार निर्माणका काम गर्नुपर्ने भएका कारण विदेशी वायुसेवाहरूको उडान कटौती गरिएको हो ।

‘हामीले हप्तामा सातभन्दा बढी उडान हुनेको मात्र ५० प्रतिशत उडान कटौती गरेका छौं,’ उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘काठमाडौंबाट जाँदा कुनै पनि देशसँगको सम्पर्क नटुटोस् भनेर सोही अनुसार उडान तालिका कटौती गरेका हौं । दैनिक एक उडान त सबैलाई दिएका छौं ।’

उनका अनुसार दैनिक दुईभन्दा बढी उडान हुने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका उडान ५० प्रतिशत कटौती गरिएको छ । दैनिक दुईसम्म उडान भएकाको ३० प्रतिशत काटिएको छ भने दैनिक एक उडान हुनेको यथावत राखिएको छ ।

‘कात्तिक २३ देखि त्रिभुवन विमानस्थल नै दैनिक १४ घण्टामात्र सञ्चालन हुनेछ । अहिले बिहान ६ बाट भोलिपल्ट बिहान ३ बजेसम्म गरी दैनिक २१ घण्टा चलिरहेको छ, त्यो बेला १० घण्टा बन्द हुनेछ,’ सूचना अधिकारी भुलले भने, ‘कात्तिक २३ देखि राति १० देखि बिहान ८ बजेसम्म विमानस्थल पूर्णरूपमा बन्द हुनेछ ।’

उनका अनुसार हाल दैनिक २१ घण्टा त्रिभुवन विमानस्थल सञ्चालन भइरहँदा हुने उडान संख्या अब १४ घण्टा सञ्चालन हुने भएपछि यसै पनि एक तिहाइ कटौती हुनेछ । ‘अब त्यो बेला कुनै खाली समय भएछ भने थप व्यवस्थापन गर्ने हो,’ उनले भने ।

Aangedreven door de Echo RSS-plug-in door CodeRevolution.