९ असार, काठमाडौं । सीआईबीको प्रहरी भन्दै कपनमा करिब १० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ४८ वर्षीय भाग्यराम पाइन, बाह्रबिसे–३ कै २६ वर्षीय लिलाबहादुर तामाङ, बाह्रबिसे–३ कै २५ वर्षीय च्याङ्बा र हर्के भनिने लोकबहादुर पाख्रिन र बाह्रबिसे–४ का २५ वर्षीय इनकुमार पाख्रिनविरुद्ध मुद्दा चलाइएको हो ।

यसअघि १७ जेठमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भाग्यरामलाई पक्राउ गरेको थियो । बाँकी ३ जना अझैसम्म फरार रहेकाले उनीहरुलाई फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको हो । चारैजनालाई डाँका चोरीको कसुरमा मुद्दा दायर गरिएको छ ।

पक्राउ परेका पाइन यसअघि २९ मंसिर २०७० मा ज्यान मार्ने उद्योगको कसुरमा पक्राउ परी ४ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् । फरार रहेका अर्का प्रतिवादी लोकबहादुर पनि चोरी मुद्दामा यसअघि दोषी ठहर भएका व्यक्ति रहेको खुलेको छ । २६ असार २०८० मा ललितपुर जिल्ला अदालतले उनीविरुद्ध १ वर्ष ४ महिना कैद र २० हजार जरिवानाको फैसला सुनाएको थियो ।

उनीहरुले १३ जेठमा कपनमा सोहिल बाह्रबिसे सुनचाँदी पसल सञ्चालन गरेर बसेका जयविक्रम विकको सुनका गरगहना र नगद गरेर ९ लाख ९२ हजार ६३२ रुपैयाँ बराबरीको लुटपाट गरेको आरोप छ ।

लुटपाट गर्नुअघि गिरोहका एक सदस्यले विकलाई फोन गर्दै सापटी पैसा मागेका थिए । लगत्तै ६ जनाको समूह उनको कोठामा गएको थियो ।

त्यसपछि विकलाई आफूहरू सीआईबीको प्रहरी भएको बताउँदै चोरीको सुन किन्ने गरेको भन्दै पसल खोल्न लगाएर लुटपाट गरिएको थियो ।

බලයෙන් Echo RSS ප්ලගිනය විසින් කේත විප්ලවය.