२७ जेठ, सुर्खेत । ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसीप असार १४ र १५ गते सुर्खेतमा हुने भएको छ ।

आइतबार कर्णाली प्रदेश खेलकुद विकास परिषद र स्पोर्ट्स संघ नेपालबीच ई स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असार १४ र १५ गते सुर्खेतमा आयोजना गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

स्पोर्ट्स संघका अध्यक्ष अन्जन धमलाका अनुसार ई स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिपमा पब्जी मोबाइल, मोबाइल लिजेण्ड्स र ई फुटबल गरी तीन विधाका खेललाई समावेश गरिएको छ ।

पब्जी मोबाईलको छनोट अनलाइनमार्फत हुने र अन्तिम १६ को फाइनल राउण्ड भौतिक रुपमा गरिने संघले जनाएको छ । मोबाइल लिजेण्डका सम्पूर्ण खेल अनलाइन र ई फुटबलको प्रारम्भिक छनोट अनलाइन र सेमिफाइनल र फाइनल प्रतिस्पर्धा भौतिक रुपमा सञ्चालन गरिनेछ ।

संघका अध्यक्ष अन्जन धमलाले नेपालमा बढ्दो लोकप्रियता, अन्तर्राष्ट्रिय सम्भावना र लगानीको प्रतिफलका हिसाबले तीन खेललाई प्राथमिकतामा राखेर राष्ट्रिय च्याम्पियनसिपमा समावेश गरिएको जानकारी दिए ।

प्रतियोगिताको कुल पुरस्कार रकम १२ लाख रुपैयाँ रहेको छ । जसको ७० प्रतिशत पुरस्कार पब्जी मोबाइलमा, २० प्रतिशत पुरस्कार मोवाइल लिजेण्डका खेलमा र १० प्रतिशत पुरस्कार ई फुटबलमा बाँडिने संघले जनाएको छ । तीन वटै खेल विधाका विजेताले आसन्न एसियन ई स्पोर्ट्स च्याम्पियनसिपको नेपाल छनोटको फाइनल चरणमा स्थान सुरक्षित गर्ने आयोजकले जानकारी दिएको छ ।

अनलाइन छनोट असार ४ देखि १० गतेसम्म र भौतिक रुपमा अन्तिम चरणका खेल असार १४ र १५ गते सुर्खेतमा हुनेछ । प्रतियोगितामा १६ वर्षमाथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउने कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले जानकारी दिए ।

Inowanikwa ne Echo RSS Plugin by CodeRevolution.