विराटनगर। साहित्यकार कृष्णविनोद लम्साल इटहरी बस्न थालेको ४२ वर्ष भयो । भोजपुरको दिङ्लाबाट धरानहुँदै इटहरी झरेका उनी महेन्द्र राजमार्गसँग जोडिएको कुनै बेलाको सानो गाउँ इटहरीको विकासक्रमका साक्षी हुन् ।
थारू समुदायका स-साना झुप्रा घर रहेको इटहरीमा ठूला संरचना बनेको उनले नजिकबाट देखेका छन् । ‘हामी आउँदा यहाँ बस्ती पातलो थियो, विस्तारै बसाइँसराइको क्रम बढ्यो’ उनी भन्छन्, ‘अहिले बसाइँ सरेर बनेको पूर्वको ठूलो शहरमा इटहरीको नाम आउँछ ।’
उनका अनुसार, इटहरी बसाइँसराइको केन्द्र बन्नुको दुई वटा कारण छन् । पहिलो, सहज सडक सञ्जाल; दोस्रो, सुरक्षा । महेन्द्र राजमार्ग र कोशी राजमार्गसँग जोडिएको इटहरीबाट सबैतिरको यात्रा सहज छ ।
विराटनगर र भारतीय बजार जोगवनी नजिकै छ, पूर्वी नाका काकडभिट्टा हुँदै भारतीय भूमिको यात्राका लागि पनि नजिक छ । बाँकी नेपाल र राजधानीसँग पूर्व-पश्चिम सडकले जोड्छ ।
उत्तरतर्फ नेपाल सेनाको पूर्वी पृतना र पश्चिमतर्फ सशस्त्र प्रहरीको प्रदेश कार्यालय छ । दुई वटा सुरक्षा निकायको प्रदेशस्तरीय कार्यालय रहेको इटहरी द्वन्द्वकालमा तुलनात्मक रूपमा सुरक्षित थियो । पहाडी जिल्ला र गाउँबाट त्यो बेला सुरक्षा खोज्दै बसाइँसराइ गर्नेहरूको प्राथमिकतामा पनि यो बजार पर्यो ।
‘द्वन्द्वकालमा बाहिरबाट बसाइँ सरेर आउने क्रम ह्वात्तै बढ्यो, अहिले पनि यो क्रम छ’ लम्साल भन्छन्, ‘तराई-मधेश आन्दोलनले पनि इटहरी बसाइँ सरेर आउनेको संख्या बढायो।’ जनघनत्व बढेसँगै इटहरीमा व्यावसायिक मल र शैक्षिक संस्था खुल्ने क्रम बढ्दो छ । छोटो समयमा शहरीकरण भएको इटहरी पछिल्लो समय शैक्षिक हबको रूपमा पनि विकास हुने क्रममा छ ।
तेह्रथुम सोल्माका दयाराम खनाल परिवारसहित इटहरीमा बस्छन् । उनी इटहरी बस्न थालेको केही वर्ष मात्रै भयो । शिक्षा र स्वास्थ्यका लागि सोल्माबाट उनी सहित अन्य गाउँले इटहरी आएका छन् । सुविधाको खोजीमा अधिकांश सोल्मावासी गाउँ छाडेर शहरकेन्द्रित भएका छन् । दयाराम भने बेलाबेला पहाड घर पुग्ने गर्छन् ।
स्थानीयका भनाइमा, विकसित इटहरीको जस नरसिंह थारूलाई जान्छ । त्यसबेला थारू समुदायको सर्वोच्च प्रशासनिक नेतालाई मौजावाल भनिन्थ्यो । ‘इटहरी, दुहबी, खनार, पकली, झोक्राहा समेतको मौजावाल नरसिंह थारू थिए’ इतिहासमा इटहरी पुस्तकमा हिमाल दाहालले लेखेका छन् ।
तत्कालीन शासकबाट सुब्बा उपाधि पाएका उनी इटहरीमा प्रशासन चलाउँथे । न्याय–निसाफ पनि हेर्थे । अपराध गर्नेलाई तुरुङमा राख्थे । ‘यो तुरुङ हो’ लाई थारू भाषामा ‘इटा हरी छि’ भनिन्छ । त्यसैबाट इटहरीको नाम रहेको किंवदन्ती छ । तर यो नामका विषयमा भने भिन्न-भिन्न दाबी छन् ।
औलो उन्मूलन अघिसम्म इटहरीका मुख्य बासिन्दा थारू समुदाय हुन् । औलो उन्मूलन र २०२१ सालमा भएको नापीपछि भने जमिनमाथि थारूको स्वामित्व गुम्दै गयो । मालपोत तिर्न नसकेपछि उनीहरूले जमिन अरूलाई नै दिए ।
महेन्द्र राजमार्ग निर्माण भएपछि जग्गा खरिद-बिक्री सुरु भयो, अहिलेको बजार क्षेत्रको जग्गा थारू समुदायले नै बिक्री गरेको ‘इतिहासमा इटहरी’ पुस्तकका दाहाल बताउँछन् । थारू समुदायपछि इटहरी विकासक्रमकर्ताको जस महेश्वर सुब्बालाई जान्छ । ताप्लेजुङबाट कोशी किनार हुँदै इटहरी आएका उनले यहाँ जंगल फाँडेर बस्ती विस्तार गर्न मद्दत गरे । पहाडबाट आफन्त र गाउँलेलाई बोलाएर तराई-मधेशमा राखे ।
इटहरी चोकलाई चिनाउन २०२० सालमा ठूलो चारतले घर उनले नै बनाएका थिए । महेन्द्र राजमार्ग विस्तार भएपछि भत्किएको उनको चार तले घरको फोटोले इटहरीको इतिहास बोल्छ । तर राजमार्ग विस्तार गर्दा उनको घर एकातर्फ र शौचालय अर्कोतर्फ पर्यो । त्यसपछि उनले घर भत्काएका थिए । त्यसबेला सुब्बाले बनाएको घर आकर्षक र ठूलो थियो ।
पूर्व-पश्चिम राजमार्ग बनेपछि इटहरी केन्द्र बन्यो, त्यसअघि पनि इटहरीबाट विराटनगर हुँदै जोगवनी जोड्ने सडक थियो । ‘पूर्व–पश्चिम राजमार्ग निर्माण अघि नै इटहरी विराटनगर सडक थियो, त्यो सडकमा सवारी पनि चल्थे’ सम्पादक दाहाल भन्छन्, ‘पूर्व–पश्चिम राजमार्ग र उत्तर–दक्षिण राजमार्ग बनेपछि इटहरीको विकासक्रम तीव्र गतिमा भयो ।’
राजमार्ग बनेपछि आएकाहरूले जग्गा खरिद गरेर घडेरीको रूपमा बिक्री गर्दै बस्ती विकास गरेका थिए। जसकारण कोशी करिडोरसँग जोडिएका पहाडी जिल्लाबाट बसाइँसराइ गर्नेहरूको केन्द्र इटहरी बनेको हो । इटहरीमा संखुवासभा, भोजपुर, तेह्रथुम, खोटाङ र धनुकटाबाट बसाइँसराइ गरेर आएकाहरू धेरै छन् ।
२०४६ सालको जनआन्दोलनपछि फस्टाएको इटहरीको विकासक्रम कोरोना महामारीपछि भने अलिक सुस्त देखिएको छ । तर पनि इटहरी छाडेर जाने भन्दा इटहरीमा आउनेको संख्या बढ्दो छ । ‘यहाँबाट जाने ठूलो शहर काठमाडौं हो, अन्य शहरमा जानेको संख्या न्यून छ’, दाहाल भन्छन् ।
इटहरी उपमहानगरपालिकाको तथ्याङ्क अनुसार इटहरीमा हरेक वर्ष २ हजार हाराहारी घर थपिने गरेका छन् । राष्ट्रिय जनगणना २०७८ ले इटहरीमा ५० हजार ३५० घरधुरी रहेको देखाएको छ । २०६८ सालमा भने ३३ हजार ७०० घरधुरी थिए । जनगणनाले इटहरीको जनघनत्व पनि बढ्दो देखाएको छ । २०७८ को जनगणनामा इटहरीको जनसंख्या १ लाख ९७ हजार पुगेको छ ।
तत्कालीन इटहरी गाविस ११ माघ २०५३ मा इटहरी नगरपालिका बनेको थियो । २८ पुस २०७१ मा उपमहानगरमा अपग्रेड भयो यो शहर । नगरबाट उपमहानगर हुनुको मुख्य कारण इटहरीको जनघनत्व थियो । इटहरीको बजार क्षेत्र अहिले भरिएको छ ।
यसको उत्तरमा जंगल, पूर्व र दक्षिणतर्फ मोरङ पर्छ । इटहरीकै कारण मोरङतर्फको बलिया, दुलारी र गछियामा पनि शहरीकरण हुँदैछ । पछिल्लो समय इटहरीको बस्ती विस्तार भने पश्चिम दक्षिण क्षेत्रमा भइरहेको छ ।
मानवशास्त्री डिल्ली प्रसाईं कोशी प्रदेशको बसाइँसराइको केन्द्र इटहरी देखिएको बताउँछन् । इटहरी जस्तै बिर्तामोड पनि विकासक्रममा छ । ‘कोशी करिडोरसँग जोडिएको पहाडी जिल्लाबाट इटहरी झर्छन्’ उनी भन्छन्, ‘पहाडबाट झर्नेहरू आफ्नो क्षमता अनुसार बजार र बजार छेउमा बसोबास गर्छन् ।’
सहज यातायात, शिक्षा र स्वास्थ्यको लागि पहाडबाट बसाइँसराइ बढ्दो छ । ‘पहाडबाट अध्ययनका लागि झरेको व्यक्ति यतै ‘सेटल’ हुन्छ या त रोजगारीका लागि विदेश जान्छ । फर्किएर पहाड नै जाने थोरै छन्’ उनी भन्छन्, ‘राज्यले पहाडसँग सुविधा जोड्ने प्रयास गरिरहेको छ, तर त्यसको उपभोग गर्ने जनशक्ति भने पलायन हुने क्रम बढ्दो छ ।’
बिर्ता जाने मोड : बिर्तामोड
पूर्वी नेपालमा विकासको तीव्रगति समातेको अर्को शहर हो झापाको बिर्तामोड । महेन्द्र राजमार्ग बनेपछि अस्तित्वमा आएको बिर्तामोडको इतिहास धेरै लामो छैन । राजमार्गबाट चन्द्रशमशेरको बिर्ता जाने मोडबाट यो ठाउँको नाम बिर्तामोड नामाङ्कन भएको थियो ।
‘बिर्ता बजार जान मोडिनुपर्ने, भद्रपुर र चन्द्रगढी जाँदा पनि मोडिनुपर्ने भएकाले यसको नाम बिर्तामोड भयो’ बिर्तामोडको विकासक्रमलाई नजिकबाट हेरेका नागरिक अगुवा हर्कलाल गिरी भन्छन्, ‘सुरक्षा र सहजताको हिसाबले यहाँ मान्छेहरू बसाइँ सरेर आए ।’
२०२७ सालदेखि गिरीको बसोबास बिर्तामोडमा छ । महेन्द्र राजमार्ग बनेपछि बिर्तामोडको जनघनत्व बढ्दो क्रममा रहेको उनी बताउँछन् । उनका अनुसार, माओवादी आन्दोलनका बेला बिर्तामोड बसाइँ सरेर आउने धेरै थिए ।
‘तुलनात्मक रूपमा सुरक्षित, भारतको बंगाल र बिहार १७–१८ किलोमिटरको दूरीमा छ, त्यसबेला सुरक्षा खोज्दै यहाँ धेरै बसाइँ सरे’ उनी भन्छन्, ‘भौगोलिक हिसाबले पनि सुरक्षित थियो, बाढीपहिरो र डुबानको जोखिम छैन ।’
तत्कालीन अनारमनी गाउँ पञ्चायतमा पर्ने बिर्तामोडका आदिवासी थारू, धिमाल र राजवंशी हुन् । राजमार्ग विस्तार भएपछि अहिले सबै समुदाय यहाँ बसेका छन् । पूर्वाधारको विकास भएपछि पूर्वी पहाड हुँदै भारतको आसाम र सिक्किमबाट पनि नेपालीहरू बसाइँ सरेर बिर्तामोड आएको उनले देखेका छन् ।
२०७८ सालको जनगणना अनुसार बिर्तामोडको घरधुरी संख्या २९ हजार ८५२ छ । अघिल्लो जनगणनाको तुलनामा यो संख्या १० हजारले बढी हो । २०६८ सालको जनगणनामा बिर्तामोडमा घरपरिवार संख्या १९ हजार ११८ थियो ।
‘बिर्तामोडको उद्भव र विकास’ पुस्तकका लेखक पत्रकार तीर्थ सिग्देलका अनुसार अहिलेको बिर्तामोडको मुख्य बजार भन्दा दक्षिणतर्फ बिर्ता बजार छ। चन्द्रशमशेरको अनारमनी बिर्ताको नामबाट बनेको बिर्ता बजार बिर्तामोडको पुरानो बजार हो ।
बिर्ता बजारमा अहिले बिर्तामोड नगरपालिकाको प्रशासनिक भवन छ । पहिले प्रहरी चौकी, मालअड्डा, कचहरी र भूमिसुधार कार्यालय पनि थियो । विकसित बिर्तामोडको मुक्ति चोकबाट बिर्ताबजार करिब ३ किलोमिटर दक्षिणमा पर्छ ।
२०७१ सालमा तत्कालीन अनारमनी, चारपाने र गरामनी गाविसलाई जोडेर बिर्तामोड नगरपालिका घोषणा गरिएको थियो । त्यसअघि भने अनारमनी गाउँपञ्चायतको एउटा बजार थियो बिर्तामोड । बिर्तामोडको शहरीकरण बढ्दै गर्दा पुरानो बजार भद्रपुर, झापा, धुलाबारी गौरादह पछि परेका छन् ।
‘महेन्द्र राजमार्ग बनेपछि बिर्तामोडको शहरीकरण बढेको हो’ लेखक सिग्देल भन्छन्, ‘राजमार्ग बनेपछि बिर्ता बजारबाट उत्तरतर्फ तीव्रगतिमा विकास भयो, जिल्ला सदरमुकाम भद्रपुर पनि पछि पर्यो ।’
पूर्वी पहाडी जिल्लाको लाइफलाइनको रूपमा रहेको मेची राजमार्ग बनेपछि बिर्तामोड बसोबास र व्यापार झन् फस्टाएको छ । सदरमुकाम भद्रपुर र काँकडभिट्टा नाका नजिक भएका कारण तीव्र रूपमा शहरीकरण भएको बिर्तामोड शिक्षा र स्वास्थ्य केन्द्रको रूपमा विकास हुने क्रममा छ । बीएण्डसी मेडिकल कलेजले पनि बिर्तामोडको बजारलाई चलायमान बनाएको छ ।
मानवशास्त्री डिल्ली प्रसाईंका विचारमा मेची करिडोरसँग जोडिएको ताप्लेजुङ, पाँचथर र इलामका बासिन्दाको पहिलो रोजाइको गन्तव्य बिर्तामोड हो । ‘पूर्वी पहाडी जिल्लाबाट अध्ययन, व्यापार र रोजगारीका लागि बिर्तामोड आउने क्रम बढ्दो छ’ उनी भन्छन्, ‘मेची करिडोरका लागि बिर्तामोड पहिलो गन्तव्य हो ।’
उनका अनुसार राजमार्गसँग जोडिएका बजारको विस्तारले राजमार्ग भन्दा दक्षिण रहेका पुराना बजारको विकासक्रमलाई केही हदसम्म रोकेको छ । इटहरी, बिर्तामोडको विस्तारले विराटनगर, रंगेली, भद्रपुर, गौरीगञ्ज लगायत दक्षिण क्षेत्रको विकास सुस्त बनाएको छ ।
अहिलेको विकसित बिर्तामोडको सुरुवातकर्ता तत्कालीन बिर्तामाल अड्डाका हाकिम भूपालमानसिंह कार्की हुन्। विराटनगरका बासिन्दा कार्कीले करिब १४ वर्ष (१९९३–२००७) सम्म बिर्तामाल अड्डाको हाकिम भएर काम गरेका थिए । त्यसबेला उनी राज्यका लागि कर उठाउँथे ।
त्यहीबेला उनले चन्द्रशमशेरको बिर्तामा बस्ती बसाए र उनीहरूबाट कर संकलन गरे । जंगल फडानी गरेर काठ राज्यलाई दिने र जमिन फँडानीकर्ताले उपभोग गर्ने सिलसिला पनि त्यसबेला चलेको लेखक सिग्देल बताउँछन् । उनका भनाइमा, महेन्द्र राजमार्ग बनेपछि बिर्तामोडमा व्यापार बढ्न थाल्यो, पूर्वी पहाडी जिल्ला जोड्ने मेची राजमार्ग बनेपछि व्यापार र बसोबासको केन्द्र भयो ।
रित्तियो पहाडी बस्ती
राजमार्गसँग जोडिएका शहरी क्षेत्रमा जनघनत्व बढिरहँदा पहाडी क्षेत्र भने रितिने क्रममा छ । पहाडबाट खानेपानी, वन्यजन्तुको आतंक र सुविधाको खोजीमा मानिस बसाइँ सरिरहेका छन् । उदयपुरको ताप्ली गाउँपालिका–४ मा रहेको दुई वटा गाउँ थामखर्क र घुमनटार रित्तिने अवस्थामा पुगेका छन् ।
पानी अभावका कारणले यो गाउँबाट बसाइँसराइ बढ्दो रहेको स्थानीय शिक्षक रमेश पोखरेल बताउँछन् । उनका अनुसार, थामखर्कमा पहिला १५–२० घर थिए, अहिले त्यो टोलमा जम्मा पाँच घर छन् । गाउँ छाडेकाहरू तराईका जिल्लाहरूमा गएको उनको भनाइ छ ।
‘पहिले ९-१० घर थिए, अहिले त्यो ठाउँमा घारी छ’ उनी भन्छन्, ‘पानी अभावमा गत वर्ष एक घर बसाइँ सरे, अहिले एक घर मात्रै छन्।’ गाउँमा रहेकाहरू आधाघण्टा हिंडेर पानीको जोहो गर्छन्। ‘पानी नभएका कारण बस्तीहरू खाली भए, भएकाहरूले आधादेखि एक घण्टा हिंडेर पानी ल्याउनुपर्छ’ उनी भन्छन्, ‘धेरै दुःख छ ।’
थामखर्कमा टंकप्रसाद उप्रेती १० रोपनी क्षेत्रमा कागती खेती गरेर बसेका छन् । उनले पानीका लागि आधा घण्टा हिंड्नुपर्ने गुनासो गरे । १२ वर्षअघि झापाबाट कागती खेती गर्न त्यहाँ पुगेका उनी उत्पादित कागती तराईको बजार पठाउने गरेको बताउँछन्। ‘अहिले हामी पाँच घर छौं’ उनले अनलाइनखबरसँग भने, ‘पहिले १२–१३ घर थिए, खानेपानीको समस्याले यहाँबाट सरे ।’
पोखरेलका अनुसार, बसाइँसराइका कारण विद्यालयमा विद्यार्थी छैनन् । पोखरेलले पढाउने श्री आधारभूत विद्यालयमा कक्षा ८ सम्म पढाइ हुन्थ्यो, विद्यार्थी नभएका कारण अहिले कक्षा ५ सम्म मात्रै पढाइ हुन्छ । ‘शिक्षक दरबन्दीका आधारमा विद्यार्थी छैनन्’ उनी भन्छन्, ‘हाम्रो स्कुल १-८ सम्म चलेको थियो, अहिले १–५ मा झरेको छ, नियमित आउने विद्यार्थी २०–२२ जना मात्रै छन् ।’
ताप्ली गाउँपालिका अध्यक्ष ढुंगराज बिक खानेपानी समस्या समाधानका लागि पालिकाले प्रयास गरिरहेको बताउँछन्। संघीय सरकारको सहयोगमा घर-घरमा खानेपानीको धारो पुर्याउन योजना अघि बढिरहेको बताउँदै उनले पछिल्लो समय बसाइँसराइ नभएको बताए । २०७८ को जनगणना अनुसार उदयपुरको ताप्ली गाउँपालिकाको जनसंख्या १३ हजार ४४४ छ । घरधुरी संख्या २ हजार ८०० छ ।
यस्तै पाँचथरको साविक दुर्दिम्बा गाविस-९ को आचार्य गाउँ सिंगै तराई-मधेश बसाइँ सर्यो। खानेपानी समस्या र सहज सुविधाका लागि यो गाउँका सबै परिवार बसाइँ सरेका हुन् । गाउँमा ११ आचार्य परिवारको बसोबास थियो, उनीहरू सबै तराई-मधेश झरे ।
‘सहजताका लागि सबै तराई-मधेश झरिसक्नुभएको छ’ मोरङको मधुमल्ला बसाइँ सरेर आएका अनिश आचार्य भन्छन्, ‘सुरुमा हाम्रा हजुरबुबा तराई-मधेश झर्नुभएको रहेछ, त्यसपछि अरू पनि झर्यौं।’
अर्को उदाहरण छ भोजपुरको । यहाँको अरुण गाउँपालिका-४ को ओदाने गाउँ मध्यपहाडी लोकमार्गमा पर्छ। सडक सञ्जालसँग जोडिएको ओदाने गाउँको माटो मलिलो छ, धान बाहेक अन्य नगदेबाली पनि उत्पादन हुन्छ । तर अहिले यो गाउँ खाली छ, खेतबारी बाँझै छन् ।
ओदानेमा मात्रै केही वर्षअघिसम्म २८ घरपरिवारको बसोबास थियो । तीमध्ये अधिकांश ढकाल थिए । अहिले यो गाउँ नै रित्तिएको अरुण गाउँपालिका-४ का वडा अध्यक्ष जंगबहादुर राईले बताए । ‘पहिले बाक्लो गाउँ थियो, अहिले घरहरू चाहिं छन् तर मान्छे छैनन्’ उनले भने, ‘बसाइँसराइले गर्दा मान्छे रित्तिए ।’
उनका अनुसार ओदानेको माटोमा आलु, अकबरे, लसुन लगायतको खेती राम्रो हुन्छ । मकै खेतीका लागि भने बाँदर र अन्य जनावरले दुःख दिन्छन् । केही वर्षयता सबै बसाइँ सरेका कारण खेतबारी बाँझै छ। ओदाने गाउँदेखि बतासेसम्म थापा, सञ्जेल र ढकाल समुदायको बाक्लो बस्ती थिए । तीमध्ये अधिकांश बसाइँ सरेर गएको उनले बताए ।
पहाडी जिल्लामा सडक सञ्जाल पुगे पनि पहाडका बासिन्दा बसाइँ सरेर तराई-मधेश झरिरहेका छन्। मानवशास्त्री डिल्ली प्रसाईका भनाइमा, बसाइँसराइ अब सामाजिक प्रतिष्ठाको विषय भयो। ‘बसाइँसराइलाई सामाजिक प्रतिष्ठा र आर्थिक हैसियतसँग जोडेर हेरिन्छ’ उनले भने, ‘प्रतिष्ठा र सुविधाका लागि हिजो हिमालबाट पहाड, पहाडबाट तराई हुँदै शहर–बजारसम्म बसाइँसराइ भइरहेको छ ।’
Tere na te Echo RSS Plugin na CodeRevolution.
Mau manao api