४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निरन्तर नाम जोडिँदा दिक्क भइसकेको बताएका छन् । उनले आफूले प्रधानमन्त्री प्रचण्डका कारण नभई आफ्नै बलबुताको भरमा अघि बढ्दै आएकोसमेत जिकिर गरे ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले २०२७ सालमा एकैदिन अनेरास्ववियुको सदस्यता लिएर राजनीति सुरु गरेको बताए ।

‘अब प्रचण्डको दयाले मात्रै म भएको भनेर त मलाई जवाफ दिन पनि वाक्क लाग्न थालिसक्यो । यो कति दिनसम्म दिने, कहिलेसम्म दिने ?’ उनले भने, ‘मैले अहिलेसम्म जे जति गरेको छु, आफ्नै बलबुताले गरेको छु । अब पार्टीको नेता उहाँ हो । उहाँले स्वीकृत नगरी म मात्रै होइन, कसैले पनि कुनै जिम्मेवारी पाउँदैन ।’

अध्यक्ष दाहालले आफ्नो एक महिने कार्यकाल सुखद भएको दाबी गर्दै अब पनि नराम्रो काम नगर्ने प्रतिववद्धता व्यक्त गरे ।

Powered by the Echo RSS Plugin by CodeRevolution.