१८ वैशाख, काठमाडौं । अर्को महिना अमेरिका र वेष्ट इण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्ने देशहरुले आफ्नो अन्तिम १५ सदस्य टोली घोषणा गर्न थालेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भोलि बुधबारसम्म सहभागी सबै (२०) देशीलाई नाम टुङ्गो लगाउन निर्देशन दिएको छ ।

नेपालले भोलि बुधबार वेष्ट इण्डिज एसँग हुने तेस्रो खेलपछि विश्वकप खेल्ने अन्तिम टोली आईसीसीलाई पठाउने छ । वेष्टइण्डिज एसँग पाँच खेलको सिरिज खेल्ने टोलीमा २० खेलाडी छन् । उनीहरुमध्येबाट १५ जना छनोट हुने हो ।

तर नेपालबाट टी–२० विश्वकप खेल्ने १२ खेलाडी भने लगभग पक्कापक्की जस्तो छ । बाँकी ३ स्थानको लागि ८ खेलाडीबीच प्रतिस्पर्धा देखिएको छ । उनीहरुमध्ये को विश्वकप टोलीमा पर्छन् भन्ने चाहिँ खेलाडीको प्रदर्शनसँगै टोलीको आवश्यकता, पिच कन्डिसन, प्रशिक्षक र कप्तानको रणनीतिमा भरपर्ने छ ।

क–कसको स्थान सुरक्षित ?

ओपनर : कुशल भुर्तेल र आसिफ शेखलाई नेपालले पहिलो रोजाईको ओपनरमा खेलाउने पक्का छ । दुबैले २०२१ देखि पहिलो रोजाईमा खेल्दै आएका छन् । कुशलको भूमिका आक्रामक र आसिफको इनिङ विकास गर्ने हुनेछ ।

पछिल्ला केही खेलमा यो ओपनिङ जोडीको प्रदर्शन अपेक्षा अनुसार हुन सकेको छैन । त्यसमा पनि कुशलको प्रदर्शन विर्सनलायक छ । तर कप्तान र प्रशिक्षकले उनलाई निरन्तर मौका दिएका छन् । किनकी एकाध खेलमा राम्रो प्रदर्शन नगरेकै कारण बेञ्चमा राख्ने हो भने उनको मनोबल झनै कमजोर हुनसक्छ ।

साथै उनले लेगस्पिनमा विकेट लिँदै आएका छन् । सन्दीप लामिछाने नहुँदा विश्वकपमा लेग स्पिनरको भूमिका पनि निर्वाह गर्नसक्ने भएकाले नेपालले भुर्तेलको विकल्प खोज्ने छैन । आसिफ विकेट किपरको भूमिकामा पनि भएकाले टी–२० विश्वकप जस्तो महत्वपूर्ण प्रतियोगितामा दुबैको उपस्थिति पक्का छ ।

रोहित पौडेल

कप्तानलाई नै बाहिर राखेर विश्वकप टोली घोषणा गर्ने कुरै भएन । त्यसैले रोहितकुमार पौडेल विश्वकप टोलीमा पर्छन् नै । तेस्रो नम्बरमा खेल्ने उनको भूमिका ठूलो इनिङसँगै कप्तानी प्रदर्शन हुनेछ ।

रोहितले वेष्ट इण्डिजलाई पहिलो खेलमा ४ विकेटले हराउन ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेलेका थिए । दोस्रो खेलमा ७१ रन बनाएपनि जिताउन सकेका थिएनन् । एसीसी प्रिमियर कपको प्रदर्शनले उनी केही आलोचित बनेका थिए, तर वेष्ट इण्डिज एसँगको प्रदर्शनबाट उनले जवाफ लिइसकेका छन् ।

मध्यक्रम र फिनिसर

मध्यक्रम र फिनिसरमा कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुल्शन झा खेल्दै आएका छन् । उनीहरुले टोलीको आवश्यकता अनुसार तलमाथि ब्याटिङ क्रममा खेल्दै आएका छन् ।

दीपेन्द्र नेपालका प्रमुख हतियार हुन् । उनको भूमिका आक्रामक ब्याटिङ हुनेछ । दुई साताअघि कतारविरुद्ध एकै ओभरमा ६ छक्का र गत सेप्टेम्बरमा मंगोलियाविरुद्ध ९ बलमै कहिल्यै नतोडिने विश्व कीर्तिमान बनाएका दीपेन्द्रमाथि विश्वभरका टोली र फ्रेन्चाइजको नजर हुनेछ । बलिङ र फिल्डिङ पनि त्यति नै उत्कृष्ट छ ।

कुशल मल्ल र गुल्शन झा हिटरको रुपमा खेल्ने छन् । बायाँ हाते बलर भएको टोलीविरुद्ध दुबैले माथिल्लो क्रममा आएर खेल्न सक्छन् ।

सन्दीप जोरालाई टिममा राख्ने नराख्नेबारे कप्तान र प्रशिक्षकले थोरै सोच्न सक्थे । तर एसीसी प्रिमियर कप र हङकङ भ्रमणमा गरेको प्रदर्शनले अन्तिम १५ मा स्थान पक्का नै देखिन्छ ।

तीव्र गतिका बलर

तीव्र गतिका बलर सोमपाल कामी र करण केसी पहिलो रोजाइका बलर हुन् । नयाँ बलका साथ दुबैले सुरुवात गर्नेछन् । करणले डेथ ओभरमा पनि राम्रो गर्ने क्षमता राख्छन् ।

सोमपालको डेथ ओभरमा राम्रो इतिहास छैन । डेथ ओभर स्पेशलिष्टको रुपमा अभिनाश बोहरा जानेछन् । एक महिनाअघि खराब प्रदर्शनका कारण अभिनाशको स्थान केही कठिन देखिएको थियो । तर प्रिमियर कपसँगै वेष्ट इण्डिज एविरुद्ध राम्रो प्रदर्शन गरे । वेष्ट इण्डिज ए विरुद्ध लगातार योर्करमा राम्रो गरे ।

बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी पनि विश्वकप टोलीमा पर्ने पक्का नै देखिन्छ । अर्को बायाँ हाते बलर अन्तिम २० मा छैनन् । पछिल्लो डेढ वर्षदेखि मोन्टी देशाईले उनलाई अन्तिम १५ सदस्य टोलीमा नियमित राखेका छन् ।

करण केसीको विकल्पका रुपमा डेढ वर्षदेखि टोलीमा राखेका उनलाई विश्वकपमा मात्रै बाहिर गर्ने सम्भावना देखिँदैन । मौका पाएको खेलमा मध्यम प्रदर्शन पनि गर्दै आएका छन् । दुई महिनाअघि नेपालमा भएको त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्ससँग ३ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए ।

स्पिनर

ललितनारायण राजंवशी नेपालको पहिलो रोजाइका स्पिनर हुन् । उनी टोलीका साथ जाने पक्का छ ।

दोस्रो स्पिनरमा दीपेन्द्र हुनेछन् । कुशल मल्ल र कुशल भुर्तेल पार्टटाइम स्पिनर हुनेछन् ।

यसरी हेर्दा विश्वकप खेल्ने नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी र ललित राजवंशी पक्का जस्तै छ ।

३ स्थानका लागि ८ खेलाडीको प्रतिस्पर्धा

ब्याकअप ओपनर : ब्याकअप ओपनरका रुपमा अनिलकुमार शाह र लोकेश बममध्ये एक जना विश्वकप खेल्न जाने सम्भावना छ ।

अघिल्लो महिना क्यानडासँगको सिरिजमा राम्रो प्रदर्शनपछि अनिल टोलीमा रहँदै आएका छन् ।

ओपनिङसँगै तेस्रो नम्बरमा खेल्न सक्ने अनिल एसीसी प्रिमियर कपमा टोलीमा रहेपनि खेल खेल्न पाएका थिएनन् । कुशल भुर्तेल लगातार दोस्रो खेलमा शून्यमा आउट हुँदा पनि अनिलले मौका पाएका थिएनन् । तर वेष्ट इण्डिज एविरुद्ध सुरुवाती दुबै खेलमा मौका पाए । त्यसलाई उनले सदुपयोग गरेको भने देखिँदैन । पहिलो खेलमा ५ रन बनाएका उनी दोस्रोमा १ रनमा आउट भए ।

आयरल्यान्ड एविरुद्ध नेपाल ए बाट राम्रो प्रदर्शन गरेका लोकेश पनि टोलीमा आएका छन् । उनले आयरल्यान्ड एविरुद्ध पहिलो खेलमा ५६ बलमा ९ चौका र ८ छक्कासहित १०६ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

वेष्ट इण्डिज ए विरुद्ध दोस्रो टी–२० मा अवसर पाएका उनले जगबको कन्फिडेन्स देखाएका थिए । म्याथ्यु फर्डलाई स्टेटमा दुई शानदार छक्का हान्दै आक्रामक क्रिकेट खेलेका उनी मांशपेशीमा चोट लागेका कारण रिटार्यड हट भएका थिए ।

उपचारपछि फर्किएका उनले आफ्नो पुरानो मोमेन्टमलाई भने निरन्तरता दिन सकेनन् र १७ रनमा आउट भए । यद्यपि उनले देखाएको कन्फिडेन्सले टोलीको बढी मन जिते, खेलपछि प्रशिक्षक मोन्टीले तारिफ गरे ।

लोकेश ओकपनिङ, मध्यक्रम र फिनिसर तीनै स्थानमा नेपालबाट खेलिसकेका छन् । लोकेश वेष्ट इण्डिज ए विरुद्ध सिरिज खेल्ने सुरुमा बनाइएको अन्तिम १६ मा थिएनन् । अन्तिम समयमा चार जना थपिँदा उनी पनि अटाएकाले विश्वकपमा ब्याकअपका रुपमा हेरेको अनुमान गर्न सकिन्छ ।

विनोद भण्डारी : सन् २००९ देखि नेपालको सिरियर टिममा रहँदै आएका विनोद भण्डारी विश्वकप छनोटमा टोलीमा थिए । विकेट किपरका साथै फिनिसर उनको भूमिका हो । तर उनी फिनिसरको भूमिकामा खरोसँग उत्रन नसकेको धेरै भइसक्यो ।

त्यही कारण सिरियर टिमबाट बाहिर रहेका उनले राष्ट्रिय प्रतियोगिता प्रधानमन्त्री कपमा कमक्याक गरे । उनलाई नेपाल एको कप्तानको जिम्मेवारी दिइएको छ । तर नेपाल एमा उनले आफ्नो प्रदर्शनलाई निरन्तरता दिन सकेका छैनन् । त्यही कारण हुनसक्छ वेष्टइण्डिज एविरुद्ध खेल्ने टोलीमा थिएनन् ।

अन्तिम समयमा टिममा थपिएका उनलाई बुधबार मौका दिने सम्भावना देखिन्छ ।

२०१४ को विश्वकप टोलीमा भएको अनुभवी विनोदको किपिङ पनि राम्रा भएकाले ब्याकअपका रुपमा अन्तिम १५ मा स्थान बनाउन सम्भावना कायमै छ । तर त्यसका लागि उनले भोलि अवसर पाए अद्भूत प्रदर्शन गर्न सक्नुपर्छ, सामान्य प्रदर्शन पर्याप्त हुने छैन ।

आरिफ शेख : आरिफ शेखलाई ब्याटिङ अलराउन्डरका रुपमा विश्वकप टोलीमा लैजाने झिनो सम्भावना छ ।

विदेशी भूमिमा नेपालको ब्याटिङ कमजोरीको रुपमा रहँदै आएको छ । साथै तीव्र गति र स्पिन बलिङमा धेरै विकल्प रहेकाले ब्याटिङ विकल्पका रुपमा आरिफलाई विश्वकप टिममा राख्नबारे प्रशिक्षक र कप्तानले सोच्न पनि सक्छन् ।

तर उनको टी–२० को स्ट्राइक रेटमा प्रश्न उठ्दै आएको छ । वेष्ट इण्डिज एविरुद्ध दोस्रो खेलमा अवसर पाएका उनले १६ बलमा १२ रन बनाएका थिए ।

सागर ढकाल : नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका बायाँ हाते स्पिनर सागर ढकाल सिनियर टोलीमा नियमित स्थान बनाउन सकेका छैनन् ।

वेष्ट इण्डिज एविरुद्ध खेल्ने सुरुवाती टोलीमा पनि उनी थिएनन् । तर अन्तिम समयमा चार खेलाडी थपिँदा टोलीमा परे । वेष्ट इण्डिज ए विरुद्ध दोस्रो खेलमा मौका पाएका उनले दुई विकेट लिँदै विश्वकप टिममा बलियो दाबेदारी प्रस्तुत गरे ।

सागरले तेस्रो ओभरमा सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जित्दाका ओपनर जोनसन चार्ल्सलाई ११ रनमा बोल्ड गरको थिए भने युवा ब्याटर एलिक एथानाजेलाई ६ रनमा क्याच गराउँदै नेपाललाई हाबी बनाएका थिए ।

नेपालसँग प्रमुख स्पिनरको रुपमा ललित छन् । अर्कोतर्फ इंग्ल्यान्ड, भारत र दक्षिण अफ्रिकाले घोषणा गरेको टोलीमा स्पिनरलाई प्राथमिकता दिएका छन् । तर कुशल भुर्तेल, दीपेन्द्र र कुशल मल्ल पार्टटाइममा हुँदा केही कठिन पर्न पनि सक्छ ।

कमल कि आकाश ?

तीव्र गतिका बलर कमलसिंह ऐरी अन्तिम समयमा वेष्ट इण्डिज ए विरुद्धको टी-२० टोलीमा थपिएका बलर हुन् ।

चोटका कारण मैदान बाहिर रहेका उनले अघिल्लो महिना मात्रै क्रिकेटमा पूनरागमन गरेका थिए । आयरल्यान्ड ए विरुद्ध राम्रो प्रदर्शन गरेकै कारण उनी अन्तिम समयमा टोलीमा थपिएका हुन् । वेष्ट इण्डिज ए विरुद्ध पहिलो खेलमै मौका पनि पाए ।

उनले ३ ओभरमा ५३ रन खर्चेर १ विकेट लिए । उनले जोनसन चार्ल्सलाई बोल्ड गरेका थिए । तर धेरै रन खाएका कारण उनले दोस्रो खेलमा अवसर पाएका छैनन् ।

त्यो खेलमा अर्का तीव्र गतिका बलर आकाश चन्दले मौका पाए । गत जनवरीमा यू–१९ विश्वकपमा अफगानिस्तानविरुद्ध ५ विकेट लिएपछि उनी सिनियर टोलीमा आए ।

हङकङ भ्रमणमा ३, १ र ३ विकेट लिएका उनी एसीसी प्रिमियर कपका टोलीमा नपरेपनि ओमान गएका थिए । वेष्ट इण्डिज एविरुद्ध खेल्ने टोलीमा पनि गरेका थिए । पछिल्लो समय प्रशिक्षक मोन्टीले आकाशमाथि विश्वास देखाएका छन् ।

तर नेपालको टोलीमा सोमपाल, करण, अभिनाश र प्रतिशको स्थान पक्का जस्तै छ । पार्टटाइममा गुल्शन झा पनि छन् । प्रतिश बेन्चमै हुने भएकाले कमल र आकाशमध्ये एकलाई मात्र नेपालले स्थान दिनसक्छ । यसका लागि बुधबार हुने खेलमा कसले अवसर पाउँछ र कस्तो प्रदर्शन गर्छ भन्ने हेनुपर्छ ।

विवेक यादव : विवेक यादव पछिल्लो समय नियमित टोलीमा छन् । अलराउन्डर उनी फिनिसरको भूमिकामा हुन् ।

तर नेपालबाट ११ टी–२० आईमा खेलेका उनले ९ खेलमा दोहोरो अंकमा रन बनाउन सकेका छैनन् ।

गत नोभेम्बरमा ओमानविरुद्ध अन्तिम ओभरमा बिलाल खानलाई उनले तीन छक्का हानेका थिए । नेपालको जर्सीमा त्यही नै उनको सम्झन लायक प्रदर्शन हो । वेष्ट इण्डिज ए विरुद्ध पहिलो खेलमा अवसरका पाएका उनी ७ रनमा आउट भएका थिए । ६ बल खेल्दा ओबेद म्याककोयको बलमा बोल्ड हुन पुगे ।

Powered by the Echo RSS Plugin by CodeRevolution.