२० वैशाख, काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकाले गत पुसमा लिएको कक्षा ८ को परीक्षाबाट शत प्रतिशत विद्यार्थी माथिल्लो कक्षामा गएका छन् । चार वटा विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने ६५ जनामध्ये ५८ जना परीक्षामा सहभागी भएका थिए ।

उनीहरु सबै ९ कक्षामा अपग्रेड भएका पालिकाको शिक्षा शाखाले जनाएको छ । पालिकाका शिक्षा अधिकृत मनराज बुढाका अनुसार अपग्रेड भएकामध्ये दुई जनाले गणित र विज्ञानमा १/२ अंक कम ल्याएका थिए । उनीहरुलाई ग्रेस मार्क्स दिएर अपग्रेड गरिएको हो ।

हुम्लाको नाम्खा र सिमकोट गाउँपालिकाले शैक्षिक सत्र २०८० देखि फागुनबाट नयाँ शैक्षिक सत्र सुरु गरेर मंसिर अन्तिममा सक्ने गरी विद्यालय सञ्चालन गरिरहेका छन् । सोही अनुसार पालिकाले आधारभूत तहको परीक्षा पनि पुसमा नै लिएको थियो ।

शिक्षक र विद्यार्थी मिहिनेती भएकाले विद्यालयको नतिजा राम्रो आएको बुढाले दाबी गरे । ‘हाम्रो शिक्षक विद्यार्थी दुवै मिहिनेती भएकोले नतिजा राम्रो आएको हो’, बुढाले भने ।

कम विद्यार्थी हुनाले शिक्षकले प्रत्येक विद्यार्थीलाई ध्यान दिन सक्ने भएकाले सिकाइको गुणस्तर राम्रो भएको उनको भनाइ छ ।

हुम्लाका विद्यालयमा दरबन्दी अनुसार शिक्षक नभएकाले धेरै वर्षदेखि विभिन्न दातृ संघसंस्थाले राखेका शिक्षकले पढाउँदै आएका छन् । ती संस्थाहरुले राखेका शिक्षकहरुको मूल्यांकन आफैं गर्ने भएकाले शिक्षकहरु जवाफदेही भएका शिक्षा अधिकृत बुढाको भनाइ छ ।

नाम्खामा दातृ संस्थाहरुको सहयोगमा वडा नं ४ को महावौद्ध मावि र नाम्खा गाउँपालिका–२ को तातोपानी आधारभूत विद्यालयमा आवासीय सुविधा छ । गाउँपालिकाको एकमात्र मावि महावौद्धमा ३३१ र तातोपानी आविमा ७२ विद्यार्थी छन् ।

नाम्खा गाउँपालिका–६ लिमीस्थित सुनखानी आधारभूत विद्यालयमा यसै शैक्षिक सत्रदेखि आवासीय बनाइएको छ ।

भौगोलिक विकटताका कारण विद्यालय टाढा हुँदा आर्थिक अवस्था राम्रो भएकाहरुले छोराछोरी काठमाडौंमा पढाउने र कमजोरहरुले पढाइ छाड्नुपर्ने बाध्यता थियो । आवासीय विद्यालयले एक हदसम्म त्यसलाई कम गर्ने शिक्षा अधिकृत बुढाले बताए ।

यहाँका विद्यालयमा पहिले शैक्षिक सत्रको अन्त्यतिर मात्र पाठ्यपुस्तक पुग्ने गर्थे । पछिल्लो समय भने कच्ची सडकको सुविधा रहेकोले धेरै सहज बनेको छ । फागुनमा सुरु हुने शैक्षिक सत्रको लागि केही दिन अघि मात्रै हिल्साको बाटो हुँदै पुस्तक पुगेको पालिकाले जनाएको छ ।

नाम्खा गाउँपालिकाको मात्रै नभएर समग्र हुम्लाकै नतिजा सुधार हुँदै गइरहेको शिक्षा विकास तथा समन्वय इकाइ, हुम्लाका पूर्व इकाइ प्रमुख भीमराज कार्की बताउँछन् ।

‘हिमाली जिल्लाको विकट पालिका भएकोले शिक्षण सिकाई पनि के होला र भन्ने होला तर पठनपाठन मध्यमस्तरको छ । त्यहाँको भौगोलिक अवस्था हेर्दा यसलाई राम्रो भन्न सकिन्छ’, उनले भने ।

हुम्ला जिल्लाभर १४७ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेको छ । नाम्खाको शैक्षिक गुणस्तर सन्तोषजनक देखिनुको कारणबारे उनी भन्छन् ‘त्यहाँ अधिकांश शिक्षकहरु बाहिरको हुनुहुन्छ, घरभन्दा टाढा रहेकाले शिक्षकहरु बढी समय विद्यालयमा अथवा बालबालिकासँगै हुने भएकोले पनि राम्रो भएको भन्ने लाग्छ ।’

हुम्लाको शिक्षण सिकाइ देखेर एसईईको परीक्षा अनुगमनमा गएका परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) निरीक्षकहरुले सन्तोष व्यक्त गरेका थिए ।

प्रविधिका कारण पठनपाठनमा सहज बनाएको र विस्तारै सर्वसाधारणको चेतनास्तर बढ्दै गइरहेकोले त्यहाँको शैक्षिक गुणस्तर पनि सुधार हुँदै गइरहेको उनको तर्क छ ।

Aangedryf deur die Echo RSS-inprop deur KodeRevolusie.