सामाजिक सञ्जाल विच्याटमा जोडिएका छौं चीनको उहानका झेङ जिङची र म । एक वर्षअघि नेपाल-चीन हिमालयन फ्रेन्डसिप सोसाइटीका महासचिवको समन्वयमा उहानमा भएको एउटा सेमिनारमा पुग्दा कार्यक्रम स्थल युच्याङ डिस्ट्रिकको लुज्यास्यान स्ट्रिटमा रहेको मार्सल प्यालेस (सुईफिउ) होटलका म्यानेजर झेङ जिङचीसँग चिनजान भएको हो ।

एक दिन विच्याटमा उनीसँग नेपाल र चीनका केही प्रसंगहरूमा गफिदै थिएँ । पुस्तकालयको प्रसंग निस्कियो । मैले भनें- नेपालमा ३०/३५ वर्ष अघिसम्म पुस्तकालय निकै लोकप्रिय थियो, तर अहिले यो क्रमशः घट्दै गएको छ । स्मार्ट फोन र बढ्दो सामाजिक सञ्जालको क्रेजले पुस्तकालय छिर्ने र केही घण्टा एकाग्रतासहित अध्ययन गर्ने बानी छुटेको छ ।

झेङ जिङचीले आश्चर्य माने । स्मार्ट फोन र सामाजिक सञ्जालको क्रेज त चीनमा पनि कम छैन, هو قال- तर यहाँ पुस्तकालयको लोकप्रियता त्योभन्दा बढी छ ।

चीनका धेरै नागरिक अहिले पनि अध्ययनको लागि पुस्तकालय जाने कुरा सुन्दा म चकित भएँ । झेङ जिङचीले भने- चीनमा पुस्तकालय विद्यालयहरूमा मात्र सीमित छैन, सब-वे स्टेशन, समुदाय र धेरै सार्वजनिक स्थानहरूमा सुविधासम्पन्न पुस्तकालयहरू छन् ।

मैले दोलखा सम्झिएँ, मेरो जन्मस्थल चरिकोट सम्झिएँ । चरिकोटमा पशुपति डाँडा (पशुपति चोक) छ । २०४६ सालको जनआन्दोलनपछि मुलुकमा प्रजातन्त्र आयो । अनि खुल्यो पशुपति डाँडामा पुस्तकालय । सुरु-सुरुमा रौस लाग्थ्यो पुस्तकालय गएर पढ्ने । पशुपति डाँडामा रहेको पुस्तकालयमा पुगेर घण्टौं पुस्तकहरू पढ्ने गर्थें । पढ्न अल्छी लाग्यो भने सँगैको लालीगुँरास क्लबमा पसेर चेस र लुँडो खेलिन्थ्यो । अनि फेरि पुस्तकालय छिरिहाल्ने ।

अहिलेको पत्रकारिता तथ्याङ्क बाहिर जाँदैछ । त्यसको केही कारण छन् । अध्ययनको कमी, स्थलगत रिपोर्टिङमा उदासीनता, सहकार्य संस्कृतिको अभाव आदि कारणहरूको क्रमसंख्या हो

अब त घरमा भएकै पुस्तक पढ्न समेत फुर्सद निकाल्न सकिंदैन, पुस्तकालय कसरी धाउनु !

पत्रकारिता पेसाबाट फुर्सद मिल्यो कि स्मार्ट मोबाइलमा व्यस्त । यो मेरो मात्र समस्या हैन, आम नेपालीको समस्या बनेको छ । सुविधासम्पन्न र विगतका लोकप्रिय पुस्तकालयहरू पनि अहिले खाली–खाली हुने गरेका छन् । पुस्तकालयमा सुविधा थपिएका छन्, पुस्तक थपिएका छन् । तर पाठकको रूपमा अध्ययन गर्ने मानिस दुई हातका एक/दुई औंला भाँच्ने जति पनि हुँदैनन् ।

चरिकोटमा रहेको गौरीशङ्कर सामुदायिक पुस्तकालयले अहिले पुस्तक अध्ययनको वातावरणसँगै विशेषगरी समुदायका महिलाहरूलाई विभिन्न सीपमूलक तालिम दिन थालेको छ । गौरीशङ्कर सामुदायिक पुस्तकालयलाई भवन निर्माण, सीपमूलक तालिम र विपद्मा परेका समुदायलाई सहयोग गर्न रिड नेपाल, एएसवी जर्मन, भीमेश्वर नगरपालिका लगायतले सहकार्य गरेका छन् ।

मैले अनुमान लगाएँ, पुस्तक पढ्ने मानिस घट्न थालेपछि समुदायमा पुस्तकालयको प्रचार गर्ने गौरीशङ्कर सामुदायिक पुस्तकालयको यो नयाँ शैली हुनुपर्छ । गौरीशङ्कर सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्णबहादुर बस्नेत मेरो अनुमानमा धेरै हदसम्म सहमत छन् । उनले भने- पुस्तकालयले सीपमूलक तालिम दिन थालेपछि समुदायमा यसको प्रचार विस्तार भएको छ ।

पुस्तकालयले सीपमूलक तालिमसँगै विपद्मा परेका समुदायका मानिसलाई राहत प्याकेज समेत दिंदै आएको बस्नेतले सुनाए । बस्नेतको विश्लेषणमा पुस्तकालय शिक्षाको मात्र हैन सीप र सहकार्यको पनि अभिभावक हो ।

नेपालमा औपचारिक रूपमा पुस्तकालयको सुरुवात विक्रम संवत् १८६९ मा भएको तथ्याङ्क पाइन्छ । गीर्वाणयुद्ध वीरविक्रम शाहको समयमा विक्रम संवत् १८६९ भदौ १५ गते ‘पुस्तक चिताई तहविल’ नामबाट नेपालमा पहिलो पटक औपचारिक रूपमा पुस्तकालय स्थापना भएको मानिन्छ । दुई सय वर्ष भन्दा पुरानो पुस्तकालयको इतिहास भएर पनि अहिले यसको पहिचान र प्रचारको लागि सीप र सहकार्यको अभियान आवश्यक भएको छ ।

समयको रफ्तार हेर्दा पुस्तकालयको विविधता आवश्यक र अनुकरणीय नै छ । तर, सँगै पुस्तकालयको पहिचान धुमिल हुने त्रास पनि बढ्दै गएको छ ।

म एकोहोरिएको छु । अन्तरमनको स्पन्दनले पुस्तकालयको ढुकढुकी तरङ्गित गरिरहेको छ । पत्रकारितामा पुस्तकालयको साइनो केलाउने हतारो छ मेरो ढुकढुकीका प्रत्येक उच्छवासहरूलाई । साँच्चै पत्रकारिता र पुस्तकालय बीच चाहिं केही साइनो होला कि नहोला ? ज्ञानको भण्डार पुस्तकालय र सन्देशको सहजकर्ता पत्रकारको परिपूरकता खोजीको विषय हुनुपर्छ कि पर्दैन होला ? प्रश्नका भेलहरू मस्तिष्कका साना–ठूला नदीहरूमा अटेस–मटेस गर्दै उर्लिरहेका छन् ।

दोलखा सदरमुकाम चरिकोटको चोकैमा हिमाल खबरपत्रिकाका पूर्व पत्रकार रामजी दाहालसँग भेट भयो । सुरेल जातिको विषयमा केही तथ्य/तथ्याङ्क खोज्न उनी दोलखा आएका थिए । एकैछिनको भलाकुसारीमा हामीले समाजको विविधता र पत्रकारको भूमिकाको विषयमा छलफल गर्‍यौं ।

पत्रकारिता र पुस्तकालयसँग रुमल्लिएको मेरो मस्तिष्कभित्रको द्वन्द्व भावनाका छिद्रहरू पहिल्याउँदै जिज्ञासु भावमा दाहालसमक्ष प्रस्तुत भए । उनले भने– विगतमा नेपालका भेट्रान पत्रकारहरू पुस्तकालय छिरेर कफीको चुस्कीसँग विचारका अभिलेखहरू अध्ययन गर्थे । त्यसैले त्यो बेलाको लेखन तथ्य सहितको दस्तावेज बन्ने गर्थ्यो । अब यो ट्रेन अलपत्र परेको छ, पुस्तकालय छिर्ने र त्यहाँ घण्टौं बिताएर अध्ययन गर्ने समय कसैसँग छैन- उनको चिन्ता छ ।

हामी कहिले रिपोर्टिङमा गम्भीर हुन्छौं होला ? अध्ययनको लागि पुस्तकालय छिर्ने बानी कहिलेदेखि बस्छ होला ? म आफू पत्रकार भएकोले आफैंलाई प्रश्न गरिरहेको छु

पत्रकारिता र पुस्तकालयको सम्बन्ध केलाउने क्रममा मैले मेरा गुरु प्रा. चिरञ्जीवी खनालसँग छलफल गरेको थिएँ । त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका पूर्वप्रमुख प्रा. खनालले पत्रकारिता र पुस्तकालयको अन्तरसम्बन्धको विषयलाई मिहिन ढङ्गले विश्लेषण गरेका छन् । पत्रकारिताको लागि एउटा प्रमुख अङ्ग र मुख्य स्रोत हो पुस्तकालय-प्रा. खनालले भनेका छन् ।

पत्रकारिताको लागि चेतनाका तख्ताहरू पहिल्याउँदै सूचना सङ्कलन गर्नु आवश्यक हुन्छ । चेतनाका त्यही तख्ताहरू मध्येको हो पुस्तकालय- प्रा. खनालको भनाइ छ ।

विगतमा पत्रकारहरू पुस्तकालय धाउने विषय सूचना सङ्कलनको नियमितताभित्रकै अङ्ग थियो, अहिले यो क्रम केही खुकुलो र सूचनाका स्रोतहरू हलुङ्गो बन्दै गएको प्रा. खनालको विश्लेषण छ ।

नेपालमा पुस्तकालयको स्थापना भएको झन्डै एक सय वर्ष पछि पत्रकारिताको सुरुवात भएको हो । नेपालमा पहिलो पटक विक्रम संवत् १९५५ साउनमा ‘सुधा सागर’ नामको पत्रिका प्रकाशन भएको थियो । व्यावसायिक र संस्थागत रूपमा विक्रम संवत् १९५८ वैशाख २४ मा ‘गोरखापत्र’को प्रकाशन सुरु भयो ।

पुस्तकालय र पत्रकारिताको सुरुवाती इतिहास हेर्दा प्रा. खनालको विश्लेषण जस्तै चेतनाका तख्ताहरूकै समस्त दस्तावेजको मूर्तता पत्रकारिता हो भन्न सकिन्छ । त्यसैले पनि पत्रकारिता र पुस्तकालयको सम्बन्धको सुमधुरता र पत्रकारको पुस्तकालय प्रवेशको अपरिहार्यतालाई सूचनाको स्तरीयतासँग जोड्न सकिन्छ ।

अहिलेको पत्रकारिता तथ्याङ्क बाहिर जाँदैछ । त्यसको केही कारण छन् । अध्ययनको कमी, स्थलगत रिपोर्टिङमा उदासीनता, सहकार्य संस्कृतिको अभाव आदि कारणहरूको क्रमसंख्या हो । विगतमा पत्रकारहरू प्रत्येक इस्युमा गहन छलफल र बहस गर्थे, त्यतिबेला सहकार्य संस्कृति थियो । रिपोर्टिङको लागि स्थलगत रूपमा गाउँ–बस्तीहरूमा पुग्ने गर्थे । अनि घरमा होस् वा पुस्तकालयमा नै पुगेर किन नहोस् सबै विषयका पुस्तकहरू अध्ययन गर्थे र तथ्य–तथ्याङ्क सहितको समाचार, फिचर आउने गर्थ्यो ।

उहानका झेङ जिङचीले सुनाए-चीनको पत्रकारिता विश्वसनीय हुन्छ, किनभने हरेक रिपोर्टमा तथ्य–तथ्याङ्क पाउन सकिन्छ । उनले भने-चीनमा पत्रकारहरूको लागि पुस्तकालय अनिवार्य जस्तै छ । फुर्सदको समय हरेक पत्रकारहरू समुदाय वा सार्वजनिक स्थानमा रहेका पुस्तकालयमा छिरेर घण्टौं बिताउने गर्छन् । अर्थात् चिनियाँ पत्रकारहरू अध्ययनलाई धेरै समय खर्चन्छन् र उनीहरूको हरेक रिपोर्ट तथ्यपरक हुन्छ- झेङ जिङचीको निचोड छ ।

झेङ जिङचीको निचोड प्रा. चिरञ्जीवी खनालको भनाइसँग मेल खान्छ । पुस्तकालय पत्रकारहरूको मुख्य स्रोतहरूमध्येको हो ।

तर हामी कहिले रिपोर्टिङमा गम्भीर हुन्छौं होला ? अध्ययनको लागि पुस्तकालय छिर्ने बानी कहिलेदेखि बस्छ होला ? म आफू पत्रकार भएकोले आफैंलाई प्रश्न गरिरहेको छु । तर जवाफको लागि मसँग तिथिमिति सहितको प्रतिबद्धता छैन । किनभने म पुस्तकालयलाई समाचारको स्रोत मान्न तयार नै छैन । मेरो स्रोत त अहिले सामाजिक सञ्जाल मात्र भएको छ । सामाजिक सञ्जालमा आएका विषयलाई क्रसचेक नगरी समाचार बनाउन मलाई हतारो भइहाल्छ ।

त्यो हतारो बीच मैले बनाएको समाचारले पाठकलाई हुने धोका वा मेरो समाचारमा प्रस्तुत विषयसँग सम्बन्धित पात्रलाई पार्ने पीडा तथा समस्याको मैले कुनै ख्याल नै राखेको हुन्न । किनभने म अहिले पत्रकारको रूपमा एकाकी बन्दै गएको छु । मेरो स्रोत पुस्तक हुँदैनन्, स्थलगत भेटघाट छैन, सहकर्मीसँग सहकार्य छैन ।

मेरो एउटा जिज्ञासा छ-पत्रकारलाई पुस्तकालयसम्म डोर्‍याउन कुनै चटकी उपाय पो हुन्छ कि ? ! नत्र चेतनाको तख्तामा लागेका माकुराको जालोले पत्रकारको योग्यतामा ढुसीको संक्रमण बढ्दै जानेछ ।

مدعوم من صدى البرنامج المساعد RSS بواسطة CodeRevolution.