काठमाडौं । अहिलेकी चर्चित गायिका एलिना चौहानले वैशाख पहिलो साता लगनगाँठो कसिन् । फ्यानलाई सरप्राइज दिंदै प्रेमी विष्णु सापकोटासँग उनले विवाह गरेकी थिइन् ।

विवाहको एक महिनापछि उनी श्रीमानसँगै अष्ट्रेलिया लागेकी छिन् । डेढ साताअघि यी दुई हनिमुनका लागि दुबई पुगेका थिए । दुबई हुँदै उनीहरु केही दिनअघि अष्ट्रेलियाको सिड्नी पुगेका छन् ।

सिड्नीमा विष्णुको मायालु फर्निचर नामक व्यवसाय छ । उक्त फर्निचरको टिकटक एकाउन्टबाट सार्वजनिक गरिएको भिडियोमा एलिना र विष्णु दुवैले फर्निचरको विज्ञापन गरेको देखिन्छ ।

सिड्नीमा रहेको मायालु फर्निचरको विज्ञापन गर्दै एलिना चौहान र उनका श्रीमान्

विवाहलगत्तै केही मिडियालाई अन्तर्वार्ता दिंदै एलिना र विष्णुले अबको अधिकांश समय अष्ट्रेलियामै बिताउने बताएका थिए । अष्ट्रेलियामै रहेको आफ्नो व्यवसायमा एलिनाले सघाउने र नेपालीले खोलेको स्टुडियोमा उतै गीत रेकर्ड गरेर रिलिज गर्ने विष्णुले बताएका थिए ।

विशेष काम परे एलिना नेपाल आउने र दशैं-तिहारको समयमा एलिनाले नेपाल आएर महोत्सवमा सहभागी हुने विष्णुले बताएका थिए । यति मात्रै होइन, एलिनाको व्यावसायिक डिल पनि विष्णु आफैंले गर्ने बताएका थिए ।

उनको कुरा सुन्दा अब यी दुईले अधिकांश समय अष्ट्रेलियामा बिताउने भन्ने बुझिन्छ । सांगीतिक करिअरको शिखर चुमिरहेकी एलिनाको यो अकस्मातको निर्णयले अबको करिअर कसरी अघि बढ्छ भन्ने चासो बढेको छ । अष्ट्रेलिया उड्नुअघि विष्णुले आफूहरु केही महिनापछि मात्र नेपाल फर्किने बताएको स्रोत बताउँछन् ।

देश तथा विदेशमा राम्रो माग भएकी गायिका एलिनाको सांगीतिक करिअर अब कसरी अघि बढ्छ भन्नेमा धेरैको चासो छ ।

Tərəfindən dəstəklənir Echo RSS Plugin tərəfindən Code Revolution.