३ जेठ, काठमाडौं । सुनसरीमा लागूऔषध नियन्त्रण ब्यूरोले बिहीबार गोली चलाएर दुई जना लागूऔषध कारोबारीलाई समात्यो ।

सप्तरीको सप्तकोशी–५ का ३५ वर्षीय श्यामसुन्दर मण्डल र सुनसरीको इटहरी नगरपालिका–५ बस्ने ४० वर्षीय श्याम निरौलालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमध्ये मण्डलले प्रहरीलाई आक्रमण गर्न खोजेपछि खुट्टामा गोली हानेर पक्राउ गरिएको ब्यूरोका अधिकृतहरु बताउँछन् ।

मंगलबार मात्रै पनि लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले मोरङको रतुवामाई नगरपालिका कादुपाडामा गोली हानेर अर्का लागुऔषध कारोबारी समातेको थियो । भारतको बिहार, किसनगञ्ज घर भएका ४८ वर्षीय भागिरथ हरिजनलाई गोली प्रहार गरेर ब्यूरोले पक्राउ गरेको थियो ।

हरिजनमाथि खुट्टामा दुई राउण्ड गोली प्रहार गरेर १४९ ग्राम लागु औषध खैरो हेरोइन प्रहरीले बरामद गरेको थियो । सो क्रममा एक जना प्रहरी सहायक निरीक्षक (असई) समेत घाइते भएका थिए ।

उनी पूर्वी तराईका जिल्लाहरुमा लागु औषधको सप्लाईको काम गर्ने व्यक्ति भएको दाबी ब्यूरोको छ । विगत तीन महिनापछिको निगरानीबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हरिजनलाई गोली हानेर समाउनुभन्दा करिब ४ दिनअघि ब्यूरोकै टोलीले २७ वैशाखमा गोली चलाएर तीन जना लागु औषध कारोबारीलाई बाँकेबाट पक्राउ गर्‍यो ।

कोहलपुर नगरपालिका–१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको थियो । त्यतिबेला सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि समातिए । उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भयो । फरार रहेकी सोही ठाउँकी २३ वर्षीया पार्वती थापा समेत पछि प्रहरी फन्दामा परिन् ।

१७ वैशाखमा ब्यूरोकै टोलीले झापा गाउँपालिका–३ कामाटोलीमा गोली प्रहार गरेर भारतीय नागरिक अब्दुल सरिफुललाई पक्राउ गरेको थियो । घरभित्रैबाट पक्राउ गर्न खोज्दा खुकुरीले प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि गोली प्रहार गरेर समातिएको दाबी प्रहरीको छ । उनको साथबाट ११६ ग्राम खैरो हेराइन प्रहरीले बरामद गरेको थियो । उनी झापामा खैरो हेरोइन बेच्ने मुख्य कारोबारी रहेको दाबी प्रहरीको छ ।

करिब दुई साताको अवधिमा ब्यूरोको टोलीले गोली प्रहार गरेर तराईका तीन फरक जिल्लाबाट ५ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट ३७० ग्रामभन्दा बढी खैरो हेराइन बरामद भएको छ । दुई साताको अवधिमा ब्यूरोले ३ फरक जिल्लामा गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको छ ।

कोभर्टमा रहेर काम गर्ने ब्यूरोको क्षेत्राधिकार देशैभरि रहेकाले लागु औषध ‘हब’ मानिएएका जिल्लाहरुमा आफ्नो टोली पठाएर ब्यूरो लागु औषध कारोबारीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको छ ।

यसअघिका घटनाहरुमा सामान्यतया लागु औषध कारोबारीलाई अन्तिम अवस्थामा मात्रै गोली प्रहार गरेको देखिए पनि अहिले भने प्रहरी थप आक्रामक भएर प्रस्तुत भएको छ । यो कुरा ब्यूरोका एसएसपी गोविन्द थपलिया समेत स्वीकार्छन् ।

प्रहरीले अहिले थप आक्रामक हुनेको साइनो भने गृहमन्त्री रवि लामिछानेसँग जोडिएको बुझिएको छ । ‘माननीय रवि लामिछानेज्यू गृहमन्त्री भएर आएपछि लागु औषध कारोबारीप्रति प्रहरी थप आक्रामक भएको सत्य हो’ एसएसपी थपलियाले भने ।

लागु औषध कारोबारीप्रति आक्रामक पुलिसिङ गर्न निर्देशन पाए अनुसार प्रहरी पछिल्ला दिनमा आक्रामक बनेको उनको आशय थियो । अहिले ब्यूरोले लागु औषध कारोबारीप्रति चलाएको गोलीको सम्बन्ध पनि गृहमन्त्री लामिछानेसँग जोडिएको एसएसपी थपलियाको भनाइबाट बुझिन्छ ।

प्रहरीले यसअघि पनि गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ नगरेको भने होइन । तर यसअघि लागु औषध कारोबारीविरुद्ध चलाइएका अधिकांशजसो गोलीका घटनाहरुमा कारोबारीहरुबाट प्रहरीले हतियार बरामद गरेको हुन्थ्यो ।

यसअघि २६ मंसिर २०८० मा ललितपुरको झम्सिखेलमा गोली चलाएर लागु औषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको थियो । उदयपुरको गाईघाटका ४० वर्षीय अविनाश राईबाट ४८५ ग्राम एम्फेटामाइन प्रहरीले बरामद गरेको थियो । उनी आफैं भारतको कोलकाता पुगेर लागु औषध ल्याएर काठमाडौंमा बेच्ने गरेको दाबी प्रहरीको थियो ।

उनले विशेषगरी ट्रान्सपार्टीमा बेच्ने गरेको दाबी प्रहरी अधिकारीको छ । प्रहरीको दाबीअनुसार राईले आफूसँग भएको पेस्तोल निकालेर फायर गर्न खोजेपछि उनको दायाँ खुट्टामा एक राउन्ड गोली प्रहार गरिएको थियो । उनलाई त्यतिबेला ब्यूरोको टोलीले नभई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली प्रहार गरेर पक्राउ गरेको थियो ।

१४ कात्तिक २०८० मा अपराध अनुसन्धान कार्यालयको टोलीले नै गोली चलाएर एक भारतीय र एक नेपालीलाईलाई लागु औषधसहित पक्राउ गरेको थियो । लागूऔषध कारोबारी भारतीय नागरिक मोहमद करिम र झापाका हर्क लिम्बु त्यतिबेला पक्राउ परेका थिए । उनीहरुको साथबाट एउटा पेस्तोल, २ राउण्ड गोली, २ सय ग्राम खैरो हिरोइन र तराजु बरामद, ५० हजार रुपैयाँ नगद भएको थियो । लिम्बु यसअघि मानव बेचविखन मुद्दामा पाँच वर्ष जेल बसेर २०७४ चैतमा छुटेका व्यक्ति रहेको खुलेको थियो ।

त्यतिबेला अपराध अनुसन्धान कार्यालयको नेतृत्व एसएसपी सामेन्द्र सिंह राठौरले गरेका थिए । उनले लागु औषध कारोबारीप्रति सम्झौता नगरी निर्मम भएर उत्रने घोषणा नै गरेका थिए । लागुऔषधका कारण समाज नै ध्वस्त हुने अवस्था आएको भन्दै यसमा सम्झौता नगर्ने एसएसपी राठौरको भनाइ थियो ।

त्यतिबेला हतियारसहितका लागु औषध कारोबारीविरुद्ध गोली चलाएर पक्राउ गरिए पनि अहिले भने लागु औषध बोकेर हिँडेका कारोबारीमाथि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिन थालेको छ ।

हतियार नै नभएकाहरुकालाई समेत गोली चलाएर पक्राउ गर्नुले पनि लागु औषध कारोबारीप्रति प्रहरी अतिरिक्त बल प्रयोगको नीतिमा लागेको हो त ? किनभने यस्तो शैलीको वैधानिकताबारे प्रश्न उठ्न सक्छ । यसबारे एसएसपी थपलिया भन्छन्, ‘अपराधीलाई पक्राउ गर्ने बेलामा भाग्न खोजे प्रहरीले बल प्रयोग गर्न सक्छ । त्यो अधिकार प्रहरीले पाएको छ । आफू असुरक्षित भएको महसुस गरेपछि र अपराधी भाग्न लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन गोली चलाउनु स्वभाविक हो ।’

लागु औषध कारोबारीका कारण एउटा व्यक्ति मात्रै नभएर सिंगो परिवार, गाउँ, समाज नै विग्रहको स्थितीमा आउने, आर्थिक अवस्था नाजुक हुने, चोरी, लुटपाटका घटनाहरु समेत लागु औषधमा जोडिएका ड्रग्सविरुद्ध प्रहरी निर्मम रुपमा उत्रनुपर्ने स्थिति आएको थपलियाको दाबी छ ।

यसअघि पोहोर २८ जेठमा लागु औषध नियन्त्रण ब्यूरोको टोलीले सिनामंगलमा गोली प्रहार गरेर लागु औषध कारोबारी भारतको बिहार मथुराग्राम घर भएका २७ वर्षीय हेमन्तकुमार भगतलाई पक्राउ गरेको थियो । उनको साथबाट १०० ग्राम खैरो हेरोइन बरामद भएको थियो ।

भगवत बिहान मात्रै भारतबाट स्थलमार्ग हुँदै विराटनगर आएका थिए । त्यहाँबाट उनी प्लेनमार्फत काठमाडौं आएको खुलेको थियो । उनले लामो समयदेखि भारतबाट ब्राउन सुगर काठमाडौं ल्याएर बेच्ने गरेको प्रहरीको दावी छ । ‘हेर्दा भगत अर्थात् एक व्यक्तिलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो भन्ने देखिन्छ । तर उबाट ड्रग्स किनेर कति मान्छे कुलतमा फसे, कतिको घरबार बिग्रियो ? त्यसतर्फ मान्छेको ध्यान गएको देखिँदैन’ एसएसपी थपलियाले भने ।

आर्थिक वर्ष २०८०/८१ मा मात्रै देशभर १३ ठाउँ गोली चलाएर १५ लागु औषध कारोबारीलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । काठमाडौं उपत्यकामा मात्रै आर्थिक वर्ष २०८०/८१ को अहिलेसम्म गोली प्रहार गरेर ६ जनालाई पक्राउ गरिएको तथ्यांक प्रहरीसँग छ । उनीहरुबाट हातहतियार तथा लागु औषध बरामद भएको छ । काठमाडौं उपत्यका बाहेक बागमती प्रदेशमा गोली चलाएर ४ लागु औषध कारोबारीलाई पक्राउ गरिएको छ । त्यसैगरी लुम्बिनी प्रदेश अन्तर्गत बाँकेमा गोली चलाएर ३ लागु औषध कारोबारीलाई पक्राउ गरिएको छ । कोशी प्रदेशमा गोली चलाएर ३ लागु औाषध कारोबारीलाई पक्राउ गरिएको प्रहरीको तथ्यांक छ ।

प्रहरीले गोली चलाएर समाएका लागु औषध कारोबारीहरु अधिकाशं खैरो हेरोइनसँग सम्बन्धीत छन् । दक्षिण सीमा भारतबाट खैरो हेराइन नेपाल ल्याएर उनीहरुले बेच्ने गरेको पाइएको एसएसपी थपलियाको दाबी छ । भारतबाट स्थलमार्गबाट तराईका जिल्लादेखि काठमाडौंसम्म ल्याएर खैरो हेरोइन बिक्री हुने गरेको ब्यूरोको अध्ययनले देखाएको छ ।

तर अहिले गोली नै चलाएर लागु औषध कारोबारी समात्नुपर्ने जस्तो अवस्था आइनसकेको पूर्वडीआईजी हेमन्त मल्लको बुझाइ छ ।

‘म्यानमार, कोलम्बिया, मेक्सिको, भेनेजुएलालगायतका देशका सरकारहरु लागु औषध गिरोहहरुसँग भिडिरहेका छन् । ठूला–ठूला हतियार राखेर लागु औषध माफीयाहरुले कारोबारको धन्दा चलाएका छन् । ड्रग्स माफियाहरुले आफ्नै सेना राखेर कारोबार गरेको देखिन्छ’ पूर्वडीआईजी मल्लले भने, ‘ड्रग्स माफियाहरु विरुद्ध ती देशहरु विशेष अपरेशन चलाएर सफाया गर्ने रणनीति समेत लिएको छ । सायदको त्यसैको प्रभावले पनि नेपालमा लागु औषध कारोबारीविरुद्ध प्रहरीले गोली चलाएको हुन सक्छ । तर नेपालको अहिलेको स्थिति ती देशहरुसँग दाज्न मिल्दैन ।’

गृहमन्त्रालयको तथ्यांक अनुसार नेपालभर करिब १ लाख ३० हजार लागु औषध प्रयोगकर्ता छन् । थुनेर, तर्साएर, गोली हानेर दुर्व्यसनी नघट्ने तर्क पूर्वडिआइजी मल्लको छ । चार उपाय, अर्थात् लागुऔषध उत्पादनमा नियन्त्रण, ओसार पसारमा नियन्त्रण, माग घटाउने (प्रचारप्रसार गरेर लागु औषध खानु हुँदैन भन्ने चेतना फैलाउने) र उपचार तथा पुनस्थापनामा जोड दिनुपर्ने उनको सुझाव छ ।

Працуе на Убудова RSS Echo па CodeRevolution.