१९ वैशाख, पोखरा । यतिबेला पोखरा उपत्यकादेखि वरपरका डाँडाहरू समेत तुवाँलो, धुवाँ र धुलोका कणले डम्म ढाकेको छ ।

पोखराको न्यूरोडबाट नजिकै रहेका काहुँडाँडा, सराङकोट, निर्मलपोखरी जस्ता थुम्का देखिन छोडेका छन् । प्रदूषणले आँखा पोलेर पोखरावासीलाई हैरान बनाएको छ ।

जानकारहरूका अनुसार डाँडाकाँडाले घेरिएको कचौरा जस्तो पोखरा उपत्यकामा प्रदूषित हावा बहन नसकेर धुम्म बनेर बसेको छ । जसका कारण आम मानिसलाई समस्या पारिरहेको वायु प्रदूषणमा विद्यावारिधि समेत गरेका नीति तथा योजना आयोग गण्डकीका सदस्य डा. सुवास अधिकारीले बताए ।

पोखराको हावा प्रदूषित हुँदा आँखा पोल्ने समस्याले धेरैलाई अप्ठ्यारो बनाएको छ । नाक, कान घाँटीको समस्याका बिरामी बढेका छन् । अहिले पोखराको एयर क्वालिटी इन्डेक्स १८५ छ । १०० सम्म ठीकै मानिने भए पनि ५० भन्दामुनि हुँदा हावा स्वस्थ्यकर हुने डा. अधिकारीले बताए ।

‘वर्षा हुनु अगाडिको सुख्खा मौसम छ । फोहोरका कण हावामा फैलिएका छन् । डढेलोका कारण पनि हावामा धुवाँ मिसिएको छ । माघ, फागुनमा चिम्नीबाट निस्किएका कणहरू पनि पानी नपर्दा वायुमण्डलमै मिसिएर बसेको छ’ अधिकारीले भने, ‘यसले तापक्रममा पनि असर गरेको छ ।’

तुवाँलो, धुलोका कण र धुवाँ वायुमण्डलमा ‘ब्लाङ्केट’ बनेर ढाकेको अधिकारीले बताए । ‘यो न्यूनीकरणका लागि कि हावाहुरी चल्नुपर्छ कि ठूलो पानी पर्नुपर्छ’, अधिकारीले भने ।

धुवाँ, धुलो र तुवाँलोकै कारण पछिल्लो समय आँखा पोल्ने समस्या धेरैमा देखिएको हिमालयन आँखा अस्पताल प्रमुख डा. इलिया श्रेष्ठले बताइन् । अस्पतालमा धेरै बिरामी आँखा पोल्यो भनेर आइरहनुभएको र यो समस्या बच्चाहरूमा झन् बढी देखिएको श्रेष्ठको भनाइ छ ।

‘आँखा पोल्ने समस्या एक्कासी बढेको छ । बच्चाहरूमा बढी देखिएको छ । आँखा पोल्ने, रातो हुने, चिलाउने बिरामी बढेका छन्’ श्रेष्ठले भनिन्, ‘त्यो धुलो, धुवाँकै कारण हो जस्तो लाग्छ ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीका अनुसार नाक, कान, घाँटी, फोक्सोको समस्या लिएर अस्पताल पुग्ने बिरामीको संख्या बढिरहेको छ । अहिलेको प्रदूषणमा मानिसले मास्क नलगाउँदा धुलो धुवाँ नाक, मुखबाट छिर्दा धेरैमा समस्या बढेको खत्रीको भनाइ छ ।

उडान ठप्प

एक हप्तादेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रदूषणकै कारण ठप्प बनेको छ । धुलो, धुवाँका कारण भिजिबिलिटी कम हुँदा हप्ता दिनदेखि उडान प्रभावित भएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

‘पोखराको आकाशमा बिहान भिजिबिलिटी कम हुन्छ’ भुलले भने, ‘५ किलोमिटर भिजिबिलिटी हुनु उपयुक्त मानिन्छ । उडानको लागि कम्तीमा ३ हजार मिटरभन्दा माथि हुनैपर्छ ।’ भुलका अनुसार अहिले पोखरामा एक हजारदेखि १५ सय मात्र भिजिबिलिटी छ ।

उडान प्रभावित हुँदा हवाई यात्रा मार्फत पोखरा–काठमाडौं आउजाउ गर्नेले दुःख पाइरहेका छन् । पोखरा–मुग्लिन सडक पनि निर्माणाधीन भएकाले यात्रामा कठिनाइ छ ।

দ্বারা চালিত প্রতিধ্বনি আরএসএস প্লাগইন দ্বারা কোডরেভলিউশন.