काठमाडौं । चलचित्र विकास बोर्डले राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कार (कथानकतर्फ)का लागि आवेदन आह्वान गरेको छ । बिहीबार सूचना प्रकाशित गर्दै बोर्डले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन भनेको छ ।

राष्ट्रिय चलचित्र पुरस्कार (फिचरतर्फ)को लागि २०८० वैशाख १ गतेदेखि २०८० चैत मसान्तसम्म सार्वजनिक प्रदर्शन भएका फिल्मले आवेदन दिनसक्ने जनाइएको छ । विशेष चलचित्रका लागि सो अवधिमा सेन्सर पास भएका फिल्मले आवेदन दिनसक्ने जनाइएको छ ।

२०८० वैशाख १ गतेदेखि चैत मसान्तभित्र चलचित्र जाँच समितिबाट जाँच भएका आदिवासी, जनजाति तथा मातृभाषी फिल्मले ‘राष्ट्रिय चलचित्र तथा विशेष चलचित्र पुरस्कार’मा भाग लिन सक्ने जनाइएको छ । तर यस्ता फिल्मले राष्ट्रिय चलचित्र पुरस्कार वा आदिवासी, जनजाति तथा मातृभाषी राष्ट्रिय चलचित्र पुरस्कार मध्ये कुनै एकमा मात्र सहभागिता जनाउन पाउनेछन् ।

यी विधागत फिल्म पनि हलमा सार्वजनिक प्रदर्शन हुनुपर्ने जनाइएको छ । तर पुरस्कार वितरण समारोहको मिति भने घोषणा छैन । राष्ट्रिय चलचित्र पुरस्कारलाई राष्ट्रपतिले शीतल निवासमा आयोजित समारोहमा वितरण गर्ने प्रचलन छ ।

गत वर्षको अवार्डको अनुभवबाट पाठ सिक्दै नयाँ कार्यविधिअनुसार यस वर्षको चलचित्र पुरस्कार आयोजना गर्न लागेको बोर्ड अध्यक्ष भुवन केसीले जानकारी दिए ।

Gipaandar sa Echo RSS Plugin pinaagi sa CodeRevolution.