३० वैशाख, अत्तरिया । कैलालीमा सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा चालु आवमा करिब ९ हजार किसान आवद्ध भएका छन् ।

परियोजनाद्वारा सञ्चालित ‘गहुँ सुपरजोन’, ‘तेलहन जोन’ र ‘धान जोन’ कार्यक्रममा ८ हजार ९३५ जना किसान आवद्ध भएका हुन् ।

चालु आव २०८०/८१ मा तीन वटै जोनमा ४ हजार ९१७ महिला र ४ हजार १८ पुरुष किसान आवद्ध भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ कैलालीकी सूचना अधिकारी ऋतु धामीले जानकारी दिइन् ।

उनका अनुसार चालु आवमा सहकारी, कृषि समूह, कृषि उद्यमी, बीउ उत्पादन कम्पनी र समिति गरी ३३५ संस्था सूचीकृत भएका छन् ।

गहुँ सुपरजोन १ हजार ५०० हेक्टरबाट क्षेत्रफल विस्तार भएर ३ हजार हेक्टर, तेलहन जोन ५०० हेक्टरबाट १ हजार ५०० हेक्टर र धान जोन ५०० हेक्टरबाट क्षेत्रफल विस्तार भएर ८०० पुगेको उनले जानकारी दिइन् ।

कार्यक्रम सञ्चालन भएपछि गहुँको उत्पादकत्व २.९ मेट्रिक टन प्रतिहेक्टरबाट वृद्धि भएर हाल ४.४, तोरीको उत्पादकत्व ०.९ मेट्रिक टनप्रति हेक्टरबाट वृद्धि भएर १.५ र धानको उत्पादकत्व ३.४७ बाट वृद्धि भएर ५.२७ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ ।

‘गहुँ सुपरजोन’ जिल्लाको कैलारी गाउँपालिका, गौरीगङ्गा र घोडाघोडी नगरपालिकाका विभिन्न १८ वडामा, ‘तेलहन जोन’ जानकी, जोशीपुर गाउँपालिका, भजनी, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका विभिन्न २९ वडा र ‘धान जोन’ जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न ९ वटा वडामा सञ्चालनमा रहेको सूचना अधिकारी धामीले बताइन् ।

उनका अनुसार चालु आवमा साना सिंचाइ अन्तर्गत गहुँ सुपरजोन र धान जोनमा ५० प्रतिशत अनुदानमा १५६ वटा स्यालो ट्युबेल वितरण गरिएकोमा १४८ वटा जडानका लागि सम्झौता भएर काम भइरहेको छ ।

त्यस्तै परियोजनाले चैते धानको क्षेत्रफल विस्तार कार्यक्रम अन्तर्गत गत वर्ष ५० हेक्टरमा गरिएको चैते धान यस वर्ष १२७ हेक्टरमा विस्तार गरेको सूचना अधिकारी धामीले जानकारी दिइन् ।

परियोजना अन्तर्गत उत्पादकत्व बढाउन ५० प्रतिशत अनुदानमा बीउ, विषादी, कृषियन्त्र उपकरण वितरण गर्ने गरिएको छ । साथै परियोजनाले प्राविधिक सहयोगसमेत गर्ने गरेको जनाइएको छ । जिल्लामा गहुँ सुपरजोन आव २०७३/७४, तेलहन जोन आव २०७४/७५ र धान जोन आव २०७८/७९ मा सुरु भएको जनाइएको छ ।

Gipaandar sa Echo RSS Plugin pinaagi sa CodeRevolution.