२० वैशाख, काठमाडौं । टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज भारतको लखनऊ र त्यहाँबाट नयाँदिल्ली ‘डाइभर्ट’ हुँदा यात्रुले पाउनुसम्म सास्ती पाए ।

१ मे बुधबार बिहान ६ बजेर १० मिनेटमा काठमाडौं अवतरण गर्नुपर्ने टर्किसको ए३३० (टीके ०७२६) जहाज काठमाडौंको आकासमाथि आइसकेको थियो ।

तर, जहाजमा प्राविधिक समस्या आएको भन्दै दुईचार फन्का घुमाएर चालकदलले लखनऊ डाइभर्ट गरे । अर्को दिन अर्थात् आज बिहीबार लखनऊबाट काठमाडौंका लागि उडेको सोही जहाज पुनः दिल्ली डाइभर्ट भयो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जहाजमा प्राविधिक समस्या आएपछि भारत डाइभर्ट भएको हो ।

यात्रुहरूका अनुसार जहाजमा चालकदलले भने ‘काठमाडौं विमानस्थलमा समस्या आएको’ भन्दै अनाउन्स गरेका थिए । सोही जहाजमा यात्रा गरिरहेका डा. अनुप सुवेदीले समेत सामाजिक सन्जाल एक्समार्फत यसबारे जानकारी गराएका छन् ।

डा. सुवेदीका अनुसार लखनऊमा ग्राउन्ड स्टाफसँग कुरा गर्दा जहाजको नेभिगेसन प्रणालीमा समस्या आएको पुष्टि भएको थियो ।

बिहीबार लखनऊबाट काठमाडौंका लागि उडेको यो जहाज पुनः दिल्ली डाइभर्ट गरिएको थियो । यात्रुले विनायोजना जहाजले लखनऊ र दिल्ली डाइभर्ट गरेको र रोकिएको स्थानमा आधारभूत सुविधासमेत उपलब्ध नगराइ सास्ती दिएको गुनासो गरेका छन् ।

टकिर्सले बिहीबार आफ्नो जहाज काठमाडौं ल्याएन । बरु अन्य जहाजमा सिट हेर्दै एकेक गरी काठमाडौं पठाइरहेको समेत डा सुवेदीले जानकारी दिएका छन् ।

‘जहाजभित्र बालबालिका सहित यात्रु भोकै थिए, तर विनाजानकारी लखनऊबाट दिल्ली लगियो र लामो समय जहाजभित्रै राखियो,’ डा. सुवेदीले लेखेका छन्, ‘अन्तिममा चालकदलले गाडी तयार रहेको र आ–आफ्ना सामान बोकेर जहाजबाट बाहिरिन आदेश दियो । तर, कहाँ जाने र अर्को योजना के हो भन्ने कुनै जानकारी दिइएन ।’

उनका अनुसार त्यसपछि सबै यात्रुलाई गाडीमा राखेर दिल्ली विमानस्थलको टर्मिनल ३ को एउटा हलमा लगेर ६ घण्टा राखिएको थियो ।

‘हामीसँग मुद्रा सटही गर्ने पहुँच पनि थिएन । जसले गर्दा केही किनेर खान पाइएन,’ उनले लेखेका छन्, ‘बिहान ३÷४ बजे खाएको एउटा स्यान्डविच वा केकको भरमा रहेका सयौं यात्रु त्यति लामो समय भोकभाकै बस्नुप¥यो ।’

यसबारे टर्किसका कर्मचारीलाई कम्तीमा पानी र खाना उपलब्ध गराउन आग्रह गर्दा उनीहरूले भारतीय नियामक निकायले अनुमति नदिएको भन्दै पन्छिएको सुवेदीले उल्लेख गरेका छन् ।

त्यसपछि टर्किसका कर्मचारीले नेपालबाहेक यात्रुलाई एकेक गरी अन्य जहाजमार्फत काठमाडौं पठाइरहे पनि नेपालीलाई भने त्यतैको होटलमा बास बस्ने व्यवस्था मिलाएको सुवेदीले लेखेका छन् ।

‘सास्ती दिएको १५ घण्टापछि टर्किस एयरलाइन्सले होटलमा लगेर एक छाक खाना खान दियो,’ डा. सुवेदीले लेखेका छन्, ‘पैसा जोगाउने कस्तो काइदा टर्किस एयरलाइन्स !’’

Alimentatu da u Echo Plugin RSS da CodeRevolution.