५ जेठ, काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले शुक्रबार राति चार एसएसपीलाई डीआईजी बढुवाका लागि सिफारिस गरेको हो ।

सिफारिस सूचीअनुसार पहिलो नम्बरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा कार्यरत कृष्णहरि शर्मा पोखरेल सिफारिस भएका छन् । दोस्रो नम्बरमा प्रहरीको महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी दानबहादुर कार्की सिफारिस भएका छन् ।

तेस्रो नम्बरमा प्रहरी प्रधान कार्यालयकै महिला तथा बालबालिका निर्देशनालयमा कार्यरत डा मनोज केसी सिफारिस भएका छन् । चौथो नम्बरमा प्रधान कार्यालयकै तालिम निर्देशनालयमा कार्यरत राजन अधिकारी बढुवा सिफारिस भएका छन् ।

तीन डीआईजीको दरबन्दी अहिले रिक्त भए पनि यही १० जेठमा अर्का डीआईजी सुरेन्द्र मैनाली उमेर हदका कारण अवकाशमा जाने भएपछि मैनालीको ठाउँमा रिक्त हुने दरबन्दीलाई समेत मिलान गरेर चार जनालाई बढुवाका लागि सिफारिस गरिएको हो ।

यस पटक तीन फरक–फरक मितिमा एसएसपीमा बढुवा भएका चार ब्याचीहरुबीच डीआईजी बढुवाका लागि प्रतिस्पर्धा भएको थियो ।

जसमा २०५१, २०५२, २०५३ र २०५४ मा प्रहरी निरीक्षक (इन्सपेक्टर) मा भर्ना भएका चार ब्याचका ३० भन्दा बढी एसएसपीहरु प्रतिस्पर्धामा थिए । जसमा २०५२ मा इन्पेक्टर भएका शर्मा, २०५४ को टोलीका कार्की, केसी र अधिकारी बढुवाका लागि सिफारिसमा परेका छन् ।

२०५१ र २०५३ मा प्रहरी निरीक्षकमा भर्ना भएका ब्याचबाट भने बढुवामा कोही पनि परेनन् । अझ यो बढुवामा २०५३ सालमा इन्सपेक्टरमा भर्ना भएकाहरु छुटेकाले उनीहरु भावी प्रहरी महानिरीक्षकको प्रतिस्पर्धाबाट अहिले नै बाहिर परेका छन् ।

२०५३ मा इन्सपेक्टर भएका एसएसपीहरु आफूहरु बढुवा नभए पनि कुनै पनि हालतमा २०५४ को टोलीलाई बढुवा गर्न नहुने लबिइङमा थिए । तर, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि बढुवा सिफारिस समितिले २०५४ को टोलीका कार्की, केसी र अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको हो । कार्की र केसी भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका अधिकृत हुन् । उनीहरुसँगै बढुवा भएका २०५४ कै टोलीका अधिकारी पनि राम्रो अफिसरमा पर्छन् ।

२०५४ मा इन्सपेक्टरमा भर्ना भएकाहरु अहिले नै डीआईजी बढुवा भएको अवस्थामा २०५३ को टोलीलाई समेत उछिन्दै लामो समय आईजी बन्न सकिने हुँदा लबिङमा थिए । अन्तत: उनीहरु २०५३ को टोलीलाई उछिन्दै बढुवा हुन सफल भएका छन् ।

२७ कात्तिक २०५२ मा इन्सपेक्टरमा भर्ना भएका कृष्णहरि शर्मा पोखरेल एसएसपीमा बढुवा भएको मितिले सबैभन्दा सिनियर थिए । उनी बढुवाको पहिलो नम्बरमा परेका छन् । शर्मा ९ माघ २०७७ मा एसएसपीमा बढुवा भएका थिए ।

शर्माभन्दा अघि ५ चैत २०५१ मा भोलाबहादुर रावल, ध्रुवराज राउत र गणेश चन्दले इन्सपेक्टरको नियुक्त लिएका थिए । तर, एसएसपी बढुवामा भने शर्मा भन्दा उनीहरु पछि थिए । रावल र राउत १२ मंसिर २०७८ मा एसएसपीमा बढुवा भएका थिए । चन्द भने उनीहरु भन्दा पछि २०५३ र २०५४ को टोलीसँगै १ साउन २०७९ मा एसएसपीमा बढुवा भएका थिए । उनीहरु तीनै जना बढुवामा छुटेका छन् । कार्यसम्पादनमा उनीहरु कमजोर रहेको बताइएको छ ।

विशेषगरी अहिलेको डीआईजी बढुवामा २०५३ र २०५४ को टोलीबीच द्वन्द्व नै देखिएको थियो । ५ पुस २०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएका र १८ चैत २०५४ मा प्रहरी इन्सपेक्टरमा भर्ना भएकाहरुबीच अहिले बढुवाको मुख्य रस्साकस्सी देखिएको थियो ।

यी दुई टोलीबीचको द्वन्द्व राष्ट्रिय अनुसन्धानबाट स्थानान्तरण भएर आएदेखि सुरु भएको हो । २०५४ को टोली डीएसपी बढुवा हुने बेलामा राष्ट्रिय अनुसन्धानबाट स्थानान्तरण भएर आएकाहरु डीएसपी बढुवा भएका थिए । राष्ट्रिय अनुसन्धानबाट आएकाहरु एक वर्ष पहिला भर्ना भएको सिनियर टोली भन्दै २०५४ को टोलीलाई छुटाएर ३० पुस २०६४ मा डीएसपीमा बढुवा भएका थिए । उनीहरुकै कारण २०५४ का टोलीको डीएसपी बढुवा दुई वर्ष पछि धकेलिएको थियो । २०५४ का टोलीहरु २६ मंसिर २०६६ मा बल्ल डीएसपीमा बढुवा भएका थिए ।

त्यसपछि एसपी र एसएसपीमा भने २०५३ र २०५४ का टोलीहरुको एकै पटक क्रमशः ३१ असार २०७४ र १२ मंसिर २०७८ मा भएको थियो ।

२०५३ को टोलीबाट डीआईजी बढुवाको प्रतिस्पर्धामा सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदीलगायत थिए । शाह, राठौर, चतुर्वेदीसहित राष्ट्रिय अनुसन्धानबाट आएको २०५३ को टोली र २०५१ को टोलीलाई समेत उछिनेर २०५४ को टोली डीआईजीमा बढुवा भएको छ । उनीहरुको बढुवासँगै राष्ट्रिय अनुसन्धानबाट आएको टोली अहिलेकै परिस्थितिमा प्रहरी महानिरीक्षक बन्ने प्रतिस्पर्धाबाट बाहिर पर्ने देखिएको छ ।

Drevet af Echo RSS Plugin ved Kodeudvikling.