१९ वैशाख, काठमाडौं । नेपालले अर्को महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्ने १५ सदस्यीय टोली घोषणा गरेको छ ।

स्पिनर सागर ढकाल, तीव्र गतिका बलर कमलसिंह ऐरी र विकेटकिपर अनिलकुमार साह अन्तिम १५ मा स्थान बनाउन सफल भए । अन्य १२ खेलाडी नेपालको विश्वकप टोलीमा पर्ने यसअघि नै लगभग पक्का थियो ।

सन् २०१४ पछि विश्वकप खेल्न लागेको नेपालले ब्याटिङ र बलिङ दुबैमा ध्यान दिएको छ । नेपालको टोलीमा पाँच प्रमुख ब्याटर कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, रोहित पौडेल र सन्दीप जोरा छन् ।

तीन प्रमुख अलराउन्डरमा कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र गुलशन झा छन् । दुई बलिङ अलराउण्डरमा करण केसी र सोमपाल कामी तथा पाँच बलरमा कमलसिंह ऐरी, सागर ढकाल, ललित राजवंशी, प्रतिश जिसी र अभिनाश बोहरा छन् ।

१५ मध्ये ललित, अभिनाश र सागरबाहेक अन्य १२ खेलाडीले ब्याटिङबाट खेल जिताउन सक्छन् । नेपालको बलिङमा पनि १२ खेलाडीको विकल्प छ । सन्दीप जोरा, आसिफ शेख र अनिल साह बाहेक अन्य सबैले नियमित बलिङ गर्दै आएका छन् ।

कुशल भुर्तेल लेग स्पिन र रोहित पौडेल अफ स्पिन बलिङ गर्दै आएका छन् । विपक्षी टोलीमा बायाँ हाते ब्याटर बढी हुँदा रोहित आफैं बलिङमा आउने गर्छन् । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले प्रमुख स्पिनरको भूमिका निर्वाह गर्ने गर्छन् ।

दीपेन्द्रले पावर प्ले, मध्यक्रम र डेथ ओभर जुनसुकै बेला पनि राम्रो गर्न सक्छन् ।

नेपालको प्लेइङ–११ मा बलिङमा कम्तीमा ७ विकल्प हुनेछ । तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, गुल्शन झा र कमलसिंह ऐरी छन् ।

नेपालको पहिलो रोजाइको प्लेइङ–११ मा तीव्र गतिमा सोमपाल, करण र अभिनाश हुनेछन् । सोमपाल र करण नयाँ बलका साथ बलिङ गर्नेछन् । अभिनाश डेथ ओभर स्पेलिष्ट हुनेछन् । गुल्शन भने अलराउन्डरको रुपमा नियमित खेल्नेछन् ।

यदि यी तीनमध्ये एकले राम्रो प्रदर्शन गर्न नसक्दा कमल पहिलो रोजाइमा हुनेछन् । कमल पावर प्ले र डेथ ओभर दुबैमा राम्रो गर्न सक्छन् ।

कमलबाहेक अन्य पाँच बलरको स्थान पक्का थियो । कमल र आकाश चन्दबीच टोलीमा पर्न प्रतिस्पर्धा थियो । कमल वेष्टइण्डिज ए सँग पाँच खेलको सिरिजमा पहिलेको १६ सदस्यीय टोलीमा थिएनन् । तर आलोचनापछि क्यानले चार खेलाडी थप्दा कमलले मौका पाएका थिए ।

कमलले पहिलो खेलमा वेष्टइण्डिजविरुद्ध ३ ओभर र तेस्रो खेलमा ४ ओभरमा समान ५३ रन खर्चेका थिए । पहिलो खेलमा जोनसन चाल्र्सलाई शून्यमा बोल्ड गर्नु उनको लागि महत्वपूर्ण थियो ।

सन् २०१२ र २०१६ को टी–२० विश्वकप जित्दाका वेष्टइण्डिज टिमका सदस्य जोनसनले तेस्रो खेलमा नेपालविरुद्ध ६१ बलमा १३ चौका र ७ छक्कासहित ११९ रन बनाएका थिए ।

तेस्रो खेलमा कमलले ३ ओभरमा ४४ रन खर्चेका थिए । अन्तिम ओभरमा किमो पलले पहिलो बलमै छक्का हानेपछि ३.१ ओभरमा ५० रन खर्चिन पुगे । तर त्यसपछिका पाँच बलमा मात्रै ३ रन दिएका थिए ।

कमलले यो कन्फिडेन्स र पुनरागमनले टोलीको मन जितेका हुन् । अर्कोतर्फ कमल तल्लोक्रममा राम्रो ब्याटिङको खुबी राख्छन् ।

तीव्र गतिका बलरमा नेपालसँग कमल र आकाश चन्द विकल्पमा थिए । कमल अनुभवी हुँदा टोलीले रोजेको हो ।

नेपालले टी–२० विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशसँग वेष्टइण्डिजमा खेल्नेछ । नेपालसँगको तेस्रो टी–२० खेलपछि वेष्टइण्डिजका ब्याटर आन्द्रे फ्लेचरले नेपालको स्पिन आक्रामण राम्रो हुँदा क्यारेबियन पिचमा सहयोग मिल्ने बताएका थिए ।

त्यसैले नेपालले एक अतिरिक्त स्पिनर लैजाने निर्णय लियो । त्यसैले ब्याटिङ अलराण्डर आरिफ शेख र विवेक यादवलाई छाडेर नेपालले सागरलाई टोलीमा समेटेको हो ।

नेपालले ललित राजवंशी र सागर ढकाललाई प्रमुख स्पिनरको रुपमा टोलीमा राखेको छ । सागरले वेष्टइण्डिजविरुद्ध तेस्रो खेलमा ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए ।

आन्द्रे फ्लेचरलाई दीपेन्द्रसिंह ऐरीबाट लङअनमा क्याच गराउँदै उक्त विकेट लिएका थिए । जोनसन चाल्र्ससँगको दोस्रो विकेटको १४५ रनको साझेदारी तोडेका थिए ।

सागरले दोस्रो खेलमा वेष्टइण्डिज एसँग ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिएका थिए । त्यसमा एकै ओभरमा जोनसन र एलिक एथानाजेलाई आउट गरेपछि प्रशिक्षक र कप्तान उनीबाट प्रभावित भएका थिए । त्यसैले लगातार खराब प्रदर्शन गर्दै आएका विवेक यादवको स्थान सागरले लिएका हुन् ।

अनिल टोलीमा पर्न लोकेश बम र विनोद भण्डारीसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो । वेष्ट इण्डिज ए सँगको तेस्रो खेलमा यी तीन खेलाडीलाई नै नेपालले मौका दिएको थियो ।

तीन खेलमै मौका पाएका अनिल वेष्टइण्डिज ए सँग पहिलो खेलमा ५, दोस्रोमा १ र तेस्रोमा १४ रनमा आउट भएका थिए । तेस्रो खेलमा दुई छक्का प्रहार गर्नु उनलाई अतिरिक्त फाइदा भयो ।

विनोद टोलीमा नपर्ने लगभग पक्का थियो । टिममा पर्न बुधबार भएको तेस्रो खेलमा अद्भूत प्रदर्शन गर्नुपर्थ्यो । तर १५ बलमा ४ चौकासहित १९ रन बनाउँदै आउट भए । लोकेश बम दोस्रो खेलमा १६ बलमा १ चौका र २ छक्कासहित १७ तथा तेस्रो खेलमा २९ बलमा १ चौका र २ छक्कासहित २८ रनमा आउट भए । पछिल्लो समय निरन्तर टोलीमा राखेको हुँदा नेपाली टिमले अनिललाई साथ लियो ।

कमलबाहेक अन्य १५ खेलाडी पछिल्लो डेढ वर्षदेखि नेपाली टोलीमा लगभग सँगसँगै खेल्दै आएका छन् । एक दुई खेलाडी मात्रै थपघट हुँदै आएका थिए । एकै टोलीले लगातार खेल्दा एक अर्काको खेलबारे जानकारी हुन्छ । तर कहिलेकाहीँ एउटै टोली लगातार खेल्दा विपक्षीलाई फाइदा उठाउन पनि सहज हुनसक्छ ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अभिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी ।

टी–२० विश्वकपमा नेपालको समूह डी मा खेल तालिका

४ जुन : नेपालविरुद्ध नेदरल्यान्ड्स
१२ जुन : नेपालविरुद्ध श्रीलंका
१५ जुन : नेपालविरुद्ध दक्षिण अफ्रिका
१७ जुन : नेपालविरुद्ध बंगलादेश

विश्वकपमा समूह विभाजन

समूह ए : क्यानडा, भारत, आयरल्याण्ड, पाकिस्तान र अमेरिका
समूह बी : अष्ट्रेलिया, इंग्लयाण्ड, नामिबिया, ओमान, स्कटल्यान्ड
समूह सी : अफगानिस्तान, न्युजिल्याण्ड, पपुवा न्युगिनी, युगाण्डा र वेष्टइण्डिज
समूह डी : नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका ।

विश्वकप मिति २ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिज ।

Με την υποστήριξη του Πρόσθετο Echo RSS με CodeRevolution.