२९ वैशाख, जनकपुरधाम । मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक (दशौं तह) डा.श्रवणकुमार नायक १६ मंसिर २०८० मा एघारौं तहमा बढुवा भए ।

मधेश प्रदेश लोकसेवा आयोगको विज्ञापन अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बढुवा समितिको निर्णयले उनी स्वास्थ्य सेवा समूह हेल्थ इन्स्पेक्सन एघारौं तहको निर्देशक पदमा बढुवा भएको सूचना १७ मंसिरमा गोरखा पत्रमा प्रकाशन भयो । तर, अहिलेसम्म नायक स्वास्थ्य निर्देशनालयमा वरिष्ठ जनस्वास्थ्य प्रशासक पदमै कार्यरत्त छन् ।

उनलाई दशौं तहका मेडिकल जर्नलिस्ट डा.राजिवकुमार झाको मातहतमा काम गनुपर्ने बाध्यता छ ।

झा संघका कर्मचारी हुन् भने नायक प्रदेशका । मधेश सरकारले प्रदेशका कर्मचारीलाई प्राथमिकताका आधारमा पदस्थापन गर्ने व्यवस्था छ । त्यसअनुसार बढुवा भएका नायक निर्देशक पदमा पदस्थापन भइसक्नु पर्ने हो । तर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अझैसम्म निर्देशक पदमा बढुवा भएका नायकको पदस्थापन गर्न चाहेको छैन ।

पदस्थापनका लागि नायक मुख्यमन्त्रीदेखि सचिवसम्म भौतारिरहेका छन् । मुख्यमन्त्री सरोजकुमार यादव यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधनप्रसाद कोइरी, यसअघिका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंह, प्रमुख सचिव, मन्त्रालयका सविचलाई गुहार्दै थाकिसकेका छन् । तर, अझैसम्म पदस्थापन कहिले हुने हो भन्ने ठेगान छैन ।

‘मुख्यमन्त्री, स्वास्थ्यमन्त्री, प्रमुख सचिव, सविच लगायत कहाँ महिनौदेखि पदस्थापन गरिदिनुस् भनेर धाउँदै छु । तर, कसैले वास्ता गरेको छैन । पीडित भइसकेको छु’ नायक गुनासो गर्छन् ।

बढुवा अनुसार पदस्थापन तथा नियुक्तिको माग गर्दै नायकले गत वैशाख २१ गते मुख्यमन्त्री कार्यालयमा निवेदन दिएका छन् ।

बढुवा अनुसार नियुक्ति वा पदस्थापन हुन नसके कारणसहित बढुवादेखि हालसम्मका कागजातको प्रतिलिपीसमेत उपलब्ध गराइदिन निवेदनमामा माग गरेका छन् । तर, उनको निवेदन भने दर्ता भएको छैन ।

मुख्यमन्त्री कार्यालयका कार्यकारी प्रमुख सचिव लोकनाथ पौड्यालले केही दिनमा पदस्थापन गरिदिने आश्वासन दिँदै दर्ता नगराउन भनेपछि नयाक पर्खाइमा छन् । अब ढिलो गरे मुख्यमन्त्री कार्यालयविरुद्ध अदालत जाने तयारीमा छन् नायक ।

‘प्रमुख सचिवले अब केहीदिनमा पदस्थापन हुन्छ भनेर निवेदन दर्ता गर्नु भएन । पदस्थापन पनि भएको छैन । अब ढिलाइ भयो भने अदालत जान्छु,’ नायकले भने ।

उनको पदस्थापन मुख्यमन्त्री सरोजकुमार यादवले नै गर्न नचाहेको कर्मचारीकै कुराबाट प्रष्ट हुन्छ । ‘नायकजीको पदस्थापनमा प्रशासनिक पक्षबाट हुनुपर्ने काममा कुनै कसर बाँकी छैन । अब किन भएन भन्ने अरु कुरा आफै बुझ्नुस्,’ कार्यकारी प्रमुख सचिव पौड्याल भन्छन् ।

मुख्यमन्त्रीले त्यसो नचाहनुमा संघीय सरकारको स्वास्थ्यमन्त्री उपेन्द्र यादवको दबाब रहेको स्रोतको दाबी छ । उनी निकट निर्देशनालयका निर्देशकसहित केही कर्मचारी छन् । त्यही कारण नायकलाई पदस्थापन गर्नुको साटो वर्तमान निर्देशक झालाई मुख्यमन्त्री यादवले दोहरो जिम्मेबारी पनि दिएको स्रोतको दाबी छ ।

नायकको बढुवा भइसकेको अवस्थामा निर्देशकझालाई महोत्तरीको जलेश्वर प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा गत माघ महिनामा मुख्यमन्त्री कार्यालयले दोहारो जिम्मेवारी दिएको थियो । जबकि एक जिल्ला बाहिर दोहरो जिम्मेवारी दिनु कानुनविपरीत हो ।

‘मुख्यमन्त्रीजीलाई पार्टी अध्यक्ष समेत रहेका उपेन्द्र यादवको दबाब छ । निर्देशनालयका निर्देशकसहित केही कर्मचारी उनकै निकट छन् । नायकको पद निर्देशक र त्यो पनि निर्देशनालयमै मात्र छ । नायकको पदस्थापनले झालाई हट्नु पर्ने बाध्यता छ,’ स्रोत भन्छ ‘उल्टै झालाई जिल्ला बाहिर कानुनविपरीत मुख्यमन्त्रीजीले प्रादेशिक अस्पतालको मेसुको पनि जिम्मेबारी दियो ।’

तर, मुख्यमन्त्री यादव उपेन्द्र यादवको दबाबमा बढुवा भएका नायकलाई पदस्थापन नगरेको कुरामा सत्यता नरहेको दाबी गर्छन् । ‘त्यस्तो केही कुरा छैन । श्रवण नायकको पोस्टिङ हुन्छ,’ मुख्यमन्त्री यादवले भने ।

डा.झालाई दोहरो जिम्मेवारीको विषयमा भने मुख्यमन्त्री यादवले परिस्थिति अनुसार दोहोरो जिम्मेवारी दिन मिल्ने बताए । त्यहाँका मेसुले सरुवा मागेपछि झालाई दोहोरो जिम्मेवारी दिएको उनको भनाइ छ ।

गत पुस महिनासम्म जलेश्वर अस्पतालका मेडेडिकल सुपरिटेन्डेन्ट डा.मुरारी ठाकुर थिए ।

मेसु डा.वर्षामाथि पनि झेल

मधेश सरकारको स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत जनकपुर प्रादेशिक अस्पतालमा कार्यरत मेडिकल अधिकृत (आठौं तह) डा.वर्षा प्रकाश माघ दोस्रो साता बढुवा भइन् ।

मधेश प्रदेश लोकसेवा आयोगको विज्ञापन अनुसार मुख्यमन्त्री कार्यालयको सिफारिसमा मेडिकल सुपरिटेन्डेन्ट (नवौ तह)मा बढुवा भएकी थिइन् वर्षा प्रकाश ।

बढुवापछि पहिलो पदस्थापन मुख्यमन्त्री कार्यालयबाट प्रादेशिक अस्पताल जलेश्वरमा भयो । गत फागुन १३ गते हाजिर भएकी डा.वर्षा प्रकाश एक महिना पनि टिक्न सकिनन् ।

उनको भनाइमा प्रादेशिक अस्पताल जलेश्वरकी विकास समिति अध्यक्ष मिनु झाले बस्न दिइनन् । ‘विकास समिति अध्यक्षले मलाई कामै गर्नु दिनुभएन । म पुगेपछि मेसुको क्वाटरमा ताल्चा लगाइदिनु भयो । मेसुको गाडी आफैं चढिराख्नु भएको थियो । अनेक दुःख दिएपछि म झग्डा गर्न अवस्थामा नगएर एक महिनामै म रिर्टन आएँ,’ डा.वर्षा प्रकाशले त्यसबेला भएको व्यवहार सुनाइन् ।

यो कुरा मुख्यमन्त्रीलगायत उपल्लो तहमा सबैलाई जानकारी गराए पनि कसैले केही नगरेको उनको गुनासो छ ।
यो विषयमा डा. वर्षा प्रकाश मुख्यमन्त्री कार्यालया कतिपटक पुगेर गुहार गरेकी थिइन् । तर, मुख्यमन्त्रीले केही नगरेको त्यहाँका कर्मचारीहरु सुनाउँछन् ।

यता जलेश्व अस्पतालकी विकास समिति अध्यक्ष मिनु झाले डा. वर्षा प्रकाश अख्तियारी लिएर नआएको र आउने बितिकै क्वाटर, गाडी खोजेर विवाद गर्न खोजेको र काम गर्न भन्दा आफै सरुवा गराएको दाबी गरिन् ।

‘मेसु भएको अख्तियारी लिएर आउनुभएन । आउने बितिकै क्वाटर, गाडी खोज्नु भयो । क्वाटर दिए पनि । मेसु त मैले बनाइदिने होइन । आफैं काम गर्न नचाहेर जानुभयो,’ उनले भनिन् ।

अहिले डा. वर्षा प्रकाश फर्केर मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमै हाजिर भइरहेकी छन् । डा.प्रकाश भन्छिन्, ‘यहाँ सबैलाई सबै कुरो थाहा छ । तर कसैले केही गर्दैन । बोल्दैन । सबै ठाउँमा उनीहरुको मान्छे छन् ।’

मिनु झा जसपाकी नेतृ हुन् ।

अझैसम्म जलेश्वर अस्पतालमा निर्देशनालयका निर्देशक रहेका झा मेसुमा कायम छन् ।

निर्देशनालयका निर्देशक झाले जलेश्वर नजिक भएकाले आफूलाई अन्य जिल्लामा पनि दोहरो जिम्मेवारी दिएको बताए ।

गत वर्ष पनि मुख्यमन्त्री सरोज यादवले वरिष्ठ कर्मचारीलाई पाखा लगाएर डा. झालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमित सचिवको जिम्मेबारी क्याबिनेटबाट दिएका थिए ।

आलोचना हुन थालेपछि केही दिनपछि पुनः झा भन्दा वरिष्ठ तत्कालीन प्रादेशिक अस्पतालका निर्देशक (एघारौं तह) Dr. प्रमोद यादवलाई सचिव बनाएका थिए ।

मुख्यमन्त्री कार्यालयमा कर्मचारी बढुवा, सरुवामा मुख्यमन्त्री यादवले आफ्नो स्वार्थ अनुसार मनपरी गर्ने गरेको विगतका घटनाक्रमहरु पनि सार्वजनिक भइसकेको छ । जसले पीडित कर्मचारी महिनौ भौतारिने र अदालत सम्म पुग्ने गरेका छन् ।

Desarrollado por el Complemento Echo RSS por CodeRevolution.