६ जेठ, काठमाडौं । दुई महिनादेखि प्रतिनिधिसभामा आफूमाथि लागेको आरोपको जवाफ दिन पाउनुपर्ने माग गर्दै आएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबार बोल्ने अवसर पाए । करिब ४० मिनेट सम्बोधन गरेका उनले आफूमाथि उठेका प्रश्नको जवाफ भन्दा बढी प्रश्न गर्नेहरुमाथि प्रश्न गरे ।

२१ फागुन २०८० मा कांग्रेस र माओवादी केन्द्रसहितको सत्ता समीकरण फेरिएपछि रास्वपा सभापति लामिछाने फागुन २३ गते गृहमन्त्री भएका थिए । त्यसपछि कांग्रेसले सहकारीको रकम अपचलनमा लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग राखेर संसद अवरोध गर्दै आएको थियो । २ चैत २०८० देखि त कांग्रेसले लामिछानेलाई प्रतिनिधि सभाको रोष्ट्रममा जान समेत अवरोध गर्दै आएको थियो ।

आइतबार कांग्रेस सहमत भएपछि संसदमा जवाफ दिएका उनले आफूमाथि राज्यका निकायले कहीँ कतै छानबिन, अनुसन्धान र अभियोजन नगरेको जिकिर गरे । ‘सहकारीको विषयमा अदालतमा कहीँकतै मुद्दा छैन । मैले बारम्बार भन्दै आएको छु–कहीँ, प्रतिवादी छैन । कसैको बयानले मलाई पोलेको छैन’ गृहमन्त्री लामिछानेको प्रष्टीकरण छ, ‘केही ज्ञापनपत्र पनि आएका छन्, त्यसमा पनि मेरो नाम छैन ।’

उनले आफू कुनै पनि सहकारीको सञ्चालक र सदस्य नभएको दाबी गरे । आफूमाथि आरोप लागेपछि त्यसबारे प्रष्ट हुनका लागि महान्यायाधिवक्ता कार्यालयमा चिठी लेखेको र त्यसआधारमा पत्र पाएको उल्लेख गर्दै उनले भनेका छन्, ‘उसले मलाई कहीँकतै मुद्दा नभएको, अभियोग नभएको पत्र दियो ।’

आमसञ्चार माध्यममा समाचार आएकै भरमा आफूमाथि संसदीय छानबिन गर्न नहुने भन्दै उनले त्यसो हो भने अरु नेताहरुको विषयमा पनि आमसञ्चार माध्यममा समाचार आएको बताए ।

‘देउवाबाट प्रधानमन्त्री प्रस्ताव’

आइतबार संसदको रोष्ट्रममा उभिएर गृहमन्त्री लामिछानेले आफूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले डेढ वर्ष प्रधानमन्त्री बन्न अफर गरेको बताए ।

लामिछानेले देउवालाई लक्षित गर्दै सोधे, ‘हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रुपमा स्वीकार गर्ने अफरको डेट एक्सपाएर भयो कि अझै बाँकी छ ? त्यसपछि म आफ्नो नैतिकताको परीक्षा दिउँला ।’

देउवाले गरेको प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेपछि कांग्रेसले संसद अवरोध गर्न थालेको लामिछानेले बताए । ‘राति प्रधानमन्त्रीको अफर अनि अफर अस्वीकार गरेपछि भोलिपल्ट सदन अवरुद्ध ? संसदीय समितिको माग ? यो राजनीतिको नैतिकताको कुन चाहिँ पृष्ठमा पर्दो रहेछ ?’ उनले सोधे ।

गगन थापामाथि आरोप

गृहमन्त्री लामिछानेले कांग्रेस महामन्त्री गगन थापाले त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति हुँदा रकम हिनामिना गरेको, कृषि अनुदानको रकम दुरुपयोग गरेको जस्ता विषय पनि आमसञ्चार माध्यममा आएको बताए ।

‘कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, माछा, खसीबोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔं । दुईतीन वटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेट्सलाई पनि बाहिर पठाऔँ, संसदबाट हटाऔँ । जतिसुकै शक्तिशाली होस्, देशको मन्त्री होस वा पार्टीको महामन्त्री किन नहोस्’, लामिछानेले भने ।

कांग्रेस महामन्त्री थापाले गृहमन्त्री लामिछानेले आफैंले निवेदन दिएर ऋण लिएको प्रमाण आफूसँग रहेको बताएका थिए । जवाफमा लामिछानेले त्यसको प्रमाण किन नदिएको भनी प्रश्न गरे ।

‘…मैले प्रमाण पाएको छैन । चिन्ता नगर्नुहोस् । तपाईंले राजनीति छोड्नुपर्दैन । किनभने तपाईंजत्तिको नेता यो देशलाई चाहिन्छ भनेर नै हामीले आज होइन धेरै पहिले नै विचार गरेका हौं’ लामिछानेले भने ।

‘अरुको छानबिन भए म पनि तयार छु’

गृहमन्त्री लामिछानेले कांग्रेस नेताहरुप्रति लक्षित गर्दै सञ्चार माध्यममा आएका केही विषयमा छानबिन समिति गठन गर्र्ने हो भने आफू पनि तयार भएको बताए ।

उनले त्रिचन्द्र कलेजमा पार्क निर्माण, त्रिविको वेबसाइट निर्माण, रातो पासपोर्टको दुरुपयोग, वाइटबडी जहाज खरिद, नक्कली भुटानी शरणार्थी, कैलालीको टीकापुर बजारको जग्गाका विषयमा आएक समाचारहरु माथि पनि छानबिन गर्नुपर्ने जिकिर गरे ।

उनले गगन थापाप्रति लक्षित गर्दै स्वास्थ्यमन्त्री भएका बेला सरुवामा रकम लेनदेन गरेको विषय पनि पत्रपत्रिकामा आएको बताए ।

‘स्वास्थ्यमन्त्री भएका बेला १४ करोड लिएर कसैले प्राध्यापक राजकुमार रौनियारलाई विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति बनाएको र पैसा बुझाउनुपर्ने भन्दै आएका दावीहरु पनि समाचारमा प्रशस्त आएका थिए’ गृहमन्त्री लामिछानेको प्रश्न छ, ‘आगामी दिन यस्ता विषयमा पनि समिति बनाउने हो कि होइन ? यो सदनले तय गरोस्, सुरु मबाट गरोस् ।’

वाइडबडी जहाज खरिद प्रकरणको विषय उठाउँदै रविले भने, ‘वाइडबडी जहाज घोटाला प्रकरणमा ०७४ सालमा भुक्तानी दिँदा पर्यटनमन्त्री कोही हुनुहुन्थ्यो । अर्बौंको घोटालामा मुछिनु भएको समाचार आएको थियो ।’

नक्कली भुटानी शरणर्थी प्रकरणमा कतिपय नेताको अडियो सार्वजनिक भएको पनि उनले बताए ।

त्यस क्रममा लामिछानेले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबारे २०७६ सालमा प्रकाशित एक समाचारको पनि प्रसंग उठाए ।

‘तीनपटक सांसद भएका एक जना सांसदले आफू संविधानसभाको सभासद भएको बेलामा कानुन छलेर जेठा छोराका दुई छोरा, नामसमेत उल्लेख गरेर कान्छा छोराका छोरा बनाइदिएका हुन्’, लामिछानेले भने ।

भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङ दोषी ठहर भएको सुनाउँदै लामिछानेले उनी संसदमै नाराबाजीमा सहभागी भएकामा प्रश्न उठाए ।

‘काण्डैकाण्डले पुरिएका पात्रहरू यतै कतै हुनुहुन्छ होला । खोतल्दै जाँदा क्याम्पसका लुट र अस्पतालका घुस नआउने होइनन् । तर इर्ष्या वा जलनमा सबैलाई छानबिनमा ल्याउने र डाम्ने विधि बनाउने हो कि नबनाउने हो यसबारे स्पष्ट हुन मात्रै मैले खोजेको हो’, लामिछानेले भने ।

Nork eskutik Echo RSS plugina arabera CodeRevolution.