१२ वैशाख, काठमाडौं । २०७९ र २०८० सालको छिन्नलता गीत पुरस्कार घोषणा भएको छ । छिन्नलता गीत पुरस्कार गुठीको काठमाडौंमा सम्पन्न साधारणसभाले दुई वर्षको पुरस्कार एकैपटक प्रदान गर्ने निर्णय गरेको हो । गत वर्ष प्राविधिक कारणले गर्दा पुरस्कार वितरण हुन सकेको थिएन ।

गुठीले २०७९ सालको छिन्नलता गीत पुरस्कार अन्तर्गत गायनतर्फ शिव परियार, गीत रचनातर्फ भूषण खरेल र संगीततर्फ मनराजा नकर्मीलाई पुरस्कार प्रदान गर्ने भएको छ । यसैगरी ‘परेलीमा बसुँ कि कलेजीमा बसुँ’ गीतबाट गायिका मेनुका पौडेललाई लोकप्रिय युवा प्रतिभा पुरस्कार प्रदान गर्ने गुठीले जनाएको छ ।

२०८० सालको छिन्नलता गीत पुरस्कार अन्तर्गत गायनतर्फ मनिला सोताङ, गीत रचनातर्फ वीरेन्द्र पाठक, संगीततर्फ चण्डीप्रसाद काफ्लेलाई प्रदान गरिने भएको छ । ‘पीरैपीर’ गीतबाट गायक भूपू पाण्डेलाई २०८० सालको लोकप्रिय युवा प्रतिभा पुरस्कार प्रदान गर्ने गुठीले घोषणा गरेको छ ।

यसपटकदेखि छिन्नलता गीत पुरस्कारको राशिसमेत ५० हजारबाट बढाएर जनही एक लाख रुपैयाँ पुर्‍याइएको छ । यस्तै छिन्नलता युवा प्रतिभा पुरस्कारको राशि ३५ हजारबाट बढाएर ५० हजार रुपैयाँ कायम गरिएको छ ।

आगामी साउन २ गते विशेष समारोहको आयोजना गरी पुरस्कार वितरण गरिने छिन्नलता गीत पुरस्कार गुठीले जनाएको छ ।

طراحی شده توسط پلاگین Echo RSS توسط CodeRevolution.