भर्खरै मात्र धेरैजनाले दाम्पत्य जीवन सुरु गरिसकेका छन् । त्यसैले उनीहरुको निम्ति सरोकारको विषय हुनसक्छ, निःसन्तानपन ।

निःसन्तानपन कस्तो स्थितीलाई भन्ने ? त्यसका कारण के हुनसक्छ ? यदि सन्तान जन्मिएन भने के गर्ने ? के आइभिएफ विधिबाट यो सबै संभव हुन्छ रु यो कस्तो विधि हो ? स्वभाविक रुपमा जाग्ने प्रश्न हुन् यी ।

त्यसो त अहिले ढिलो विवाह गर्ने प्रवृत्ति व्यापक छ । यस्तो स्थितीमा गर्भधान गर्न कुनै कठिनाई हुन्छ रु ३५ वा ४० बर्ष उमेरपछि गर्भधान गर्नु परेमा के गर्ने ?

यी सम्पूर्ण कुरालाई सरल भाषामा बुझौं ।

निःसन्तानपन के हो ?

कुनैपनि दम्पतीले सन्तानको योजना बनाएका छन् । त्यस अनुरुप कुनै गर्भनिरोधक साधन प्रयोग नगरी नियमित यौन सम्पर्क गरेका छन् र एक बर्षसम्म पनि यो क्रम जारी छ । तर, गर्भ रहेन भने त्यस्तो स्थितीलाई निःसन्तानपन भनिन्छ ।

के कारणले यस्तो हुन्छ ?

यसको एउटा मात्र कारण छैन । र, यसमा एकजना मात्र जिम्मेवार छैनन् ।

महिलाको हकमा भन्ने हो भने, डिम्ब निष्कासन हुन नसक्नु वा त्यसको वृद्धिविकास हुन नसक्नु एउटा कारण हो । डिम्बवाहिनी नलीमा अवरोध, पाठेघरमा पटकपटक संक्रमण, वंशानुगत समस्या र ढिलो विवाह जस्ता थुप्रै कारण छन् ।

पुरुषको हकमा शुक्रकिटको संख्यामा कमी हुनु, कमसल गुणस्तरको हुनु जस्ता कारणले निःसन्तानपनको समस्या ल्याउँछ ।

वैदेशिक रोजगार पनि अहिले निःसन्तानपनको एउटा मूख्य कारण बनेको छ । खाडी मुलुकको चर्को गर्मीमा काम गर्दा विर्यको गुणस्तरमा कमी आउँछ ।

अहिले विभिन्न हिसाबले परिपक्क भएर मात्र विवाह गर्ने प्रवृत्ति छ । पहिले जस्तो २०–२२ बर्ष पुगेपछि विवाहका लागि हतार गरिँदैन । आरामले ३०–३२ पछि विवाह गरिन्छ । यसको असर हुन्छ, गर्भाधानमा । खासगरी महिलाको हकमा ३५ बर्ष पार गरेपछि गर्भाधानमा समस्या आउन सक्छ ।

निःसन्तानपन भए के गर्ने त ?

निःसन्तान दम्पतीका लागि अहिले वरदान हो, आइभिएफ । बोलीचालीको भाषामा यसलाई ‘टेस्ट ट्युब बेबी’ भन्ने गरेका छन् ।

आइभिएफ के हो ?

यो एक किसिमको गर्भधारण गराउने कृत्रिम प्रविधि हो । यसको केही प्रचलित विधि छन् ।

जस्तो कुनै महिलामा डिम्वको समस्या हुनसक्छ । यस्तो अवस्थामा महिनावरी भएको दोस्रो दिनदेखि हर्मोनयुक्त सुई दिइन्छ । यसले डिम्बको बृद्धि विकास राम्ररी हुन्छ । परिपक्व डिम्ब सानो विधि मार्फत् निकालेर प्रयोगशालामा उनको पुरुष पार्टनरको शुक्रकिटसँग मिलन गराइन्छ ।

डिम्ब र शुक्रकिटको मिलनबाट निषेचन प्रक्रिया गराईन्छ । उक्त निषेचित डिम्ब महिलाको गर्भाशयमा राखिन्छ । यही प्रक्रियालाई आइभिएफ भनिन्छ ।

महिलाको डिम्ब भण्डारण

एकल महिला छन् । अर्थात् विवाह भएको छैन । चाँडै विवाह गर्ने कुनै योजना पनि छैन । यसको अलावा महिलाले केमो लिनुपर्ने अवस्था आयो वा डिम्बाशयमा दखल पुग्ने कुनै परिस्थिति आउनु अगाडि त्यस्ता महिलाको डिम्बलाई भण्डारण (फ्रिज) गरेर राख्न सकिन्छ । जसलाई एग फ्रिजिङ भनिन्छ । पछि विवाह भएपछि वा उपचार सम्पन्न भएपछि सोही डिम्बलाई श्रीमानको शुक्रकिटसँग मिलन गराएर भ्रुणमा विकास गर्न सकिन्छ ।

यसरी संकलित डिम्बलाई आफ्नो आवश्यकता वा ईच्छा अनुसार १०–१५ वर्षसम्म भण्डारण गरेर राख्न सकिन्छ । आफूलाई बच्चा जन्माउन मन लागेपछि गर्भधारण गर्न सकिन्छ ।

पुरुषको बिर्य भण्डार

पुरुषले पनि आफ्नो विर्यलाई भण्डारण गर्न गर्न सक्छन् । यो कुन स्थितीमा जरुरी हुनसक्छ भने कुनै पुरुष वैदेशिक रोजगारीमा जानु छ वा सन्तानको तुरुन्त योजना छैन भने ।

पछि सोही विर्य प्रयोग गरि आफ्नी श्रीमतीको डिम्बमा निषेचन गराएर भ्रुण विकास गर्न सकिन्छ ।

निषेचित डिम्ब पनि भण्डारण

प्रविधिले दिएको यो एक उच्चतम सुविधा हो । यदि कुनै दम्पतीले तुरुन्त सन्तानको योजना बनाएका छैनन् भने उनीहरुले आफ्नो डिम्ब र शुक्रकिटबाट निषेचन गराएर त्यसलाई भण्डारण गर्न सक्छन् । यसलाई उनीहरुले आफ्नो अनुकुलता अनुसार चाहेको बेला पाठेघरमा प्रतिष्ठापन गराएर गर्भधान गराउन सक्छन् ।

यसले के फाइदा हुन्छ भने उनीहरुले आफ्नो उमेर छँदै स्वस्थ डिम्ब र गुणस्तरिय शुक्रकिटबाट भ्रुण विकास गर्न सक्छन् ।

डिम्ब भण्डारण गरेको छ भने पनि त्यसलाई निकालेको केही घण्टामा शुक्रकीट इन्जेक्ट गरेर त्यसलाई निषेचित गराएर ५ देखि ७ दिनमा तयार भएको भ्रुण वा निषेचित डिम्बलाई उपयोगमा ल्याउन सकिन्छ ।

यस दम्पतीले चाहेको बेला गर्भधान गर्न सकिन्छ । यसका लागि महिलालाई केही औषधि खान दिइन्छ, जसले पाठेघर राम्ररी तयार हुन्छ । त्यसरी तयार पारिएको पाठेघरमा लगेर निषेचित डिम्ब राखिन्छ । त्यसपछि प्राकृतिक रुपमा भ्रुणलाई आमाको पाठेघरमा विकास हुन दिइन्छ ।

डिम्ब दान

महिलाहरुको उमेर बढी भएमा वा कतिपय शारीरिक समस्या भएमा डिम्बको गुणस्तर कमसल हुनसक्छ । यस्तो अवस्थामा गर्भधान गर्दा पछि बच्चाको स्वस्थ्य राम्रो नहुन सक्छ । त्यसैले बच्चा स्वस्थ हुनका लागि डिम्ब एकदमै राम्रो हुन जरुरी छ ।

पुरुषको शुक्रकिट कमसल भएको अवस्थामा जसरी विर्य दान गराउन सकिन्छ, त्यसैगरी महिलाको डिम्ब राम्रो नभएमा अरु कुनै महिलाबाट स्वस्थ डिम्ब दान लिन सकिन्छ ।

यसरी अरु महिलाबाट लिएको डिम्बलाई आफ्नो श्रीमानको शुक्रकिटसँग निषेचन गराउन सकिन्छ । अनि त्यसलाई आफ्नै गर्भाशयमा लगेर हुर्काउन सकिन्छ ।

कसले गर्न सक्छ डिम्ब वा शुक्रकिट दान ?

कुनै महिलाको डिम्ब कमसल छ वा डिम्ब उत्पादन भएको छैन भने पनि गर्भाधान हुँदैन । यसैगरी महिलाको उमेर बढी छ भने उनको डिम्बको गुणस्तर राम्रो नहुन सक्छ । यी अवस्थाहरुमा अरु कुनै महिलाको डिम्ब दान लिन सकिन्छ ।

खासगरी ३० बर्ष उमेर पुरा नगरेको, स्वस्थ, कुनैपनि समस्या नभएका महिलाबाट डिम्ब दान लिन सकिन्छ । यसैगरी महिला र पुरुष दुबैमा समस्या छ । अर्थात् महिलाको डिम्ब र पुरुषको शुक्रकिट पनि कमसल भएमा अरु पुरुष र महिलाको डिम्ब र शुक्रकिट दान लिन सकिन्छ ।

डिम्ब र शुक्रकिट किन स्वस्थ हुन जरुरी छ ?

मानसिक र शारीरिक रुपले स्वस्थ बच्चा जन्माउनका लागि आमाको डिम्ब र बुवाको शुक्रकिट पनि गुणस्तरिय हुन जरुरी छ ।

तर, कतिपय कारणले महिलाको डिम्ब र पुरुषको शुक्रकिट गुणस्तरहीन हुन सक्छ । वा त्यस्तो उत्पादन नहुन पनि सक्छ । यस्तो अवस्थामा गर्भाधान गर्नै नसकिने हुन्छ ।

कुनैपनि महिलाले आफू जन्मँदा नै निश्चित डिम्बको भण्डार लिएर जन्मिएका हुन्छन् । उनको उमेर २८–२९ बर्षसम्म हुँदा उक्त डिम्बको संख्या र गुणस्तर कायम रहन्छ । तर, जति उमेर बढ्दै जान्छ, उक्त डिम्बको गुणस्तर र संख्या घट्दै जान्छ ।

पुरुषको हकमा पनि यस्तै हुन्छ । एउटा निश्चित उमेरसम्म उनको शुक्रकिटको संख्या र गुणस्तर राम्रो हुन्छ । उमेर ढल्कँदै गएपछि भने त्यसमा ह्रास आउँछ ।

Docteur. श्रेष्ठ प्रसूति तथा स्त्रीरोग एवं प्रजनन रोग विशेषज्ञ हुन् । उनी वात्सल्य नेचुरल आइभिएफमा कार्यरत छिन् ।

Propulsé par le Plugin RSS Echo par CodeRévolution.