८ जेठ, सुर्खेत । यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लिन अस्वीकार गरेका एमाले नेता विनोदकुमार शाह अन्तत: सोही मन्त्रालय लिएर कर्णाली सरकारमा सहभागी हुने भएका छन् ।

शाहले बुधबार दिउँसो साढे ३ बजे प्रदेश प्रमुखको कार्यालयमा भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रुपमा शपथ ग्रहण गर्नेछन् ।

मुख्यमन्त्री कँडेलले १८ वैशाखमा एमालेबाट ३ र सत्तारुढ दल माओवादी केन्द्रबाट ३ गरी ६ जना मन्त्री नियुक्त गरेका थिए ।

तर, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएका एमाले नेता शाहले कँडेलले एकलौटी गरेको र पार्टी केन्द्रको निर्देशन विपरीत आफूलाई सामान्य मन्त्रालय दिएको भन्दै शपथ बहिष्कार गरेका थिए ।

मुख्यमन्त्री कँडेलले मन्त्री पदको शपथ नलिएका शाहलाई २ जेठमा मन्त्रिपरिषद्‍बाट हटाउँदै उक्त मन्त्रालय आफूसँगै राखेका थिए ।

कर्णालीमा कँडेल र शाहले पार्टीभित्र छुटाछुटै गुट चलाउँदै आएका छन् । प्रदेशमा कँडेलले एकलौटी गरेको भन्दै शाहले काठमाडौँ गएर केन्द्रका नेतासँग छलफल गरेका थिए । पार्टी केन्द्रको दबाबपछि मुख्यमन्त्री कँडेलले शाहलाई मनाएर कृषि मन्त्रीमा नियुक्त गरेको एमाले स्रोतको भनाइ छ ।

Powered by da Maimaita RSS Plugin by Juyin Halitta.