२ जेठ, हेटौंडा । बागमती प्रदेश सरकार स्थापना भएको साढे ६ वर्षमा चार पटक मन्त्रालय विभाजन भएका छन् ।

चारै पटक मन्त्रालय फुटाउने र जुटाउने कार्यमा गठबन्धन टिकाउनु प्रमुख कारण बनेको छ । २०७४ मा प्रदेश स्थापना भएपछि पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले ७ वटा मन्त्रालय बनाएका थिए । साढे ३ वर्ष सरकारमा बसेका उनले ७ वटै मन्त्रालयबाट सरकार चलाएका थिए ।

तत्कालीन नेकपा विभाजनपछि भने बागमतीमा मन्त्रालय टुटफुट चलिरहेको छ । पछिल्लो पटक वर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रालय विभाजन गरे । सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय आज बुधवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

सामाजिक विकास मन्त्रालय नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तानले सम्हाल्दै आएकी छन् । गत १९ चैतमा विनाविभागीय मन्त्री नियुक्त भएकी नेकपा (एकीकृत समाजवादी)की रमा आले मगरलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

बागमतीमा अब १३ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउन मगरलाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए । विश्वासको मतका लागि एक सांसदको समर्थन आवश्यक भएको अवस्थामा मन्त्री मगर प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि उनलाई मन्त्रीमा नियुक्त गरिएको थियो ।

जम्कट्टेलले डेढ वर्षको कार्यकालमा दुई पटक मन्त्रालय विभाजन गरे । यसअघि नेपाली कांग्रेस, एकीकृत समाजवादीसहितको सरकारमा कांग्रेसबाट रामकृष्ण चित्रकारलाई जिम्मेवारी दिन मन्त्रालय विभाजन गरेका थिए ।

७ जेठ २०७९ मा मन्त्रिपरिषद विस्तार गर्दा चित्रकारलाई विनाविभागीय मन्त्री बनाइएको थियो । ५ भदौमा उनलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । त्यतिबेला पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरेर थपिएको उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा चित्रकारलाई दिइएको थियो ।

मुख्यमन्त्री जम्कट्टेलले १० माघ २०७९ मा मन्त्रालय संख्या घटाएर ११ वटा कायम गरेका थिए । त्यसअघिको १४ वटा मन्त्रालय रहेकामा कम बजेट भएका र प्रभावकारी काम नदेखिएका ३ वटा मन्त्रालय कटौती गरिएको थियो । मुख्यमन्त्रीमा पदभार ग्रहण गर्दै मन्त्रालय संख्या घटाउन कार्यदल गठन गरेका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन प्रमुख सचिव मुकुन्द निरौलाको संयोजकत्वमा रहेको कार्यदलले मुख्यमन्त्री जम्कट्टेललाई मन्त्रालय संख्या निर्धारण गर्न दुईवटा विकल्प दिएको थियो । कार्यदलले कम्तीमा ९ वटा र बढीमा ११ वटासम्म मन्त्रालालय राख्न सकिने विकल्प दिएको थियो ।

कार्यदलले ९ र ११ वटा मन्त्रालय हुँदा खर्च र आम्दानीको हिसाबसमेत प्रतिवेदनमा उल्लेख गरेको थियो । कार्यदलका अनुसार एउटा मन्त्रालयको वार्षिक खर्च ७३ लाख रुपैयाँ रहेको छ ।

११ वटा मन्त्रालय बनाउँदा मसलन्दबाहेक तलब भत्तालगायतका खर्च वार्षिक साढे ८ करोड हुने कार्यदलको निष्कर्ष थियो । ९ वटा मन्त्रालय बनाउँदा वार्षिक साढे ६ करोड रुपैयाँ खर्च हुने कार्यदलले जनाएको थियो ।

पाण्डेले आठ मन्त्रालय फुटाएर १४ बनाए

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गठबन्धनमा भागबण्डा मिलाउन ८ वटा मन्त्रालय फुटाएर १४ वटाको जम्बो मन्त्रिपरिषद् गठन गरेका थिए ।

११ कातिक २०७८७ मा नयाँ गठबन्धनको नेतृत्व गर्दै गरेका पाण्डेले १५ मंसिरको मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएका थिए । उनले एउटै मन्त्रालयलाई तीन टुक्रासमेत बनाएका थिए । पाण्डेले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाएका थिए ।

सामाजिक विकास मन्त्रालय फुटाएर यूवा तथा खेलकुद मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बनाएका थिए ।

भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय बनाइएको थियो ।

अष्टलक्ष्मीबाट मन्त्रालय फुटाउन सुरुवात

तत्कालीन नेकपा विभाजनपछि भदौ २०७८ मा दुई महिना मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय बनाएकी थिइन् ।

शाक्यले ७ वटा मन्त्रालयलाई स्वास्थ्य थप गरेर ८ पुर्‍याएकी थिइन् । एमालेको एकल सरकारमा उनले ४ जनालाई राज्यमन्त्री बनाएकी थिइन् ।

शाक्यले आफ्नो सरकार अल्पमतमा परेपछि १० कात्तिक २०७८ मा पदबाट राजीनामा दिएकी थिइन् । छोटो कार्यकालमा महत्वका काम गर्न नसके पनि शाक्यले पहिलो महिला मुख्यमन्त्रीको नाम भने लेखाइन् ।

डेढ वर्षमै २१ जना मन्त्री

२५ पुस २०७९ मा बागमतीको मुख्यमन्त्री नियुक्त शालिकराम जम्कट्टेलले डेढ वर्षको अवधिमा २१ जनालाई मन्त्री बनाएका छन् ।

एमाले–माओवादी–राप्रपासहितको समर्थनमा मुख्यमन्त्री बनेका उनले पछि कांग्रेस र एकीकृत समाजवादीसँग सहकार्य गरे । २३ फागुनमा कांग्रेस सरकारबाट बाहिरिएपछि पुनः एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सम्मिलित सरकार बनाएका छन् ।

बागमतीमा ११ वटा मन्त्रालय र मुख्यमन्त्रीसमेत गरेर १२ सदस्यीय मन्त्रिपरिषद थियो । तर अहिले एक जना विना विभागीय मन्त्रीसमेत गरेर मन्त्रिपरिषद १३ सदस्यीय बनेको छ ।

तेस्रो पटक १९ चैतमा विश्वासको मत पाएपछि २० चैतको साँझ नेकपा एमालेका चार जना मन्त्रीलाई शपथ गराउँदै जम्कट्टेलले सरकारलाई पूर्णता दिएका थिए ।

מופעל על ידי הד תוסף RSS על ידי קוד התפתחות.