३१ वैशाख, काठमाडौं । यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । वर्षा धेरै हुँदाहुँदै तापक्रम पनि बढ्ने भएकाले मौसमी घटना धेरै हुनसक्ने मौसमविदहरुको चेतावनी छ ।

दक्षिण एसियाली जलवायु फोरम र अन्तर्राष्ट्रिय विज्ञहरुको विश्लेषणका आधारमा विभागले यस वर्षको मनसुनबारे आफ्नो प्रक्षेपण सार्वजनिक गरेको छ ।

विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तरी–पश्चिमी भूभाग, बागमती प्रदेशको दक्षिण–पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिमी भूभागमा सरदर नै वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

देशका अधिकांश स्थानमा अधिकतम र न्यूनतम दुवै तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको विभागका वरिष्ठ मौसमविद सुदर्शन हुमागाईंले जानकारी दिए । कर्णाली प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको उत्तर–पूर्वी भूभागमा अधिकतम तापक्रम तथा सुदूरपश्चिम, गण्डकी र बागमती प्रदेशका थोरै भूभागमा न्यूनतम तापक्रम सरदर रहने सम्भावना छ ।

वर्षा धेरै हुँदाहुँदै तापक्रम बढ्नुलाई राम्रो संकेत मान्न नसकिने विभागका वरिष्ठ मौसमविद सुदर्शन हुमागाईं बताउँछन् । ‘वर्षा पनि सरदरभन्दा बढी र तापक्रम पनि सरदरभन्दा बढी हुँदा हामीले चरम मौसमी घटनाहरु धेरै व्यहोर्नुपर्छ कि भन्ने अनुमान गर्न सक्छौं । त्यसैले चनाखो हुनुपर्ने देखिन्छ,’ हुमागाईंले भने ।

सम्भावित जोखिम

मनसुन दक्षिण हिन्द महासागरबाट सुरु हुन्छ । सामान्यतया नेपालमा १३ जुनबाट मनसुन प्रवेश गरेर २ अक्टोबरमा बाहिरिने गर्छ । नेपालमा सबभन्दा छोटो मनसुन अवधि सन् १९७९ मा थियो । सो वर्ष ७३ दिन मात्रै मनसुन अवधि कायम थियो । गतवर्ष भने सर्वाधिक लामो मनसुन अवधि १३४ दिन थियो ।

दक्षिणपूर्वी वायुसहितको प्रणाली पूर्वी नेपालबाट प्रवेश गर्छ र पानी पर्न सुरु हुन्छ । यो प्रणाली मध्य भूभाग हुँदै पश्चिमसम्म फैलिन्छ । पूर्वी वायुलाई पश्चिमी वायुले विस्थापित गरेपछि मनसुन पनि बाहिरिएको मानिन्छ ।

सम्बन्धित ठाउँको ३० देखि ४० वर्षको अवधिमा परेको वर्षाको तथ्याङ्कको आधारमा औसत वर्षाको मात्रा निकालिन्छ । ११० प्रतिशतभन्दा बढी वर्षा भएमा औसतभन्दा बढी भएको मानिन्छ । ठाउँअनुसार औसत वर्षाको मात्रा फरक–फरक हुनसक्छ ।

मनसुन अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशत पानी पर्दछ । मनसुन अवधिमा औसतमा १ हजार ४३० देखि १ हजार ५३० मिलिमिटरसम्म वर्षा हुने गर्छ । कुनै वर्ष त्योभन्दा १० प्रतिशत घटी वा बढी वर्षा भए पनि औसत नै मानिन्छ ।

गत वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी परेको थियो । केही स्थानमा मात्र सरदर र सरदरभन्दा बढी वर्षा मापन भएको थियो ।

गएको हिउँद अवधि जल तथा मौसम विज्ञान विभागले गरेको प्रक्षेपण विपरीत सुक्खा बितेको थियो । नेपालमा हिउँद भनेर १५ मंसिरदेखि १७ फागुनसम्मको अवधिलाई बुझिन्छ । यो अवधिमा विभागले सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । तर हिउँद अवधिमा सरदर ६० प्रतिशत वर्षा हुनुपर्नेमा यस वर्षसम्म १२.५ मिलिमिटर मात्र पानी परेको थियो । चरम सुक्खायाम हुँदा यस वर्ष डढेलोका घटना पनि देशभर बढेको छ ।

जलवायु परिवर्तनको असरको मार विश्वले नै व्यहोरिरहेकाले नेपालमा पनि चरम मौसमी घटना नहोला भन्न नसकिने मौसमविदहरुको भनाइ छ । यसै वर्ष दुबई र अफगानिस्तानमा अस्वाभाविक वर्षा, बाढी र डुबानका घटना भएकाले नेपालमा पनि त्यस्ता घटनाको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल बताउँछिन् । मौसमी प्रवृत्ति धेरै नै अनिश्चित हुँदै गएको भन्दै उनले भनिन्, ‘जलवायु परिवर्तनको असरको मार विश्वले नै व्यहोरिरहेको हुँदा नेपालमा हामीले भनेको भन्दा विपरीत पनि हुनसक्छ ।’

यस वर्ष बढी डढेलो लागेका कारण बाढी र पहिरोको जोखिम पनि धेरै रहेको डढेलोविज्ञ सुन्दर शर्मा बताउँछन् । ‘डढेलो लाग्दा जमिन सुक्खा हुने, चिरा पर्ने र पानी सोस्ने क्षमता घट्छ,’ शर्मा भन्छन्, ‘डढेलोले वन बुट्यान सखाप पारेकाले पानी सिधै जमिनमा ठोक्किने भएकाले बाढी–पहिरोको जोखिम बढ्छ ।’

‘प्रतिकार्य योजना आवश्यक’

दक्षिण एसियाली देशमा मनसुनलाई ठूलो असर गर्ने प्रणाली प्रशान्त महासागरमा देखिने ‘ला–निनो’ र ‘अल–निनो’ गतिविधि हो ।

समुद्रको सतहको तापक्रम औसतभन्दा चिसो भयो भने ‘ला–निनो’ भनिन्छ । यसको असर वायुमण्डलमा पर्दा औसतभन्दा बढी वर्षा हुन्छ र बाढी पहिरोको जोखिम बढी हुन्छ ।

‘ला-निनो’को ठिकउल्टो ‘अल–निनो’ हो । गत वर्ष अल-निनोको प्रभाव थियो । त्यसैले नेपालमा कम वर्षा भएको थियो । यस वर्ष मनसुन अवधिको सुरुका दुई महिना (जुन–जुलाई)मा ‘अल–निनो’को स्थिति तटस्थ अवस्थामा रहने अनुमान छ ।

त्यसपछिका दुई महिना अर्थात् (अगस्ट–सेप्टेम्बर) मा भने ‘ला–निनो’को अवस्था हुने मौसमविदको निष्कर्ष छ ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्य मनसुनजन्य विपदको असर बहुआयामिक हुने बताउँछन् । यसबाट जनधनको क्षति हुनाका साथै कृषि, स्वास्थ्य र देशको अर्थतन्त्र नै प्रभावित हुने भएकाले क्षति न्यूनीकरणका लागि पूर्व तयारी र सतर्कता आवश्यक रहेकोमा उनी जोड दिन्छन् ।

जल तथा मौसम विज्ञान विभागले मनसुन प्रक्षेपण जारी गरेपछि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित जोखिम क्षेत्र र हुनसक्ने क्षतिको आँकलन सार्वजनिक गर्दछ । अहिले प्राधिकरण त्यसकै आन्तरिक तयारीमा रहेको सीईओ अनिल पोखरेल बताउँछन् ।

नेपालमा बाढी, पहिरो र भारी वर्षा मनसुनजन्य प्रमुख विपद हुन् । विगतका वर्षहरुमा बाढीबाट भन्दा पहिरो र चट्याङबाट बढी मानवीय क्षति हुने गरेको अभिलेख छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईका अनुसार २०८० सालको मनसुन (३१ जेठ–२८ असोज) अवधिमा ६३ जनाको ज्यान गुमेको थियो भने ५ हजार ९३७ घर परिवार प्रत्यक्ष प्रभावित भएका थिए । पहिरोका ४५९, भारी वर्षाका १६८, बाढीका १४२ र चट्याङका १२३ गरी जम्मा ८९२ घटना अभिलेख भएका थिए । यी घटनाबाट ९२ जनाको मृत्यु, ३० जना बेपत्ता र १६८ जना घाइते भएका थिए ।

मनसुन नजिकिँदै गएकाले सम्भावित क्षतिबाट जोगिन प्रतिकार्य योजना आवश्यक रहेको भट्टराई बताउँछन् । ‘नेपालको १०–११ वर्षको तथ्यांकहरुलाई हेर्दा विपदका कारण जति पनि क्षति हुन्छन्, सबैभन्दा बढी मनसुनजन्य विपदका कारणले हुन्छन्,’ डा. भट्टराई भन्छन्, ‘त्यसकारण प्रतिकार्य योजना जरुरी छ ।’

Pokreće Dodatak za eho RSS po CodeRevolution.