१४ वैशाख, काठमाडौंं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउने गरी आजैदेखि काम गर्न पूर्वकर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार काठमाडौंमा भएको पूर्वकर्मचारी समाज नेपालको छैटौं साधारण सभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

उनले लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठूलो र महत्वपूर्ण भूमिका रहेको बताए । देउवाले भने, ‘हरेक राजनीतिक परिवर्तन र उपलब्धिमा तपाईंहरूको भूमिका छ । अबको निर्वाचनमा कांग्रेसलाई पूर्ण बहुमत दिलाउन आजै अभियान थाल्नुस् ।’

देउवाले सरकार परिवर्तन भइरहे पनि कर्मचारीतन्त्र स्थायी हुने बताए । ‘जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर कर्मचारीहरूलाई छ,’ उनले भने, ‘सरकारको सफलता र असफलतामा कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ ।’

सभापति देउवाले पार्टी बलियो बनाउने काममा एकजुट भएर लाग्न आवश्यक रहेको बताए ।

Didukung oleh Plugin RSS Echo oleh CodeRevolution.