१ जेठ, काठमाडौं । संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लचिलो भएपछि मंगलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम सहजै प्रस्तुत भयो । तर राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सत्तारुढ दलका सांसदहरुमा अपेक्षित उत्साह देखिएन ।

साथै नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा संसदले राष्ट्रपतिलाई धन्यवाद दिने परम्परा भने यसपटक जोगिएन ।

सहकारी अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति माग गर्दै आएको कांग्रेसमा नीति तथा कार्यक्रम समेत प्रस्तुत गर्न दिन नहुने मत बलियो थियो ।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर सम्वादपछि मंगलबार विहान कांग्रेस संसदीय दलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगर्ने निर्णय निर्णय लियो ।

अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलले २१७ बुँदा लामो नीति कार्यक्रम वाचन गरेका छन् । करिव २ घण्टा लामो सम्बोधनका क्रममा सांसदहरुले एक पटक पनि टेबुल ठोकेनन् ।

विगतमा नयाँ कार्यक्रम घोषणा गर्दा वा पुरानै कार्यक्रमले निरन्तरता पाउँदासमेत संसदमा सत्तापक्षका सांसदहरु जोडदार रुपमा ढ्यापढ्याप गरेर समर्थन जनाउँथे । तर मंगलबार संघीय संसदको दृश्य त्यस्तो देखिएन ।

बरु एउटा कार्यक्रम घोषणा हुँदा हाँसोको फोहरा छुट्यो । सरकारले नीति तथा कार्यक्रममा महिलालाई आर्थिक रुपमा सक्षम, सबल र सशक्त बनाउन ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने योजना अघि सारेको छ ।

नीति तथा कार्यक्रम पढिरहेका राष्ट्रपतिले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेपछि संसदमा हाँसोको फोहरा छुट्यो । सत्तारुढ, विपक्षी सबै सांसदहरुले आफूतिर हेर्दै हाँसेपछि प्रधानमन्त्री प्रचण्ड पनि हाँसेका थिए ।

त्यसपछि फेरि एकोहोरो राष्ट्रपतिको वाचन । एकैपटक अन्तिममा राष्ट्रपति पौडेलले २१७ बुँदा लामो नीति तथा कार्यक्रम पढेपछि सत्तारुढ सांसदहरुले टेबुल ठोके ।

यस्तो हुनुको पछाडि सांसदहरुको ध्यान सरकारले ल्याएका कार्यक्रम भन्दा अन्यत्र रहनु रहेको बताउँछन् सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे ।

‘नीति तथा कार्यक्रम पेस हुनु ठूलो संघर्ष गरेर प्राप्त गरेको फल जस्तो भयो । फेरि अर्को बैठक कसरी खोल्ने भन्नेतिर हाम्रो ध्यान थियो’ उनले भने, ‘यसकारण आज संसदमा अपेक्षित ढ्यापढ्याप भएन ।’

राष्ट्रपति पौडेलको स्वास्थ्य समस्या र त्यसले प्रस्तुतीमा पारेको असरले पनि काम गरेको उनको बुझाइ छ । ‘अघिल्लो पटक राष्ट्रपतिजी बिरामी भएको अवस्थामा आएर नीति तथा कार्यक्रम प्रस्तुत गर्दा जोशका साथ पढ्नुभएको थियो । यसपटक त्यस स्तरको जोश आएन’, मुख्य सचेतक पाण्डेले भने ।

सांसदहरुको अभिव्यक्ति जेजस्तो भएता पनि नीति तथा कार्यक्रम समग्रतामा सकारात्मक आएको र यसको प्रभावकारी कार्यान्वयनले मुलुकलाई रुपान्तरण गर्न सक्ने उनको विश्वास छ ।

माओवादी मुख्य सचेतक पाण्डे थप्छन्, ‘अभिव्यक्त गर्ने भन्दा पनि कार्यान्वयनले नीति तथा कार्यक्रमको प्रभावितकारिता मापन गर्छ । यसकारण अब यसतर्फ ध्यान दिनु उपयुक्त हुन्छ ।’

धन्यवाद पनि दिन सकेन

नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा सत्तारुढ सांसदहरुले ढ्यापढ्याप गरेर अपनत्व नलिएको मात्र होइन, सिंगो संसदले राष्ट्रपतिलाई धन्यवाद पनि दिन सकेन ।

राष्ट्रियसभा र प्रतिनिधिसभा दुबैमा प्रमुख प्रतिपक्षी कांग्रेसले अवरोध गर्‍यो । संयुक्त बैठकलाई सम्बोधन गरेपछि राष्ट्रपति पौडेल शीतल निवास फर्किए ।

राष्ट्रपति फर्किएलगत्तै राष्ट्रियसभाको बैठक बस्यो, जहाँ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची थियो । तर बैठक सुरु भएलगत्तै कांग्रेसले अवरोध गर्‍यो । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले राष्ट्रपतिलाई धन्यवाद दिने मात्र कार्यसूची रहेकाले सहयोग गर्न आग्रह गरे ।

तर कांग्रेस सांसदहरुले मानेनन् । उनीहरुले सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन नभएसम्म सदनको कामकारबाही अगाडि बढ्न नसक्ने अडान लिए । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष दाहालले कार्यसूचीमा भएका विषय हटाएर बैठक स्थगित गरे ।

प्रतिनिधि सभाले पनि राष्ट्रपतिलाई धन्यवाद दिन सकेन । सभामुख देवराज घिमिरेले बैठक सुरु गरिसक्दा नसक्दै कांग्रेस सांसदहरुले वेल घेराउ गरे । ‘सहकारी ठगलाई कारबाही गर, संसदीय छानबिन समिति गठन गर’, भन्दै नाराबाजी गरे ।

सभामुख घिमिरेले अधिवेशन प्रारम्भ भएदेखि पेश गर्नुपर्ने पत्रहरु पेश गर्न नपाएको र राष्ट्रपतिलाई धन्यवाद दिने लगायतका कार्यसूची रहेको स्मरण गराए ।

तर कांग्रेसका सांसदहरुले नाराबाजी रोकेनन् । त्यसपछि प्रतिनिधि सभाको बैठक पनि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव नै टेबुल नगरी स्थगित भयो ।

अर्को बैठक बिहीबारका लागि बोलाइएको छ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार नीति तथा कार्यक्रम पेस भएपछि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव टेबुल नै हुन नपाएको वा राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची नै प्रभावित भएको नेपालको संसदीय अभिलेख छैन ।

उनले भने, ‘नीति तथा कार्यक्रम नै टेबुल हुन नसकेको वा अर्को दिनका लागि सरेको हुनसक्छ । तर राष्ट्रपतिलाई दिइने धन्यवाद प्रस्ताव नै रोकिएको याद छैन ।’

२०७५ साल भन्दा अगाडिसम्म नीति तथा कार्यक्रममाथि छलफल सकिएर पास हुने दिन राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव टेबुल गर्ने र पास गर्ने अभ्यास थियो । र २०७५ सालमा प्रतिनिधि सभा नियमावली बनाएपछि नीति तथा कार्यक्रम प्रस्तुत भएको दिन नै राष्ट्रपतिलाई धन्यवाद दिने अभ्यास सुरु भयो ।

प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३६ मा संघीय संसदमा राष्ट्रपतिबाट सम्बोधन हुनसक्ने सम्बन्धी व्यवस्था छ भने नियम ३७ मा यसरी राष्ट्रपतिले सम्बोधन गरेपछि धन्यवाद दिनुपर्ने उल्लेख छ । यसका लागि सभामुखले धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने र निर्णयार्थ प्रस्तुत गर्ने व्यवस्था गरिएको छ ।

तर मंगलबार संघीय संसदको दुबै सदनले राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पास गर्न सकेन ।

प्रमखु प्रतिपक्षले धन्यवाद प्रस्ताव समेत पास गर्न नदिनु शोभनीय नभएको अर्थमन्त्री वर्षमान पुन बताउँछन् । ‘राष्ट्रपति देशको अविभावक हो ।तर संसदलाई दुई घण्टा सम्बोधन गरिसकेपछि धन्यवाद छ भन्न पनि नसक्ने अवस्था देखियो’, माओवादी केन्द्रका उपमहासचिव समेत रहेका अर्थमन्त्री पुनले भने, ‘प्रमुख प्रतिपक्षबाट संसदमा अवरोध गर्ने काम भयो त्यो त्यति शोभनीय भएन ।’

सत्ता गठबन्धनको प्रमुख घटक एमाले प्रमुख सचेतक महेश बर्तौला नेपालको संसदीय इतिहासमा गलत अभ्यास रेकर्ड हुन पुगेको बताउँछन् । प्रतिपक्षले संवैधानिक र कानुनी रुपमा संसदलाई संकटमा पार्ने काम गरेको भन्दै उनले भने, ‘आज हामीले राष्ट्रपतिलाई धन्यवाद समेत दिन सकेनौं । यो दुःखद छ ।’

संसद अवरुद्ध गरेको प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद राजेन्द्र केसी भने यसका लागि सत्तापक्ष जिम्मेवार ठान्छन् ।

‘संसदीय अभ्यासमा राष्ट्रपतिलाई धन्यवाद दिनुपर्ने हुन्छ, फेरि पनि दिन सकिन्छ’, उनले भने ‘तर नीति तथा कार्यक्रमपछि बसेको बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची पाँच नम्बरमा राखिएको थियो । एक नम्बरमा राखिएको भए वातावरण अर्कै बन्थ्यो ।’

आफूहरुले संसदीय छानबिन समिति गठनको माग राखेर अवरोध गर्दै आएको जान्दाजान्दै राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पाँच नम्बरमा राखेर ल्याएपछि सुरुमै अवरोध गर्न बाध्य भएको उननले बताए ।

कांग्रेस सांसद केसी थप्छन्, ‘संसदीय छानबिन समिति गठन भएपछि बस्ने बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने सहितको कार्यसूची आउँछ र पारित हुन्छ ।’

Didhukung dening Plugin RSS Gema dening CodeRevolution.