२० वैशाख, काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौथो खेल खेल्दैछ । खेल दिउँसो १२ : १५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

पाँच खेलको सिरिजमा वेस्टइन्डिज ‘ए’ले अघिल्ला ३ खेलमा दुईवटामा जितेको छ भने एउटामा हार व्यहोरेको छ । सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आज जित्नैपर्ने हुन्छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएपनि त्यसपछि दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

नेपालले बुधबार अर्को महिना वेस्टइन्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली घोषणा गरेको छ । यसअघि ३ खेलमा विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली टुंगो लगाउन नेपालले परीक्षणमात्रै गरेको थियो । त्यसैले आफ्नो उत्कृष्ट प्लेइङ ११ मैदान उतार्न पाएको थिएन ।

तर आज नेपालले विश्वकप खेल्ने प्लेइङ ११ मैदान उतार्ने सम्भावना छ । विश्वकपमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग खेल्नुअघि आजको खेल नेपालका राम्रो परीक्षा हुनेछ ।

ओपनर कुशल भुर्तेल पछिल्लो समय लयमा छैनन् । नेपालले उनीमाथि भरोसा गर्दै आएको छ । अर्का ओपनर आसिफ शेख यसअघि ३ खेलमा थिएनन् । उनले आज खेल्नेछन् । ओपनरबाट नेपाल राम्रो प्रदर्शन चाहन्छ ।

मध्यक्रममा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र सन्दीप जोराको प्रदर्शन महत्वपूर्ण हुनेछ । कप्तान रोहितले सुरुआती दुई खेलमा ११२ र ७१ रन बनाएका थिए । तेस्रो खेलमा भने विश्राम गर्दै दीपेन्द्रलाई कप्तानी दिएका थिए । आज भने रोहित खेलमा फर्किनेछन् ।

वेस्टइन्डिजका ब्याटर स्पिनमा बढी संघर्ष गरेको हुँदा ललित र सागर ढकाल दुवैलाई मैदान उतार्ने सम्भावना छ । तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी र अभिनाश बोहराको सम्भावना छ ।

विश्वकप टोलीमा पर्न नसकेका लोकेश बम, विवेक यादव, आकाश चन्द, विनोद भण्डारी र आरिफ शेखले आजको खेलमा खेल्ने मौका नपाउने देखिन्छ । मुख्य प्रशिक्षक मोन्टी देशाईले तेस्रो खेलपछि बाँकी दुई खेलमा विश्वकप खेल्ने टोली नै मैदान उतार्ने बताएका थिए ।

उता वेस्टइन्डिजका ओपनर जोनसन चार्ल्स ले तेस्रो खेलमा नेपालविरुद्ध ११९ रन बनाएका थिए । उनलाई समयमै आउट गर्न सके नेपाल खेलमा बढी हाबी हुनसक्छ । आन्द्रे फ्लेचरको प्रदर्शन महत्वपूर्ण हुनेछ । नेपाली ब्याटरले दुई स्पिनर गुडाकेश मोती र हेडन वाल्स जुनियरविरुद्ध भने राम्रो खेल्नुपर्ने हुन्छ । पाँचौ तथा अन्तिम खेल शनिबार हुनेछ ।

에 의해 구동 에코 RSS 플러그인 으로 CodeRevolution.