काठमाडौं । टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’की विजेता तथा कलाकार छिरिङ शेर्पाले मंगलबार सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् ।

उनले चुचुरोमा हिमालय टेलिभिजनको झण्डा पनि गाडेकी छन् । राष्ट्रिय झण्डा पनि फहराइन् । हिमालय टिभीमा प्रसारण हुने डान्सिङ रियालिटी शोमा छिरिङ सर्वोत्कृष्ट बनेकी थिइन् ।

फेसबुकमार्फत सगरमाथा आरोहणबारे जानकारी दिँदै उनले आफ्नो हिमाल आरोहण शेर्पा समुदायप्रति समर्पित रहेको बताएकी छन् । ‘मेरो आवाज शेर्पा आरोहीको लागि हो’ छिरिङले भनेकी छन् ।

शेर्पा समुदायलाई आरोही समुदायको रुपमा मात्र व्याख्या नगरेर संविधानअनुरुप प्राप्त हुनुपर्ने सेवा सुविधा उपलब्ध गराई राज्यको हरेक संयन्त्रमा जोडिने वातावरण सिर्जना गर्न उनको माग छ ।

सगरमाथाबाट प्राप्त हुने आम्दानीको निश्चित हिस्सा हिमाली क्षेत्रमा लगानी गर्नुपर्ने कार्यविधि निर्माण गर्न पनि उनको आग्रह छ । एट्के–एक्सपिडिसनबाट उनले हिमाल चढेकी हुन् ।

सन् २०१६ मा छिरिङले मिस इन्डिजेनस हेरिटेज नेपालमा मिस एलिगेन्टको उपाधि जितेकी थिइन् । उनी शेर्पा फिल्मकी अभिनेत्री पनि हुन् । शेर्पा चलचित्र संघको संस्थापक अध्यक्ष पनि हुन् । दर्जनौं म्युजिक भिडियोमा उनले अभिनय गरेकी छन् ।

सन् २०२२ को नोभेम्बर १७ मा छिरिङ र डान्सर जेडी तमुले सोलोखुम्बुको कालापत्थर पुगेर ‘द हाइएस्ट अल्टिच्युड कोरियोग्राफ्ड डान्स अन ल्यान्ड पेयर’ विधामा गिनिज विश्व कीर्तिमान रचेका छन् । उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट रेकर्डको प्रमाणपत्र ग्रहण गरेका थिए ।

에 의해 구동 에코 RSS 플러그인 으로 CodeRevolution.