३१ वैशाख, काठमाडौं । सत्ता समीकरणमा देखिइरहेको अस्थिर राजनीतिक घटनाक्रमका बीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल फेरि गठबन्धन परिवर्तन भए आफू प्रधानमन्त्री बन्न सक्नेमा आशावादी देखिएका छन् ।

आगामी जेठमा हुन लागेको पार्टीको पहिलो महाधिवेशनको तयारीमा जुटेको एकीकृत समाजवादीका अध्यक्ष नेपालले छलफलका लागि सोमबार स्थायी समितिमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा वर्तमान गठबन्धन छाडेर कांग्रेससँग सहकार्य गर्नसक्ने स्पष्ट संकेत गरेका छन् ।

नेता नेपालले नेकपा एमाले र माओवादी केन्द्रसहितको वर्तमान सत्ता गठबन्धनलाई तत्कालीक राजनीतिक पारिस्थितिको उपजबाट बनेको राजनीतिक समीकरण र सहकार्यको संज्ञा दिँदै यो जुनकुनै बेला परिवर्तन हुने प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘यो समीकरण वर्तमान संसदको संरचना अनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो । यो दीर्घकालीन होइन तत्कालीक राजनीतिक सहकार्य मात्र हो । त्यसैले तत्कालीक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तत्कालीक राजनीतिक समीकरण वा सहकार्य पनि बदलिन सक्छ’,उनको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

यसले उनी वर्तमान गठबन्धनलाई अस्थायी रूपमा लिइरहेका छन् भन्ने स्पष्ट देखाउँछ । अर्थात, आवश्यक पर्दा कांग्रेससँग गठबन्धन गर्न पनि एकीकृत समाजवादी तयार छ भन्ने सन्देश अध्यक्ष नेपालले आफ्नो राजनीतिक प्रतिवेदनबाट दिएका छन् ।

पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे वर्तमान गठबन्धन षड्यन्त्रपूर्वक बनेको र आफूहरु भूलवश सहभागी हुन पुगेको भन्दै आफ्नो पार्टी अस्तित्व रक्षाका लागि नेपाली कांग्रेससँग पनि सहकार्य गर्नुपर्ने निष्कर्षमा पुगेको स्वीकार गरे ।

‘यो षड्यन्त्रपूर्वक बनेको गठबन्धन हो, यसमा हामी पनि भुलवश सामेल हुन पुगेका हौं’, उपाध्यक्ष पाण्डे भन्छन्, ‘अहिले संक्रमणकाल छ । संविधानको रक्षाका लागि हामी उभिनुपर्ने अवस्था छ । कांग्रेसलाई अलग गरेर हामी संविधानको रक्षा गर्न सक्दैनौं ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान समाप्त पार्नका लागि दुईपटक संसद विघटन गरेको र त्यसको विपक्षमा आफूहरू निरन्तर संघर्षमा रहेको पाण्डे बताउँछन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल राजनीतिक प्रतिवेदनमा पनि सत्ता सहकार्य गरिरहेको दलहरूसँग भन्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग नरम देखिएका छन् । विगतका सरकारको समीक्षामा पनि उनले एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले संसद विघटन गरेर संविधानविरोधी काम गरेको भनेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार संविधानको रक्षामा उभिएको जिकिर गरेका छन् ।

कांग्रेसबारे नेपालले प्रतिवेदनमा लेखेका छन्, ‘…प्रजातान्त्रिक समाजवादको वकालत गर्ने र लोकतन्त्र एवं गणतन्त्र प्राप्तिको संघर्षमा सकारात्मक भूमिका निर्वाह गरेको यो पार्टी यथास्थितिमा रमाउने गरेको छ ।’

जबकी एमालेलाई उनले दक्षिणपन्थी अवसरवादी प्रवृत्ति बोकेको कम्युनिस्ट पार्टीको संज्ञा दिएका छन् । उनले प्रतिवेदनमा एमालेबारे लेखेका छन् – ‘संविधानको मूल मर्म र भावनामाथि प्रहार गर्न पछि नपरेको यो पार्टी नीति प्रधान नभएर नेता प्रधान हुँदै गएको छ ।’

नेता नेपालले माओवादी केन्द्रलाई नेकपा विभाजनपछि फेरि माओवाद अंगालेको भन्दै सैद्धान्तिक अन्यौलमा फसेको, तर उपलब्धीहरूको रक्षाका लागि प्रतिवद्ध रहेको भनेका छन् । साथै, समाजवादी मोर्चामा पनि आफू सँगै रहेको विषय उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

उनले प्रतिवेदनमा गठबन्धनसँगको सहकार्य बदलिन सक्ने मात्रै भनेका छैनन्, लामो समयदेखि भन्दै आएको कम्युनिस्ट वा वाम एकता पनि तत्कालका लागि सम्भव नरहेको निष्कर्ष पनि निकालेका छन् । छलफलका लागि स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिमा पेश हुने ५७ पृष्ठको राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले नयाँ पार्टी गठन भएयता आफूले गरेको प्रयासबाट एकताको सम्भावना नदेखिएको तर्क दिएका छन् ।

उनले प्रतिवेदनमा लेखेका छन्, ‘…नेकपा माओवादी केन्द्र र जसपालगायतका पार्टीहरूसँग वार्ता पनि चलाएका थियौं । यस दौरान व्यवहारबाट के स्पष्ट भयो भने अहिले तत्काल कम्युनिस्ट पार्टीहरूबीचको एकता वा वाम एकता सम्भव छैन ।’

त्यसमा पनि रोचक एमालेले स्वीकार गरिनसकेको समाजवादी मोर्चालाई माधवले प्राथमिकता दिएका छन् । कांग्रेससँगको गठबन्धनमा हुँदा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र संसद बाहिरको नेपाल कम्युनिस्ट पार्टी मिलेर बनेको समाजवादी मोर्चालाई नै सही ढंगले परिचालन गर्न सके परिणाममा ल्याउन सकिने उनको बुझाइ छ ।

कांग्रेसले माधवलाई नै प्रधानमन्त्री दिनसमेत तयार भएको थियो । त्यति गर्दा पनि कांग्रेसको नेतृत्वमा अर्को गठबन्धन बन्ने र संसदमा बहुमत स्थापित हुने अवस्था नरहेपछि माधव अन्ततः ‘सर्तसहित’ भन्दै एमाले–माओवादी गठबन्धनमा उभिन बाध्य भए ।

‘अहिले बनाइएको समाजवादी मोर्चा समाजवादी कार्यदिशा अंगालेको वामपन्थी पार्टीहरूबीचको राजनीतिक संयुक्त मोर्चा हो’, माधवले राजनीतिक प्रतिवेदनमा लेखेका छन्, ‘…मोर्चालाई राम्रोसँग परिचालन गर्न सकियो भने समाजवादी क्रान्तिलाई अगाडि बढाउन केही न केही योगदान पुग्ने छ ।’

नयाँ गठबन्धन बनेसँगै समाजवादी मोर्चा निष्क्रिय अवस्थामा छ । त्यसमा पनि गठबन्धन र मोर्चा दुवैमा रहेको दल जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन मात्रै भएको छैन, सरकारबाट समेत बाहिरिएको छ । कांग्रेससँगको गठबन्धनमा हुँदा बनेको मोर्चालाई नयाँ गठबन्धन बनेपछि एमालेले औचित्यहीन भन्दै सहभागी नहुने बताइरहेको छ ।

यस्तो अवस्थामा एमाले माओवादी गठबन्धन लामो समय नजाने र कांग्रेसले पहल लिएको खण्डमा आफू पुनः प्रधानमन्त्री बन्न सक्ने सम्भावना माधवले देखेका छन् ।

कांग्रेससँग बाँकी माधवको आशा

कांग्रेस र माओवादी बीचको गठबन्धन हुँदा एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि प्रधानमन्त्री बन्ने भद्र सहमति भएको नेताहरूको दाबी थियो । तर गत २१ फागुनमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बदलेर एमालेसँग सहकार्य गर्दा नेपालसँग सल्लाह गरेनन् ।

त्यसअघि निर्वाचन सम्पन्न भएलगत्तै ०७९ को १० पुसमा एमालेसँग मिलेर सरकार गठन गर्दा पनि प्रचण्डले माधवलाई यसै गरी एमालेसँग सहकार्य गर्न बाध्य पारेका थिए । त्यसको डेढ महिनापछि २५ फागुनमा राष्ट्रपति निर्वाचन हुनुअघि पनि प्रचण्डले माधवलाई त्यसै गरी कांग्रेससँगको गठबन्धनमा पुर्‍याएका थिए ।

आफूसँग सल्लाह नै नगरी गठबन्धन बदलेको भन्दै प्रचण्डसँग असन्तुष्ट बनेका नेपाललाई पछिल्लो पटक नयाँ गठबन्धनमा ल्याउन प्रधानमन्त्री प्रचण्ड मात्रै होइन एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत मेहनत गरेका थिए ।

उता कांग्रेसले एमाले–माओवादीसहितको नयाँ गठबन्धनको सरकार बन्न नदिन सक्दो कोशिस गर्‍यो । त्यसका लागि कांग्रेसले माधवलाई नै प्रधानमन्त्री दिनसमेत तयार भएको थियो । त्यति गर्दा पनि कांग्रेसको नेतृत्वमा अर्को गठबन्धन बन्ने र संसदमा बहुमत स्थापित हुने अवस्था नरहेपछि माधव अन्ततः ‘सर्तसहित’ भन्दै एमाले–माओवादी गठबन्धनमा उभिन बाध्य भए । गठबन्धन बनेको दुई दिनपछि २३ फागुनमा मात्रै माधवले पार्टीबाट निर्णय गराएर भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्रीका रूपमा पठाएका थिए ।

सर्तसहित भने पनि माधवले ती के हुन् भनेर भनेनन् । बरु जतिबेला आवश्यक पर्छ त्यतिबेला आफूलाई समेटेर जानुपर्ने भनेका माधवले कांग्रेससँगको गठबन्धनमा हुँदाजस्तो प्रधानमन्त्री नै बन्ने शर्त भने राखेनन् । तर संघदेखि प्रदेशसम्म उनी निरन्तर फरक मतसहित उभिन पनि छाडेनन् ।

एमाले तयार नहुँदा सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्त भएको तीन सातासम्म पनि एकीकृत समाजवादीका दीर्घ सोडारीले विश्वासको मत लिन सकेका छैनन् । विश्वासको मत लिने समय घर्किनै लाग्दा पनि एमालेले निर्णय नगर्दा सोडारीले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । यसले माधवलाई वर्तमान गठबन्धनसँग थप चिढ्याएको छ । एकातिर एमालेको असहयोग र अर्कोतिर कांग्रेसको आश्वासनका कारण माधव यतिबेला गठबन्धन बदल्ने मुडमा देखिएका छन् ।

पार्टी उपाध्यक्ष पाण्डे आवश्यक लागेको खण्डमा कुनै पनि निर्णय गर्न आफूहरू स्वतन्त्र रहेको बताउँछन् । ‘हाम्रो पार्टी स्वतन्त्र हो । एमाले केन्द्रीय कार्यालय र हामी प्रान्तीय कार्यालय होइनौं’, पाण्डे भन्छन्, ‘पार्टीको अस्तित्व, नीति, सिद्धान्त र कार्यक्रमको रक्षाका लागि हामी जो कोहीसँग पनि सहकार्य गर्न सक्छौं । सम्झौता गर्न सक्छौं, सँगसँगै हिँड्न सक्छौं ।’

Powered by Echo RSS Plugin ji CodeRevolution.