१९ वैशाख, काठमाडौं । ललितपुरको लगनखेल बसपार्कलाई पुनः बस स्ट्यान्ड (यात्रु चढाउने र ओराल्ने) बनाउने विषयमा छलफल सुरु भएको छ । बुधबार ललितपुर महानगरपालिकाले यस विषयमा छलफल अघि बढाएको हो ।

छलफलका क्रममा महानगरका मेयर चिरीबाबु महर्जनले बसपार्कको हालको अवस्था देखेर लाज लागेको बताए । उनले भने, ‘महानगरको अरू ठाउँ र त्यो ठाउँ तुलना गर्न मिल्दैन, त्यहाँको अवस्था देखेर आफूलाई नै लाज लागेको छ ।’

सहरीकरणका कारण त्यो ठाउँमा बसपार्क राखिएको बताउँदै उनले मच्छिन्द्रनाथको रथ घुमाउन राखिएको खुला ठाउँ भएको नगर प्रमुखले प्रष्ट पारे ।

उनले भने, ‘त्यो ठाउँ अस्तव्यस्त भएकाले आलोचना भइरहेको छ, यो सुधार गर्न अत्याश्यक छ । यो वास्तवमा बसपार्क होइन, रथ घुमाउन राखिएको खुल्ला ठाउँ हो ।’

उपप्रमख मञ्जली शाक्य बज्राचार्यले बसपार्क व्यवस्थित र फुटपाथ व्यवस्थापनको विषयलाई एकैसाथ सम्बोधन गर्नुपर्ने बताइन् । ‘फुटपाथ र पार्क व्यवस्थापनलाई छुट्याएर काम गर्दा समस्या समाधान हुन सक्दैन,’ उनले भनिन् ।

नगर प्रहरी प्रमुख सिताराम हाछेथुले छलफलमा लगनखेल बसपार्क व्यवस्थापनसम्बन्धी योजना प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तुति अनुसार लगनखेल बसपार्कमा चापागाउँ, कीर्तिपुर, भक्तपुर लगायतका ठाउँमा आउने बसलाई स्ट्यान्डको रुपमा मात्रै राख्ने उल्लेख छ ।

‘लगनखेलमा एक दुई वटा मात्रै बस राख्ने अन्य बसहरू सम्बन्धित पालिकामा नै राख्ने व्यवस्था गर्नुपर्छ, यसो हुँदा बसपार्क व्यवस्थित बनाउन सकिन्छ,’ हाछेथुले भने ।

हाछेथुका अनुसार लगनखेल बसपार्कबाट अहिले दैनिक ४८४ वटा साना, ठूला सार्वजनिक सवारीहरू छुट्ने गरेका छन् ।

‘अहिले जुन रुटमा चल्ने सवारी पनि बसपार्कमा कुरेर बस्ने गरेको छ । अब त्यस्तो हुन नदिन हामीले छलफल गरेका हौं । अब ३० वटाभन्दा बढी सवारी भएको रुटलाई २ वटा गाडी र ३० वटाभन्दा कम भएको रुटको गाडीलाई एउटा गाडी मात्रै राख्न दिनेगरी (पिक एन्ड ड्रप) व्यवस्थापन गर्न खोज्दैछौं,’ हाछेथुले अनलाइनखबरसँग भने ।

ललितपुर महानगरले १४ साउन २०७४ मा मच्छिन्द्रनाथको रथ घुमाउने ठाउँमा तीन महिनाका लागि बस पार्किङ गर्न दिएको थियो । तर, अहिले बसपार्ककै रुपमा सञ्चालन हुँदा हटाउन नसकेको उनले बताए ।

‘रथ घुमाउने खाली ठाउँमा त्यो बेला पार्किङ दिइएको रहेछ, त्यसपछि हटाउन सकेका छैनौं । अहिले बसपार्कसँगै फुटपाथ, साना टहराहरू पनि निर्माण भइसकेका छन् । अब फेरि पुरानै संरचनामा फर्कन महानगरले पहल थालेको छ,’ हाछेथु भन्छन् ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बसपार्क बस स्ट्यान्डमा बदल्नु अघि व्यवसायी र जनसमुदायलाई पर्याप्त सूचना दिनुपर्ने बताइन् ।

‘बसपार्क व्यवस्थापनका सन्दर्भमा समस्या, चुनौतीको बारेमा राम्रो विश्लेषण गर्नुपर्छ । बसपार्क हटाइहाल्दा पर्न सक्ने समस्याबारे पनि ख्याल गर्नुपर्छ,’ उनले भनिन् ।

बसपार्कलाई बसस्ट्यान्ड बनाउने छलफलमा ललितपुर महानगरका वडाध्यक्षहरू, स्थानीय संघसंस्थाका प्रतिनिधिले पनि बसपार्क व्यवस्थापनमा ध्यान दिन महानगर र ट्राफिक प्रहरीलाई सुझाव दिएका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक नरेश सुवेदी, उपत्यका ट्राफिक प्रहरीका प्रहरी उपरीक्षक विश्वराज खड्का, ट्राफिक प्रहरी परिसर सातदोबाटोका प्रहरी निरीक्षक सालिकराम तिमिल्सिनाले ट्राफिक व्यवस्थापन र प्रहरी परिचलानबारे बोलेको थिए ।

छलफलपछि मेयर महर्जनले अन्य पालिका र सरोकारवालासँग पनि छलफल गरेर टुंगो लगाउने बताए ।

‘सम्बन्धित पालिकामा नै सवारी साधन क्युमा राख्ने, यहाँ एक दुई वटा मात्रै राख्ने व्यवस्था भए, यहाँ सहज हुन्छ, यो विषयमा छलफल गर्न पनि सबै पालिकासँग छलफल गर्नुपर्छ,’ महर्जनले भने ।

Per powered Plugin resonare RSS per CodeRevolution.