१६ चैत, काठमाडौं । मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन अवधि सकिएको छ । तोकिएको अवधिमा मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति पदको लागि ११ र सुदूरपश्चिम विश्वविद्यालयको लागि १० जनाको आवेदन परेको छ ।

उपकुलपति छनोट तथा सिफारिश समितिले गत मंगलबार तीन दिनको समय थप गर्दै इच्छुक उम्मेदवारले दरखास्त दिन सक्ने सूचना जारी गरेको थियो । यसअघि दुवै विश्वविद्यालयको रिक्त उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिश गर्न गठित छनोट तथा सिफारिस समितिले बनाएको मापदण्ड कडा भएको भन्दै विरोध भएको थियो । विरोधपछि समितिले ६ फागुनमा दरखास्त सम्बन्धी प्रक्रिया स्थगित गरेको थियो ।

१२ चैतमा बसेको समिति बैठकले विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रियालाई निरन्तरता दिंदै १६ चैतको कार्यालय समयभित्र दरखास्त दिन पाउने गरी समयावधि कायम गरेको थियो ।

२५ माघमा प्रकाशित सूचनाको आधारमा समितिमा दर्ता भएका दरखास्तहरूलाई समेत कायम गरी कार्यविधि बमोजिमको प्रक्रियामा समावेश गर्ने छनोट समितिका संयोजक तथा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले बताए । उनले आइतबारदेखि आवेदकहरूको मूल्यांकनको प्रक्रिया सुरू हुने बताए ।

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिको कार्यकाल १७ फागुनमा र सुदूरपश्चिम विश्वविद्यालयको १८ फागुनमा सकिएपछि दुवै विश्वविद्यालय निमित्तको भरमा चलेका छन् ।

Powered vun der Echo RSS Plugin vun CodeRevolution.