२० वैशाख, काठमाडौं । वेष्ट इण्डिज एविरुद्ध सुरुवाती चार खेल सकिँदा नेपाल ३ खेलमा पराजित भएको छ । पहिलो खेलमा ४ विकेटले विजयी भएपनि त्यसपछि क्रमश: १० रन, ७६ रन र २८ रनले पराजित हुँदै एक खेल अगावै सिरिज गुमाउन पुग्यो ।

कप्तान रोहित पौडेलले ३ खेलमा १ शतक र २ अर्धशतकसहित २६५ रन बनाएका छन् । तर वेष्ट इण्डिजविरुद्ध खेलेका अरु १९ नेपाली खेलाडीले सिरिजमा ६० रन पनि कटाउन सकेका छैनन् ।

चार खेलमा नेपालले कुल २० खेलाडीलाई मौका दिएको छ । रोहितले दमदार प्रदर्शन गर्दा अन्य खेलाडीको प्रदर्शन बिर्सनलायक छ । रोहित बाहेक पूरा सिरिजमा नेपालबाट ५० रन कटाउने दुई खेलाडी मात्रै छन् ।

गुल्शन झाले ४ खेलमा ६० रन, दीपेन्द्रसिंह ऐरीले ४ खेलमा ५३, लोकेश बमले २ खेलमा ४५, कुशल मल्लले ४ खेलमा ४० रन बनाएर आउट भए । करण केसी १ खेलमा २८, अनिल साहले ३ खेलमा २०, कुशल भुर्तेलले ३ खेलमा, विनोद भण्डारी र सन्दीप जोराले १/१ खेलमा १९–१९ रनमा आउट भएका छन् ।

पहिलो खेलमा वेष्टइण्डिज ए ले दिएको २०५ रनको लक्ष्य १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्न रोहितले ११२ रनको शतकीय इनिङ खेलेका थिए । बाँकी ७ खेलाडी अनिल साह ५, दीपेन्द्र २४, विवेक यादव ७, प्रतिश जिसी ५, गुल्शन ९, कुशल भुर्तेल र कुशल मल्ल १९–१९ रन गरी ८२ रन बनाएका थिए ।

दोस्रो खेलमा १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १५० रनमात्र बनाउन सक्यो । रोहितले ७१ रन बनाउँदा त्यस दिन ब्याटिङ गरेका बाँकी १० खेलाडी लोकेश १७, कुशल भुर्तेल २, अनिल साह १, आरिफ शेख १२, आकाश चन्द ८, गुलशन झा २६, दीपेन्द्र र सोमपाल ३–३ तथा कुशल मल्ल र सागर ढकाल शून्य गरी कुल ७१ रन बनाएका थिए ।

तेस्रो खेलमा रोहितलाई विश्राम दिँदै नेपालले दीपेन्द्रको कप्तानीमा खेलेको थियो । उक्त खेलमा २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमा अल आउट हुन पुगेको थियो ।

बिहीबार भएको चौथो खेलमा २१० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १८१ रनमा अल आउट भयो । रोहित पौडेलले ८२ रन बनाउँदा अन्य १० खेलाडीले कुल ८९ रन बटुलेका थिए । जसमा अभिनाश बोहरा १७, सोमपाल कामी १०, कुशल मल्ल ४, कुशल भुर्तेल १, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुल्शन झाले १९–१९ रन बनाएका थिए । आसिफ शेख, प्रतिश जि.सी र ललित राजवंशी शून्यमा आउट भएका थिए ।

नेपालले पहिलो खेलमा २०६, दोस्रोमा १५०, तेस्रोमा १५१ र चौथो खेलमा १८१ गरी कुल ६८८ रन बनाएको छ । नेपालको ब्याटबाट ६४४ र अतिरिक्त ४४ रन पाएको थियो ।

टोलीको कुल रनमा रोहितको योगदान ४१.१४ प्रतिशत छ । रोहितले २३ चौका र १३ छक्का र अन्य ब्याटरले १५ छक्का र ३७ चौका प्रहार गरेका छन् ।

कप्तान रोहित अन्य ब्याटरले निर्णय लिन गल्ती गर्दा नतिजा नआएको बताउँछन् । ‘मलाई लाग्छ अन्य ब्याटरहरु निर्णय लिन गल्तीहरु गरेका छन् । त्यसमा काम गर्न एकदमै आवश्यक छ । अलिकति धैर्य भएर काम गरे नतिजा आउँछ’, उनले भने ।

रोहितले वेष्टइण्डिज एविरुद्धको खेलमा आफ्नो प्रदर्शन सन्तोषजनक भए पनि अझै सुधार आवश्यक रहेको बताए । ‘मैले यो प्रतियोगिता राम्रो खेलेको छु । मेरो ब्याटबाट रन आइराखेको छ । तर मैले ठूलो इनिङ बनाउनुपर्छ’, रोहितले आफ्नो प्रदर्शन बारे भने ।

दुई साताअघि ओमानमा भएको एसीसी प्रिमियर कपमा रोहितको प्रदर्शन अपेक्षा अनुसार हुन सकेन । कतारसँग १८, मलेसियासँग २८, हङकङसँग २५, साउदी अरेबियासँग १६, सेमिफाइनलमा युएईसँग ५ र तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग २१ रनमा आउट भएका थिए । यूएईसँग १८ बल खेल्दा ५ रन जोडेका थिए ।

तर दुई सातापछि नै रोहितको प्रदर्शनमा सुधार देखिएको छ । सट छनोट पनि त्यति नै राम्रा र आर्कषक छन् । निडरताका साथ आक्रामक क्रिकेट खेल्दै आएका छन् ।

निर्णय राम्रो लिँदा रन बनेको रोहित बनाउँछन् । ‘पहिला र अहिलेमा केही फरक छैन । प्रिमियर कप सकेर आएपछि अभ्यास पनि धेरै गरेको छैन । तर निर्णय लिने काम राम्रो गरेको छु । पहिलो इनिङमा शतक आएपछि आत्मविश्वास पनि आएको छ’, उनले भने ।

नेपालले बुधबार अर्को महिना अमेरिका र वेष्टइण्डिजमा हुने टी–२० विश्वकप खेल्ने १५ सदस्यीय टोली घोषणा गरेको छ । सुरुवाती तीन खेलको प्रदर्शनबाट पाँच खेलाडी बाहिर राख्दै १५ जना छनोट गरेको हो । रोहितले अहिलेको अवस्थामा यो नै नेपालको उत्कृष्ट टोली भएको बताए ।

Parengta „Echo RSS“ papildinys pateikė „CodeRevolution“.