४ जेठ, काठमाडौं । गत साता १९६६ अंकमा बन्द भएको सेयर बजार यो साता २०१८ अंकमा बन्द भयो । यो साता नेप्से परिसूचक २.६४ प्रतिशत अर्थात् ५२ अंक बढ्यो । गत साता ३२ अंक घटेको थियो । यो साता पाँचै दिन बजार खुल्यो ।

आइतबार ८.२ अंक बढेको बजार सोमबार २४ र मंगलबार २८ अंक बढ्यो । बुधबार ९ अंक घट्यो भने बिहीबार ०.७९ अंक बढ्यो । यो साता कारोबार रकम पनि उल्लेख्य देखिन्छ । आइतबार ३ अर्ब १५ करोड, सोमबार ३ अर्ब ४० करोड, मंगलबार ४ अर्ब ८ करोड, बुधबार ३ अर्ब ७० करोड र बिहीबार ४ अर्ब २३ करोडको कारोबार भयो ।

पछिल्ला केही सातादेखि सेयर बजारमा सेक्टर रोटेसन देखिएको छ । कुनै दिन एउटा क्षेत्रको सूचक धेरै बढ्ने, अर्को दिन अर्को क्षेत्रको सूचक बढ्ने गरेको देखिन्छ । जसले साताभरकै सूचकलाई असर पार्ने गरेको छ ।

यो साता माइक्रोफाइनान्समा उत्साह, बैंकिङमा आशा

यो साता माइक्रोफाइनान्स समूहको सूचक सबैभन्दा धेरै ६ प्रतिशत बढ्यो । माइक्रोफाइनान्समा उच्च वृद्धि देखिनुमा मुख्यतः ३ कारण देखिएका छन् ।

माइक्रोफाइनान्सहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण तुलनात्मक रुपमा गत आवको सोही अवधिको तुलनामा सुधार देखिएको छ । त्यस्तै दोस्रो कारणः माइक्रोफाइनान्सको विगत मूल्य र अहिलेको मूल्यअन्तर निकै धेरै छ ।

मूल्य बढ्दा यी कम्पनीहरुमा बढी लाभ मिल्ने गरेको इतिहास छ । तीन वर्षअघि ५ हजारमाथि पुगेका माइक्रोफाइनान्सको मूल्य अहिले १ हजार ५ सय हाराहारीमा छ । बजार बढ्दा यी कम्पनीको मूल्य पनि त्यसैगरी दोहोरिन सक्ने आश लगानीकर्तामा छ ।

तेस्रो कारण माइक्रोफाइनान्स कम्पनीहरुको सेयर संख्या न्यून हुनु हो । तुलनात्मक रुपमा माइक्रोफाइनान्स कम्पनी ‘लो क्याप’ कम्पनी हुन् । जसले गर्दा कारोबारीको पहिलो रोजाइमा माइक्रोफाइनान्स कम्पनीहरु नै पर्ने गरेका छन् ।

यो साता बैंकिङ क्षेत्रले पनि लगानीकर्तालाई आशा जगाएको छ । साताभर यो समूहको सूचक ३.१४ प्रतिशत बढ्यो । पुँजीकरणका आधारमा सबैभन्दा शक्तिशाली रहेकाले बैंकिङ क्षेत्रको सूचकले नै बजारलाई डोहोर्‍याउने क्षमता राख्छ । बैंकिङ सूचक ‘बियरिस’ प्रवृत्तिमा देखिँदा अरु समूह भने साइडवेज प्रवृत्तिमा छन् ।

वैशाख २६ गते यो समूहको सूचक ४ वर्षयताकै न्यून विन्दुमा झरेको थियो । न्यून विन्दुमा टेकेपछि केही बढ्न थाल्दा यस क्षेत्रमा कारोबारी समेत आकर्षित हुन थालेका छन् ।

Parengta „Echo RSS“ papildinys pateikė „CodeRevolution“.