१६ वैशाख, काठमाडौं । गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेको छ ।

गाडीको गति बढी हुँदा बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम पनि हुने भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले चासो राखेका थिए । मन्त्रीको निर्देशनपछि गृहले आइतबार भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गर्दै मातहतका निकायलाई आवश्यक निर्देशन दिन तथा समन्वय गरिदिन आग्रह गरेको हो ।

मुलुकभर सञ्चालित सरकारी एवं निजी विद्यालयमा अध्ययनरत बालबालिका बोक्ने सवारी साधनको दुर्घटना न्यूनीकरण गर्न सवारी साधनहरूको गति निर्धारण गर्न आवश्यक देखिएको पत्रमा उल्लेख गरिएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ११५ अनुसार यातायात व्यवस्था विभागलाई गति निर्धारणबारे जिम्मेवारी तोकिएको छ ।

‘गति निर्धारण नगरिएको भए प्रतिघण्टा ४० किलोमिटरभन्दा तल हुने गरी निर्धारण गर्ने व्यवस्था मिलाउन तथा गति निर्धारण भएको भए निर्धारितभन्दा बढी गतिमा सवारी चलाउने सवारी साधनहरूलाई ऐनको दफा १६४ बमोजिम जरिवाना गर्ने कानूनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न, गराउन आवश्यक निर्देशन तथा समन्वय हुन आदेशानुसार अनुरोध छ’ पत्रमा उल्लेख गरिएको छ ।

गृहले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका ट्राफिक कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पनि बोधार्थ गरेको छ ।

Powered by ny Plugins RSS akon'ny RSS ny CodeRevolution.