१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रमा नयाँ–नयाँ चुनौतीहरू देखापरिरहेकाले ती चुनौती समाधान गर्नमा विशेष ध्यान पुर्याउनुपर्ने र नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको पनि बताए ।

त्यसका लागि प्रतिष्ठानको पूर्वाधार विकास तथा अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाइने उनले बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालहरूको क्षमता विकासमा ध्यान दिनै पर्दछ ।’

सरकारले सबै सार्वजनिक अस्पतालहरूको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य सेवामा सबैको पहुँच, सेवाको गुणस्तरीयताका साथै समुदायमा मानव स्वास्थ्यलाई प्रभाव पार्ने सामाजिक, सांस्कृतिक, वातावरणीय कारकतत्त्व पहिचान सहितको विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठानले अझै पहलकदमी लिनुपर्ने धारणा राखे ।

नेपालको अधिकांश भू–भाग ग्रामीण क्षेत्र रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारका लागि दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित चिकित्सक उत्पादन गर्नुपर्ने बताए ।

Напојувано од Приклучок за ехо RSS од страна на CodeRevolution.