३ वैशाख, काठमाडौं । नेकपा एमालेले बिहीबार संसदमा कांग्रेस सांसदहरुले आफ्ना संसदीय दलका नेतामाथि अपमानजनक व्यवहार गरेको आरोप लगाएको छ । साथै आगामी दिनमा यस्तो नगर्न आग्रह गरेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस सांसदहरुले नाराबाजी गरेका थिए । सभामुखले गृहमन्त्री रवि लामिछानेलाई समय दिएपछि कांग्रेस संसदहरु उनलाई रोक्न गएका थिए ।

त्यसक्रममा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विवाद भएको थियो । त्यतिबेला दुबै दलका सांसदहरुबीच धकेलाधकेलसमेत भयो ।

बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस सांसदहरु सत्ता पक्षको लहरमा आएर अवरोध गर्नु असंसदीय भएको बताए ।

‘हौसिएर सरकारको रोमा आएर अवरोध गर्ने, उपसभामुखको चेयरमा आएर बस्ने असंसदीय व्यवहार गर्नुभयो । हाम्रा संसदीय दलका नेतामाथि अपमानजक व्यवहार गर्नुभयो’, उनले भने, ‘कांग्रेसले आजको संसदमा घोर अलोकतान्त्रिक र असंसदीय व्यवहार प्रदर्शन गर्नुभयो ।’

कांग्रेसले संसदलाई मुठभेडमा लैजान खोजेको भन्दै उनले अगाडि भने, ‘अराजकता मच्चाउने जे काम भयो, यसको एमाले संसदीय दलको तर्फबाट भर्त्सना गर्न चाहन्छु । आगामी दिनमा यसप्रकारका असंसदीय व्यवहार प्रदर्शन नगर्न आग्रह गर्न चाहन्छु ।’

द्वारा समर्थित इको आरएसएस प्लगइन द्वारा कोडरेव्होल्यूशन.