१ जेठ, पोखरा । पोखराको प्राइम सहकारीका प्रमुख कार्यकारी अधिकृत र व्यवस्थापकको मिलेमतोमा डेढ अर्ब रुपैयाँ अपचलन भएको खुलेको छ ।

पोखरा महानगरपालिका–४ गैह्रापाटनमा रहेको प्राइम सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, व्यवस्थापक निरु थापाको प्रमुख योजनामा ठूलो रकम हिनामिना भएको सहकारी रजिस्ट्रारको कार्यालयले गरेको वित्तीय विश्लेषण प्रतिवेदनले निश्कर्ष निकालेको हो ।

रजिस्ट्रारको कार्यालयले जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको प्रतिवेदनअनुसार प्रमुख कार्यकारी अधिकृत पौडेल र व्यवस्थापक थापा रकम अपचलन गर्ने प्रमुख योजनाकार हुन् ।

रजिस्ट्रार कार्यालय गण्डकीका प्रमुख भेषराज रिजालले पनि पौडेल र थापा नै रकम अपचलनको मुख्य योजनाकार भएको बताए । उनले भने, ‘हामीले चैतबाटै छानबिन थालेका थियौं र छानबिनकै क्रममा पनि मिलाउन सक्ने जति मिलाउनुस् है भनेका थियौं, यो बीचमा उनीहरुले कुनै निकास दिन सकेनन् ।’

उनीहरुले बचतकर्ताको रकम अपचलन गरी विभिन्न व्यक्तिको नाममा जग्गा खरिद गरेको प्रतिवेदनमा जनाइएको छ । त्यस्तै नियमनकारी निकायका कर्मचारीलाई घुससमेत दिएको उक्त प्रतिवेदनमा लेखिएको छ ।

वचतकर्ताको रकम घरजग्गामा लगाउने, ऋण दिएको फर्जी खाता बनाउने र मिटरब्याजमा समेत लगाउने गरेर १ अर्ब ५७ करोड रकम हिनामिना गरेको निष्कर्ष सहकारी रजिस्ट्रार कार्यालयले निकालेको छ ।

उनीहरुले सहकारीको नामको सम्पत्ति आफ्नो नाममा समेत राखेको पाइएको छ । ऋणीका सम्पत्ति आफ्ना नाममा हक हस्तान्तरण गरी लिने र ती सम्पत्तिलाई दबाउन विभिन्न व्यक्तिका नाममा लुकाउने गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

सहकारीमा समस्या आइसकेपछि पनि उनीहरुले ऋणीका जग्गामा आफ्नो हक स्थापित गरेर सम्पत्ति लुकाउन नजिकका मान्छेको नाममा पास गरिएको पाइएको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।

मुख्य योजनाकार पौडेल र थापाकै अगुवाइमा यो सहकारी खुलेको हो । थापा प्राइम सहकारीअघि गितेन्द्रबहादुर (जीवी) राईको सूर्यदर्शन सहकारीमा काम गर्थिन् ।

व्यवस्थापक थापाले आफ्नो बयानका क्रममा सहकारीबाट आर्जन हुने भन्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले ठूलो रकम मागेर लगेको र अहिलेसम्म नबुझाएको बताएकी थिइन् । थापाको बयानलाई पौडेलले पनि स्वीकारेको प्रतिवेदनमा जनाइएको छ ।

सहकारी विभाग काठमाडौंका कर्मचारीलाई पोखराको एउटा रिसोर्टमा घुस दिएको बयान प्राइमका सीईओ पौडेल र थापाले दिएको स्रोतले दिएको छ ।

त्यही प्रतिवेदनकै आधारमा प्रहरीले मंगलबारै पीडित बचतकर्ता तथा सेयर सदस्यलाई उजुरी गर्न आह्वान गरेर प्रमुख कार्यकारी अधिकृत पौडेल, व्यवस्थापक थापा, सञ्चालक समितिका अध्यक्ष शंकर कार्कीलगायत ८ जनालाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सन्तोष शर्माले जानकारी दिए ।

पक्राउ पर्नेमा सहकारीका पूर्वअध्यक्ष निदेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा, सञ्चालक मनबहादुर गुरुङ (माने) र सहकारीका कानुनी सल्लाहकार अधिवक्ता इन्द्रप्रसाद बराल रहेको डीएसपी शर्माले जानकारी दिए ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराको जाहेरीको आधारमा प्राइम सहकारीले १ अर्ब ५४ करोड १५ लाख रुपैयाँ अपचलन तथा हिनामिना भएको प्रहरीको भनाइ छ ।

प्रतिवेदन प्राप्त भएपछि प्रहरीले उनीहरुलाई जरुरी पक्राउ पुर्जी जारी गरी पक्राउ गरेको हो । प्रहरीले २० गतेसम्म पीडित सेयर सदस्य तथा बचतकर्तालाई उजुरी दिन भनेको छ । सहकारीमा पोखराका प्रतिष्ठित व्यक्तिहरुसमेत जोडिएको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सहकारीको ठूलो रकम प्रमुख कार्यकारी अधिकृत पौडेल र व्यवस्थापक थापाको मिलेमतोमा व्यक्तिगत घरजग्गामा लगानी गरेको पाइएको सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका प्रवक्ता ईश्वरी ढकालले जानकारी दिइन् ।

पौडेल र थापाले नक्कली अडिट गरेर बचतकर्तालाई मात्रै होइन, सञ्चालकलाई समेत भ्रममा पार्ने गरेको देखिएको छ । पोखराको सूर्यदर्शन, इमेज, बलिदानी, मित्रमिलन, शिवशिखर, विन्ध्यवासिनी सहकारीजस्तै प्राइम सहकारीमा पनि बचतकर्ताको रकम व्यक्तिगत लाभका लागि अपचलन गरेको पाइएको हो ।

‘सहकारीको पैसा घरजग्गामा लगाउने, फर्जी व्यक्ति खडा गरेर कारोबार गरेको देखाउने, नक्कली कागजात तयार पारेर बचतकर्तालाई झुक्याउने गरेको देखिएको छ’, प्रवक्ता ढकालले भनिन् । उनका अनुसार यो सहकारीको समस्याबारे सहकारी रजिस्ट्रार कार्यालयले ६ महिनाअघि थाहा पाएको थियो ।

प्राइम सहकारी रहेकै भवनमा खाजा पसल सञ्चालन गरिरहेका पीडित बचतकर्ता मेघनाथ ढकालका अनुसार २०७९ फागुनबाटै सहकारीको कारोबार बन्द भएको थियो । ढकालले छोरीका नाममा मुद्धती खाता खोलेर जम्मा गरेको आफ्नो १२ लाख ६० हजार रुपैयाँ नपाएको बताए ।

बचतकर्ताले रकम फिर्ता माग्न जान थालेपछि प्रमुख कार्यकारी अधिकृत पौडेलले दाल, चामल लैजान आग्रह गर्दै प्याकेजसमेत बनाएका थिए ।

‘दाल, चामल, चिनी, चियापत्तिलगायतको एउटा प्याकेट बनाउने र ५ हजारको हो भनेर बचतकर्तालाई दिने पनि गरेका थिए’, ढकालले भने, ‘सहकारीमा समस्या देखिएपछि साधारण सभामा अघिल्लो साल नै एक वर्षभित्र घरजग्गा बेचेर भए पनि तिर्छु भनेका थिए ।’

पछि पैसा माग्न जानेलाई उनीहरुले घरजग्गा खाउ भन्दै आफूले तोकेको मूल्यमा भिडाउने कामसमेत रहेको तर आफूहरुले नमानेको ढकालले बताए ।

प्रमुख कार्यकारी अधिकृत पौडेल संलग्न आर्थिक कारोबारको विवाद यसअघि पनि प्रहरीसम्म पुगेको थियो ।

Powered by the Echo RSS Plugin by CodeRevolution.