५ वैशाख, हेटौंडा । बागमती प्रदेशसभाका तीन वटा संसदीय समितिको सभापति चयन भएका छन् ।

शनिवार भएको निर्वाचनबाट प्रदेश मामिला, सार्वजनिक लेखा र शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति सर्वसम्मत रुपमा चयन भएका प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । उद्योग, पर्यटन तथा वातावरण समितिको निर्वाचन प्रयोजनका लागि शनिबार नै साँझ ६ बजे बैठक बोलाइएको छ ।

प्रदेशसभामा रहेका दलहरुबीचको भागबण्डा अनुसार प्रदेश मामिला समितिको सभापतिमा नेपाली कांग्रेसका छिरिङ दोर्जे र सार्वजनिक लेखा समिति सभापतिमा कांग्रेसकै श्रीराम लामिछाने सर्वसम्मत रुपमा चयन भएका छन् । शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकाल चयन भएका छन् ।

शनिबार साँझ नै बैठक बोलाइएको अर्थ तथा विकास समिति सभापतिमा राप्रपाका नुरज बज्राचार्य सभापति चयन हुँदैछन् । उक्त समितिको सभापतिमा शुक्रबार भएको मनोनयनमा उनको मात्र उम्मेदवारी परेको छ ।

एमालेको भागमा परेको उद्योग, पर्यटन तथा वातावरण समिति र शनिबार प्रदेशसभा बैठकले गठन गरेको विशेषाधिकार समितिको निर्वाचन भने सोमबार बिहान १० बजेका लागि तोकिएको प्रदेशसभा सचिवालयका प्रवक्ता गुप्ताले जानकारी दिए । ती समितिमा उम्मेदवारी दर्ताका लागि आइतबार अपरान्ह ३ देखि ५ बजेसम्मको समय तोकिएको छ ।

उद्योग, पर्यटन तथा वातावरण समितिमा एमालेले रामेछापका आनन्दकुमार श्रेष्ठलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । नेकपा एकीकृत समाजवादीको भागमा परेको विशेषाधिकार समितिमा धादिङकि माया देवी शर्मा उम्मेद्वार बन्ने भएकी छन् ।

शनिबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभा नियमावली, २०७४ ले व्यवस्था गरेअनुसार विशेषाधिकार समिति गठन गरेको थियो । सभामुख भुवनकुमार पाठकले समितिमा रहने १७ जना सदस्यको नाम शनिबारको बैठकमा पढेर सुनाएका थिए ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दलमध्ये पाँच वटा दलबीच संसदीय समितिको सभापतिमा भागबण्डा मिलाउन शुक्रबार बैठक बसेको थियो । उक्त बैठकले प्रदेशसभामा विशेषाधिकार समिति थप्ने निर्णय गरेको थियो ।

दलीय छलफलमा ३ सिट रहेको नेपाल मजदुर किसान पार्टी र १ सिट रहेको हाम्रो नेपाली पार्टीलाई सहभागी गराइएको थिएन ।

Dikuasakan oleh Pemalam Echo RSS oleh Penyelesaian Kod.