१३ वैशाख, काठमाडौं । कालिकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक बाटो निर्माणका क्रममा अनियमितता गरेको भन्दै बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, तत्कालीन इन्जिनियर रुद्रबहादुर वली, सव इन्जिनियर हरिप्रसाद पाण्डेय र लेखापाल मलिम रावतविरुद्ध मुद्दा दर्ता गरेको छ ।

त्यस्तै महावै वडा नं ३ का तत्कालीन वडा अध्यक्ष गौकला सिंह, उपभोक्ता समितिका अध्यक्ष अकल सुनार, कोषाध्यक्ष जर्मकला काफ्ले, सचिव दधि कामीले पनि सडक निर्माणका क्रममा सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्‍याएको भन्दै मुद्दा दर्ता गरिएको छ ।

उनीहरूले कालिकोटको सिमखेतदेखि पदमघाटसम्म उपभोक्ता समितिमार्फत सडक निर्माण गर्दा सम्झौता अनुसारको मापदण्ड पूरा नगरेको अख्तियारको ठहर छ ।

सडकको लम्बाइ ८२० मिटर, चौडाइ ४ मिटर हुनुपर्ने र कडा चट्टान २०४५ घनमिटर काट्नुपर्ने थियो । तर प्रतिवादी बनाइएका व्यक्तिहरूले मिलेमतोमा ५२० मिटर लम्बाइ, ३.७ मिटर चौडाइ बनाएको र १६९.८० घनमिटरमात्रै चट्टान काटेको अख्तियारले बताएको छ ।

यसरी तोकिए बमोजिम काम नगरी ३८ लाख ७६ हजार रुपैयाँ अनियमितता गरेको अख्तियारले जनाएको छ । अख्तियारले तत्कालीन उपाध्यक्ष र वडा अध्यक्ष बाहेक सबैबाट ३८ लाख ७६ हजार रुपैयाँ मागदाबी गरेको छ ।

गाउँपालिकाका तत्कालीन उपाध्यक्ष शाही र ३ नं वडा अध्यक्ष सिंहका लागि भने सजायको मात्रै माग गरिएको छ ।

Powered los ntawm Ncha RSS Plugin los ntawm CodeRevolution.