१ जेठ, काठमाडौं । आफूले प्रायोजन गरेको कार्यक्रम प्रसारण नगरेको भन्दै रकम फिर्ता माग गर्दैै हिमालयन बैंकले गोर्खा मिडिया प्रालि विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

गोर्खा मिडिया प्रालिले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनको कार्यक्रम ‘को बन्छ करोडपति’ को प्रायोजन हिमालयन बैंकले गरेको थियो । उक्त कार्यक्रम उत्पादन र प्रशारणका लागि आफूले रकम भुक्तानी गरेको तर ग्यालेक्सी टेलिभिजनले कार्यक्रम उत्पादन नगरेको भन्दै बैंकले प्रश्न उठाएको हो ।

हिमालयन बैंकले ४ वैशाख, २०८१ मा गोर्खा मिडिया नेटवर्क प्रालि र उक्त कम्पनीको सञ्चालक समितिलाई विपक्षी बनाई मुद्दा दायर गरेको हो । उसले ०८०–सीपी–७८७२ को ‘करार बमोजिम रकम दिलाई भराई पाउँ’ भन्ने मुद्दा दर्ता गरेको हो ।

जिल्ला अदालत काठमाडौंले आइतबार कम्पनी रजिष्ट्रारको कार्यालयमा पत्र पठाएर शेयरधनीहरुको विवरण मगाएको छ । उसले शेयर रोक्का भए नभएको विवरण र शेयर दर्ता किताबको प्रमाणित प्रतिलिपी पनि झिकाएको हो ।

अदालतमा दायर फिरादपत्र अनुसार तत्कालिन सिभिल बैंक (हाल हिमालयन बैंकमा गाभिएको) र गोर्खा मिडियाबीच ११ फेब्रुअरी २०२२ (२८ माघ २०७८) मा को बन्छ करोडपति कार्यक्रमको मुख्य प्रायोजक सिभिल बैंक रहने र त्यसबापत बैंकले एक करोड २४ लाख ३० हजार रुपैयाँ भुक्तानी गर्ने सम्झौता भयो ।

सम्झौतापत्रमा ५२ अंकमा प्रशारण हुने कार्यक्रमका लागि सुरुमै बैंकले आधा रकम भुक्तानी गर्ने र त्यसबापत सिभिल बैंक स्वर्ण प्रायोजक बन्ने उल्लेख थियो । १२ भाग प्रशारण भएपछि थप २५ प्रतिशत रकम पाउने र ४४ भाग प्रशारण हुने बेलामा सबै रकम भुक्तानी गर्ने सम्झौता भएको बैंकको भनाइ छ ।

सम्झौताको शर्तमा कार्यक्रम विवादास्पद भएमा प्रायोजन फिर्ता लिन सकिने र भुक्तानी भएको रकम समानुपातिक रुपमा कटाई बाँकी फिर्ता गर्न सकिने भन्ने व्यहोरा राखिएको थियो ।

फिरादपत्र अनुसार, गोर्खा मिडिया प्रालिले शुरुमै ६२ लाख १५ हजार रुपैयाँ भुक्तानी पाइसकेको थियो । उनीहरुबीच वैशाख २०७९ देखि कार्यक्रम शुरु गर्ने भद्र सहमति समेत भयो ।

ग्यालेक्सी टेलिभिजनबाट उक्त कार्यक्रम प्रशारण गर्ने सम्बन्धमा कुनै सुरसार नै नभएको र बैंकलाई त्यस बारेमा कुनै खबर जानकारी नगराएको भन्दै सिभिल बैंकले कार्यक्रम उत्पादनका लागि ताकेता गर्न थाल्यो । त्यही बीचमा ११ फागुन २०७९ मा सिभिल बैंक हिमालयन बैंकमा गाभियो ।

कार्यक्रम उत्पादन हुन नसकेपछि बैंकले ग्यालेक्सी टेलिभिजनमा ताकेता गर्न थाल्यो । बैंकको दावी अनुसार, टेलिभिजनका आधिकारिक व्यक्ति एवं क्रिएटिभ डाइरेक्टर विपिनकुमार आचार्यले दशैंसम्म पर्खिदिन आग्रह गरे । दशैंपछि फेरि ताकेता हुँदा टेलिभिजनका प्रतिनिधिहरुले आम निर्वाचन आएकाले कार्यक्रम छायामा पर्ने भनी निर्वाचनसम्म पर्खिदिन आग्रह गरेको अदालतमा दिएको निवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रम उत्पादन गर्न नसकेपछि रकम फिर्ता मागेकामा नदिएको भन्दै बैंकले पटकपटकमा इमेल संवाद प्रमाणको रुपमा अदालतमा पेश गरेको छ । २९ साउन, २०८० मा टेलिभिजनले आफूले भुक्तानी पाइसकेको रकमलाई विज्ञापनमा खर्च गर्ने प्रस्ताव गरेको र त्यसमा बैंक तयार नभएको उजुरीमा उल्लेख छ ।

कात्तिक, २०८० पछि भने कार्यक्रम उत्पादन नहुने निश्चित भएको भन्दै बैंकले ६२ लाख १५ हजार रुपैयाँ फिर्ता मागेको हो । त्यसपछि पनि रकम नपाएको भन्दै बैंक अदालत गएको हो । बैंकले भुक्तानी भएको रकमका साथै कार्यक्रम प्रशारण गर्न नपाएकाले बैंकको ब्राण्डमा पुगेको धक्का र बजार प्रवद्र्धनमा नोक्सानी हुन गएको क्षतिपूर्ति समेत माग गरेको छ ।

अहिले ग्यालेक्सी टिभीमा जीबी राई अध्यक्ष र छविराज जोशी सञ्चालक छन् । सहकारी ठगीका एकपछि अर्को घटनामा मुछिएका राई फरार छन् । तत्कालिन सञ्चालक एवं हालका गृहमन्त्री रवि लामिछानेको शेयर छविराज जोशीले किनेका हुन् ।

त्यतिबेला टेलिभिजनका क्रिएटिभ डाइरेक्टर विपिन आचार्य अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री छन् । उनले अनलाइनखबरसँगको प्रतिक्रियामा त्यतिबेला बैंकबाट प्रायोजनबापट भुक्तानी लिएको बताए ।

‘म त्यतिबेला कार्यक्रमको क्रिएटिभ डाइरेक्टर थिए । कर्मचारीको रुपमा बाहेक मेरो अरु भूमिका छैन’, उनले भने, ‘म अहिले टेलिभिजनमा आवद्ध छैन । अदालतमा परेको मुद्दाको बारेमा मलाई केही पनि थाहा छैन ।’

Powered los ntawm Ncha RSS Plugin los ntawm CodeRevolution.