३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको रकम अपचलनबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने प्रमुख प्रतिपक्षीको मागबारे सत्ता गठबन्धनमा छलफल गरेका छन् । तर अहिलेसम्म समिति बन्ने नबन्ने अझै प्रष्ट भइसकेको छैन ।

सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ । आफ्ना माग सम्बोधन नभए राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि अवरोध हुनसक्ने उसको चेतावनी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगै एमाले कुनै हालतमा समिति नबनाउने पक्षमा छन् । कांग्रेस र सत्तारुढ दलहरुको अडानका कारण दबावमा परेका प्रधानमन्त्री प्रचण्डले व्यक्ति केन्द्रित नभई समग्र सहकारीको संकटबारे अध्ययन गर्न समिति बनाउने प्रस्ताव गरेका छन् ।

यसमा कांग्रेस नेताहरु सकारात्मक देखेपछि माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले सोमबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति समेत रहेका गृहमन्त्री लामिछानेसँग छलफल गरेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा लामिछानेले आफूमाथि लागेको आरोपबारे एक पटक संसदमा जवाफ दिन पाउनुपर्ने बताएका छन् ।

त्यसपछि के गर्ने भन्ने सन्दर्भमा एमाले र माओवादी केन्द्रले गर्ने निर्णय आफ्नो पनि निर्णय हुने बताए ।

एमाले अध्यक्ष ओलीले भने कांग्रेसको माग अनुसार व्यक्ति केन्द्रित छानबिन समिति बनाउन नसकिने बताएका छन् । प्रधानमन्त्रीको प्रस्ताव अनुसार समिति गठन गर्नुपर्ने अवस्था बनिनसकेको उनले बताए । यसका लागि कांग्रेसको पोजिसन अझै प्रष्ट नरहेको उनको तर्क छ । ‘कांग्रेसको संसदीय दल हेरौं, आवश्यक परे त्यसपछि फेरि बसौंला’ प्रचण्ड र लामिछानेसँग एमाले अध्यक्ष ओलीको प्रस्ताव थियो ।

ओलीको अडान सुनेपछि कांग्रेसको संसदीय दलको बैठकपछि फेरि छलफल गर्ने गरी नेताहरु उठेका छन् ।

संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त भोलि मंगलबार दिउँसो ३ बजे बस्दैछ । उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ ।

त्यो बैठक कसरी प्रस्तुत हुने भनेर तय गर्न कांग्रेस संसदीय दलको बैठक मंगलबार बिहान ९ बजे बस्दैछ ।

संसदीय दलको बैठक अघि नै प्रधानमन्त्री प्रचण्डले छलफलका लागि बोलाएका छन् । ‘प्रधानमन्त्रीजीले भोलि विहान भेटौं भन्नु भएको छ’ कांग्रेसका एक नेताले भने, ‘उहाँको कुरा के रहेछ सुन्छौं, त्यसपछि संसदीय दलको बैठक बसेर संसदमा के गर्ने निर्णय लिन्छौं ।’

संसदको बैठक अगाडि संसदीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको माग छ । अन्यथा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची नै प्रभावित हुनसक्ने कांग्रेस नेताहरुको चेतावनी छ ।

द्वारा संचालित इको आरएसएस प्लगइन द्वारा CodeRevolution.