४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्न लागेको भन्दै यो कार्यमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनले ढुक्क भएर विद्युत उत्पादनमा लाग्न निजी क्षेत्रलाई आग्रहसमेत गरे ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपालको २२ औं वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘छिमेकी राष्ट्र भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता गरेका छौं । त्यसैगरी भारतको प्रसारण लाइन हुँदै बंगलादेशसँग विद्युत् व्यापार गरिनेछ ।’

प्रधानमन्त्री प्रचण्डले थपे, ‘मेरो कार्यकालमा यति महत्त्वपूर्ण सम्झौता गर्ने अवसर मिलेको छ । यो नेपालको जलविद्युत् क्षेत्रको इतिहासमा मात्र नभएर समृद्धिको यात्रा संकल्प र अभियानका दृष्टिले समेत ऐतिहासिक सफलता हो ।’

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको बेला १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भएको थियो ।

बिजुली निर्यातको दीर्घकालीन सम्झौता ऊर्जा विकासका लागि कोशेढुंगा सावित हुनेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री प्रचण्डले बताए । छिमेकी मुलुक भारत मात्र होइन, अर्को छिमेकी मुलुक बंगलादेशले समेत नेपालको बिजुली लैजानेगरी छिट्टै सम्झौता हुने समेत उनले बताए ।

विद्युत् निर्यात मात्र होइन स्वदेशभित्रै विद्युत् खपतका लागि समेत धेरै योजना र कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको आयात घटाउँदै जाने र विद्युतीय उपकरण र सवारीसाधनलाई प्रोत्साहन गरी विद्युत् खपत बढाउँदै जाने सरकारको योजना रहेको सुनाए । उनले भने, ‘देशको विकास र समृद्धिका निम्ति सबैभन्दा महत्वपूर्ण र सम्भावनायुक्त क्षेत्र विद्युत नै हो भन्ने वैचारिक स्पष्टताका साथ सरकारले काम गरिरहेको छ ।’

प्रधानमन्त्री प्रचण्डले कुनै बेला दैनिक १६ घण्टाको चरम लोडसेडिङको अवस्थामा रहेको मुलुकमा अहिले वर्षायाममा विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको स्मरण गर्दै यो अवस्था सिर्जना गर्नमा निजी क्षेत्रको भूमिका प्रशंसनीय रहेको पनि बताए ।

अहिले निजी क्षेत्रले ३ हजार मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेको र करिब २० हजार मेगावाट बराबरका आयोजना निर्माणको विभिन्न चरणमा रहेको बताउँदै प्रधानमन्त्रीले भने, ‘यसले समेत निजी क्षेत्रको ऊर्जा विकासको भूमिका र महत्त्वलाई दर्शाएको छ ।’

द्वारा संचालित इको आरएसएस प्लगइन द्वारा CodeRevolution.